गण्डकी प्रदेश सभा सदस्यमल्ललाई पितृशोक

युवराज पौडेल   POSTED ON : जेठ ५, २०७८ (९:१६ AM)

गण्डकी प्रदेश सभा सदस्यमल्ललाई पितृशोक

स्याङ्जा । स्याङ्जा क्षेत्र नं २ बाट प्रदेश सभामा निर्वाचित गण्डकी प्रदेश सभा सदस्य तथा नेपाल तरुण दल स्याङ्जाका अध्यक्ष भागवतप्रकाश मल्ललाई पितृशोक परेको छ । उहाँका बुबा गजेन्द्र प्रकाश मल्लको ७६ वर्षको उमेरमा आज साँझ गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा निधन भएको छ ।

गजेन्द्र मल्ल नेपाली काङ्ग्रेसमा लामो समय राजनीति गर्ने व्यक्ति हुनु हुन्थ्यो । उहाँ साविक सेखाम गाविसबाट राजनीति सुरु गरेर जिविस सदस्य समेत हुनुभएको थियो । उहाँ प्रतिबन्धित कालमा नेपाली काङ्ग्रेसको जिल्ला कोषाध्यक्ष हुनु भएको थियो । लामो समयसम्म काङ्ग्रेस स्याङ्जाको कोषाध्यक्षको जिम्मेवारी निर्वाह गर्नुभएका मल्ल नेपाली काङ्ग्रेसको महासमिति सदस्यसमेत हुनुभएको थियो । उहाँ राजनीतिर समाजसेवामा समर्पित हुनुहुन्थ्यो । 

उहाँ साविक स्याङ्जा क्षेत्र नं ३ को समानुपातिक उम्मेदवार पनि हुनु भएको थियो । उहाँ नेपाल निर्माण व्यवसायी सङ्घ स्याङ्जाको संस्थापक अध्यक्ष हुनुका साथै निर्माण व्यवसायी सङ्घको केन्द्रीय सदस्य हुनु हुन्थ्यो । 

उहाँले गाउँका विभिन्न विद्यालयहरुमा व्यवस्थापन समितिमा अध्यक्ष रहेर काम गर्नुका साथै विभिन्न वित्तीय संस्थाहरुमा रहेर महत्वपूर्ण भूमिका खेल्नुभएको नेपाली काङ्ग्रेस स्याङ्जाका कार्यवाहक सभापति कुमार रानाले बताउनु भयो । उहाँले भन्नुभयो’ ‘प्रतिबन्धित कालमा समेत साहसका साथ राजनीति गर्ने गजेन्द्र मल्ल नेपाली काङ्ग्रेसको एउटा योद्धा हुनुहुन्थ्यो । उहाँको निधनले नेपाली काङ्ग्रेस स्याङ्जालाई मात्र नभएर सिङ्गो लोकतान्त्रिक आन्दोलनलाई ठूलो क्षति भएको छ ।’ 

स्वास्थ्यमा समस्या आए पछि केहीदिन अगाडि गण्डकी मेडिकल कलेजमा उपचार गराइरहनु भएका मल्ललाई आइसियुमा राखिएको थियो । मल्लको भोलि सरकारले तोकेको मापदण्डभित्रै रहेर राम्दीमा परम्परागत विधि अनुसार नै अन्त्येष्टि गरिने नेबिसङ्घ स्याङ्जाका अध्यक्ष अजित क्षेत्रीले जनाउनु भएको छ । 


Top