स्याङ्जा सहयोग समाजद्वारा अक्सिजन सिलिण्डर खरिदको निम्ति रकम हस्तान्तरण

हिमालय टाइम्स   POSTED ON : जेठ ४, २०७८ (५:३१ PM)

स्याङ्जा सहयोग समाजद्वारा अक्सिजन सिलिण्डर खरिदको निम्ति रकम हस्तान्तरण

  स्याङ्जा । विश्वभर छरिएर रहेका स्याङ्जाबासीहरुको छाता सङ्गठन स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले कोभिडको समयमा देशैभर अभाव भरहेको अक्सिजनलाई राहत स्वरूप स्याङ्जामा हस्तान्तरण गरेको छ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जासँग समन्वय गरी १०० सिलिण्डर अक्सिजन हस्तान्तरण गरिएको संस्थाका सदस्य धर्म पराजुली बताउनु हुन्छ ।  स्याङ्जाको केन्द्रको रुपमा रहेको वालिङमा मेयर दिलिप प्रताप खाँडलाई उक्त अक्सिजन खरिदको निम्ति रकम हस्तान्तरण गरिएको छ ।

संस्थाले हाल ‘विपदमा सँगसँगै’ भन्ने नाराका साथ २० लाखको कोरोना आपतकालीन राहत कोषको सन्चालन गरेको छ। हस्तान्तरण कार्यक्रममा सचिव तथा प्रवक्ता मुक्ति सुवेदी, सह–कोषाध्यक्ष डोलराज डुम्रे, कार्यसमिति सदस्य धर्मराज पराजुलीको उपस्थिति रहेको थियो।

स्याङ्जाका ११ वटै स्थानीय निकायमा आवश्यकता अनुसार वालिङबाट आफ्नो स्थानमा लिएर जान सकिने बताइएको छ, यसको निम्ति मेयर दिलिप प्रताप खाँडलाई सम्पर्क गर्न आग्रह गरिएको छ।

स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका विदेशस्थित २० वटा देशमा सक्रिय कमिटि रहेका छन्। संस्थाका सम्पुर्ण पदाधिकारी तथा विदेशमा रहेका एनसिसिहरुको आपसी समझदारी र सहकार्यबाट मात्र यो काम गर्न सम्भव भएको संस्थाका अध्यक्ष जीवन न्यौपाने बताउनु भयो ।

जिल्लामा कुनै घटना भएको थाहा पाउने बित्तिकै स्याङ्जा सहयोग समाजका मित्रहरुले के गर्न सकिन्छ भनेर सल्लाह लिने देखि सहकार्य गर्न खोज्नुले नै आफुहरु खुशी भएको वालिङका नगरप्रमुख दिलिप प्रताप खाँडको भनाइ छ ।

भर्चुअल माध्यमबाट जिल्लाभरिका बुद्धिजीवी, स्थानीय निकायका मेयरहरु, गाउपालिका प्रमुखहरु संरक्षक, सल्लाहकार तथा कार्यसमिति सदस्यहरुको सल्लाह बमोजिम अक्सिजनको निम्ति सहयोग गरिएको छ। आगामी दिनमा घुम्ती एम्बुलेन्स सञ्चालन तथा अत्यावश्यक सेवाको निम्ति तयारी गरिएको अध्यक्षले बताउनु भयो । 



Top