कोरोना नियन्त्रणका लागि धौलागिरी अस्पताललाई तीन करोड, १० स्थानीय तहले स्थापना गरे ५५ लाखको कोष

डम्मर बुढा मगर   POSTED ON : जेठ ४, २०७८ (१०:२२ AM)

कोरोना नियन्त्रणका लागि धौलागिरी अस्पताललाई तीन करोड, १० स्थानीय तहले स्थापना गरे ५५ लाखको कोष

बागलुङ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि बागलुङको धोलागिरी अस्पतालललाई संघीय सरकारले तीन करोड विनियोजन गरेको छ । अस्पतालमा आइसियु, भेन्टिलेटर, अक्सिजन प्लान्ट, अक्सिजन ट्याङ्क लगायतका स्वास्थ्य उपकरण जडान तथा व्यवस्थापनका लागि तीन करोड बिनियोजन गरेको                                                            अर्थ मन्त्रालयले जनाएको छ । 

कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरुको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले छुट्टाएको ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँको स्रोत सुनिश्चिततासंगै धौलागिरी अस्पतालमा तीन करोड बजेट विनियोजन भएपछि धौलागिरीबासी उत्साहित भएका छन् । 

मन्त्रालयका अनुसार देशका २६ वटा केन्द्रीय अस्पताल र ९ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांकका लागि २ अर्ब ९५ करोड २० लाख रुपैयाँको सहमति दिइएको अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका शाखा अधिकृत किरण पौडेलले जानकारी दिनुभयो । अर्थ मन्त्रालयले द्रुत कार्ययोजना सम्पन्न गर्नका लागि बजेट विनियोजन गरेकाले कार्यान्वयनमा ढिलाई नहुने पौडेलको भनाई छ ।

यस्तै केन्द्रीय र प्रदेशिक गरी २५ वटा अस्पताललाई एचडीयू स्थापनाका लागि १ अर्ब ३६ करोड ६५ लाख ६० हजार रुपैयाँको सहमति दिएको छ । कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि आवश्यक सबै उपाय अबलम्बन गर्ने नीति अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको माग अनुरुप अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेको जानकारी गराएको छ । 

धौलागिरी अस्पतालमा कोरोनाका बिरामीको तिव्र चाप बढ्दै गइरहेको बेला तीन करोड बजेट विनियोजन भएको र तत्काल काम अघि बढाउन सके ठूलो राहत हुने धौलागिरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले बताउनुभयो । 

“सरकारले बजेट विनियोजन गरि कोरोना महामारी संग जुध्न सहजता प्रदान गर्नेछ” राना मगरले भन्नुभयो “बजेटको कार्यान्वयन र खरिद प्रक्रिया छोटो बनाएर ततकालै सेवा थप गर्ने गरि काम गर्न आवश्यक छ, त्यसका लागि खरिद प्रकृयामा स्वास्थ्य मन्न्त्रालयको ध्यान पुगोस् ।” धौलागिरी अस्पतालमा अहिले ४० संक्रमितको उपचार भइरहेको छ । जिल्लामा अहिले ८ सय सक्रिय संक्रमित छन् । 

अस्पतालमा तीन आइसीयू, दुई भेन्टिलेटर सहित ३५ वेडको आइसोलेसन छ । तर, ४० संक्रमितलाई उपचार गर्दा समस्या भएपछि क्षमता विस्तार र पूर्वाधार थप गर्न गण्डकी प्रदेश सरकारको सामाजिक मन्त्रालयले समेत ६० लाख रकम विनियोजन गरेको छ । संघीय सरकारले पठाएको बजेटले अस्पतालमा आइसीयु, भेन्टिलेटर तथा शैया थप हुनेछ  भने अक्सिजन जम्मा गर्न सकिने ट्याङ्क समेत निर्माण हुने छ । बजेट विनियोजन अनुसार खरिद प्रकृया थाल्ने तयारीमा अस्पताल छ । 

५५ लाखको कोरोना कोष स्थापना गर्ने

कोरोना संकटसंग लड्नका लागि बागलुङका १० स्थानीय तह एकजुट भएका छन् । स्थानीय तहले कोरोना महामारी टार्न संयुक्त रुपमा ५५ लाखको कोरोना कोष स्थापना गरेका छन् । जिल्लाका पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षको बैठकबाट जिल्लाका सबै पालिकाले संयुक्त रुपमा कोरोना संकट संग जुध्न कोरोना कोष स्थापना गरेका छन् । 

५५ लाखको कोरोना कोषमा जिल्लाको अविभावक स्थानीय तह बागलुङ नगरपालिकाले रु. १० लाख र   र अन्य पालिकाले रु. पाँच लाखका दरले जम्मा गर्ने निर्णय भएको हो । जिल्लाका दश स्थानीयले संयुक्त रुपमा स्वास्थ्य सामाग्री व्यवस्थापन, जनशक्ति व्यवस्थापन र शव व्यवस्थापन लगायतका कोरोना संग सम्बन्धीत काममा खर्च गर्नका लागि संयुक्त रुपामा कोष स्थापना गरिएको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।

“स्थानीय तहले आ–आफ्नै ढंगले तयारी थाल्नुभएको छ, त्यो प्रयाप्त छैन, किनभने कोरोना दर निकै बढ्दो रहेको छ” पौडेलले भन्नुभयो “कतिपय कुरा स्थानीय तह एक्लैले नसक्ने अवस्था छ, एम्बुलेन्स, शव वाहन लगायतका सवारी सञ्चालनमा समेत साझेदारिताका लागि कोष स्थापना गरिएको हो ।”

जिल्लाको गलकोट नगरपालिका, जैमिनी नगरपालिका, ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका, बडिगाड गाउँपालिका, ताराखोला गाउँपालिका, बरेङ गाउँपालिका तथा काठेखोला  गाउँपालिकाले बागलुङ नगरपालिकाको समन्वयमा स्थापना गर्न थालिएको कोषमा पाँच लाखका दरले जम्मा गर्ने छन् ।

कोराना कोषमा जम्मा भएको रकम कोरोना ंसंक्रमितको उपचार गराउदै आएको धौलागिरी अस्पतालसंग समन्वय गरी खर्च गरिनेछ । यस्तै बैठकले स्वास्थ्यकर्मीको दरबन्दी परीपूर्तीको लागि  संघ तथा प्रदेश सरकार संग आग्रह गरिएको छ । कोरोनाको पहिलो लहरमा समेत बागलुङका दश स्थानीय तहले संयुक्त रुपमा कोरोना संग जुध्न कोष स्थापना गरी काम गरेका थिए उक्त काम  प्रभावाकारी भएको थियो त्यसैले कोरोना कहरको दोस्रो लहरका लागि कोष स्थापना गरिएको काठेखोला गाउँपालिकाका अध्यक्ष अम्मर बहादुर थापाले जानकारी दिनुभयो । अहिले १० पालिकाका ४० कोरोना संक्रमित धौलागिरी अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । 


Top