ज्यानै जोखिममा परेपछि बल्ल अस्पताल !, समयमै अस्पताल आउन चिकित्सकको सुझाव

धु्रवसागर शर्मा   POSTED ON : जेठ ५, २०७८ (८:५५ AM)

ज्यानै जोखिममा परेपछि बल्ल अस्पताल !, समयमै अस्पताल आउन चिकित्सकको सुझाव

म्याग्दी । होम आइसोलेसनमा रहेका म्याग्दीका कोरोना संक्रमितले समयमै जाँच तथा उपचार नगरी ज्यानै जोखिममा पर्न थालेपछि बल्ल धमाधम अस्पतालमा भर्ना हुन थालेका छन् । कोरोनाको लक्षण र श्वासप्रश्वासमा समस्या आए पनि सामान्य सम्झिएर घरमै बस्ने गरेका संक्रमितहरू ढिलो गरी अस्पतालमा पुग्दा समयमा नै उपचार नपाएकाले ज्यानैसमेत गुमाएका छन् ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या बढ्दै गएपछि बेनी अस्पतालमा भर्ना हुने कोरोना संक्रमतिको संख्या पनि बढेको छ । हालसम्म अस्पतालमा २५ जना कोरोना संक्रमति भर्ना भएकोमा हाइफ्लो अक्सिजन आवश्यक पर्ने पाँच जना र अन्य शरीरमा अक्सिजनको कमी भएका र निमोनियाका बिरामी रहेको बेनी अस्पतालले जनाएको छ ।

म्याग्दीमा कोरोना संक्रमणकै कारण ज्यान गुमाउने अधिकांश बिरामीको शरीरमा अक्सिजनको मात्रा निकै कम र निमोनियाका कारण देखिएको बेनी अस्पतालका मेडिकल कोअर्डिनेटर डा.नवराज बस्ताकोटीले बताउनुभयो । डा.बस्ताकोटीका अनुसार अधिकांश संक्रमितहरूमा निमोनिया देखिएको छ । सास फेर्न समस्या भएका बिरामी अस्पतालमा भर्ना हुन थालेको डा.बस्ताकोटीको भनाइ छ । ‘निको हुन्छ भन्दै घरमा बसेका संक्रमित सुधार नभएपछि अस्पतालमा आउने गर्नुभएको छ’ डा. बस्ताकोटीले भन्नुभयो । उहाँले कोरोना संक्रमतिले घरमै जोखिम मोल्न नहुने बताउनुभयो ।

लक्षणविहीन, हल्का रुघाखोकी र सामान्य लक्षण भएका व्यक्ति होम आइसोलेसनमा बस्दा फरक नपर्ने तर शरीरमा असहज महसुस हुँदाहुँदै पनि घरमा बस्न नहुने डा. बस्ताकोटीको भनाइ छ । अक्सिजन दिएर स्वास्थ्य अवस्था सुधार हुन्छ भनेर घरमै बस्दा निमोनियाको समस्या बढेपछि अस्पतालमा आउने गरेका छन् । ‘उपचारका लागि हामी तयारी अवस्थामै छाँै,‘खोकी र ज्वरो बढिरहेको छ भने तुरुन्त अस्पताल आउनुहोला’ डा. बस्ताकोटीले भन्नुभयो । सास फेर्न समस्या र निमोनिया भएर पनि घरमै निको हुन्छ भनेर अन्तिममा अस्पतालमा आउने बिरामीलाई निको भएर घर फर्काउने सम्भावना कम हुने चिकित्सकहरूको भनाइ छ ।

कोरोनाको दोस्रो लहरपछि बेनी अस्पतालमै कोरोनाको स्वाब दिएका नौ जना र जिल्ला बाहिर गरी कुल २० जनाले ज्यान गुमाएको तथ्यांकमा देखिएको छ । 

अक्सिजन कमी भएको समयमै थाहा नपाउँदा

बेनी नगरपालिकाका एक कोरोना संक्रमित पुरुषलाई एक्कासि सास फेर्न गाह्रो भयो । घरमै सिकिस्त भएपछि बेनी अस्पतालमा उपचारका लागि आएका पुरुषको मृत्यु भयो । श्वासप्रश्वासको समस्याले उपचारका लागि अस्पताल भर्ना भएका बेनपा–८ का एक निर्माण व्यवसायीको पनि अस्पतालमै ज्यान गयो ।

दुवैको अक्सिजनको स्तर क्रमशः ४० देखि ५० प्रतिशतभन्दा तल झरेको थियो । पछिल्लो एकसातायता म्याग्दीमा कोरोनाको लक्षण देखिएर ज्यान गुमाएकामध्ये धेरैमा श्वासप्रश्वासको समस्या देखिएको छ । 

कोरोनाको जोखिमसँगै आवश्यक जानकारीको अभावमा समयमै स्वास्थ्य संस्थामा नपुग्दा उपचार सम्भव भएका बिरामीले समेत ज्यान गुमाउनु परेको छ । कोरानोको दोस्रो लहरसँगै बेनी अस्पतालमा पुगेका कोरोना संक्रमित र दीर्घरोगीमा श्वासप्रश्वासको समस्या भएकामध्ये अधिकांश चिन्ताजनक अवस्थामा भर्ना हुन आएको अस्पतालका प्रमुख डा. जितेन्द्र कँडेलले बताउनुभयो । ‘सास फेर्न कठिन भएपछि अन्तिममा बिरामी अस्पतालमा आउनुहुन्छ, आफ्नो शरीरको अक्सिजनको अवस्थाका बारेमा घरमै चेकजाँच गर्न सकिने भए पनि धेरैलाई जानकारी छैन’ प्रमुख डा. कँडेलले भन्नुभयो ।

अस्पतालमा समयमै उपचारका लागि आउने बिरामीलाई कुनै समस्या नभएको बताउँदै अक्सिजनको मात्रा ६५ प्रतिशतसम्म भएका बिरामीलाई समेत उपचारपछि डिस्चार्ज गरिएको डा. कँडेल बताउनुहुन्छ । शरीरमा अक्सिजनको मात्रा ९० देखि १०० प्रतिशतसम्म राम्रो मानिने डा. कँडेलको भनाइ छ । 

कोरोनाकै कारण बेनी अस्पताल र यहाँबाट रिफर गरी पोखरा पठाइएका बिरामीहरूमा अक्सिजनको स्तर ३० देखि ५० प्रतिशतमा झरेको अवस्थाका बिरामी भएकाले यो समयमा घरमै अक्सिमिटर’ उपकरणमार्फत नियमित अक्सिजन स्तर जाँच्नुपर्ने डा. कँडेल सुझाव दिनुहुन्छ ।

कस्ता समस्या देखिएपछि अस्पताल आइहाल्नुपर्छ ?

होम आइसोलेसनमा बसिरहेका बिरामीहरूको नियमित अक्सिमिटर’ ले चेकजाँच गर्नुपर्ने डा. कँडेलको सुझाव छ । घाँटी चिलाउने, खस खसाउने, खोकी लाग्ने, एक्कासि श्वासप्रश्वासको समस्या देखिएपछि तत्कालै स्वास्थ्यकर्मीको सम्पर्कमा आउनुपर्छ । लगातार खोकी लाग्ने, चाँडो–चाँडो श्वास फेर्ने, श्वास फेर्दा छाती र करङको भाग धस्सिने, श्वास फेर्न गाह्रो हुने समस्या समाधान नभएपछि मात्रै अस्पतालमा जाने बिरामीकै कारण समस्या हुने गरेको चिकित्सकको भनाइ छ ।

म्याग्दीमा कोरोनाको दोस्रो लहरपछि बेनी अस्पताल र पोखरामा ज्यान गुमाएका संक्रमितमध्ये अधिकांशमा शरीरमा अक्सिजनको अभाव भएकै कारण मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

अस्पतालमा अक्सिजन र बेडको अभाव 

सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालमा कोरोना संक्रमित बिरामीको चाप बढ्न थालेको छ । श्वासप्रश्वासमा समस्या भएर अस्पताल आउनेको संख्या ह्वात्तै बढेको छ । नियमित १८ देखि २० जनासम्म संक्रमितको उपचार गरिरहेको अस्पतालमा दुई दिनयता ३५ जनासम्म बिरामी उपचारका लागि पुग्न थालेका छन् । 

सोमबार ग्रामीण भेगबाट धेरैको संख्यामा बिरामीहरू अस्पतालमा आएका कारण अक्सिजन र बेडको अभाव हुन थालेको छ । अक्सिजनसहितको बेड अभाव भएपछि एम्बुलेन्समै राखेर उपचार गरिएको थियो ।

अक्सिजनको अभाव हुन नदिन अस्पतालले पूर्व–तयारी गरे पनि बिरामीको चाप एक्कासि बढेका कारण व्यवस्थापन गर्न समस्या भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो । आइतबार सञ्चालन गरिएको २० बेड क्षमताको आइसोलेसन कक्षमा अक्सिजनको व्यवस्थापन गर्न केही समय लाग्ने भएकाले समस्या भएको उहाँको भनाइ छ । 


Top