धौलागिरी अस्पतालमा अब नयाँ अक्सिजन प्लान्ट

डम्मर बुढा मगर   POSTED ON : जेठ ५, २०७८ (९:२० AM)

धौलागिरी अस्पतालमा अब नयाँ अक्सिजन प्लान्ट

बागलुङ । बागलुङमा अहिले कोरोना संक्रमणको दर तीव्र गतिमा बढि रहेको छ । संक्रमणसँगै मृत्युदर पनि बढिरहेको छ । संक्रमितको उपचारका लागि जिल्लाको सबैभन्दा ठूलो धौलागिरी अस्पतालमा अहिले धमाधम उपकरण जडानसहित गुणस्तरिय सेवाका लागि काम भइरहेको छ । 

३५ बेडको आइशोलेसन रहेको अस्पतालमा अब तत्कालै १०० शैया बनाइदैछ । जसका लागि आवश्यक अक्सिजन समेत २० दिन भित्रै प्रबन्ध मिलाइने धौलागिरी अस्पतालले जनाएको छ । अस्पतालमा दुई वर्ष अघि गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले ९० लाखको लागतमा अक्सिजन प्लान्ट सञ्चालनमा आए पनि कोरोनाका बिरामी बढेपछि सबैलाई अक्सिजन आवश्यक हुँदा अहिले थप दैनिक ८० अक्सिजन सिलिण्डर खपत भइरहेको छ । 

यो अवस्थामा संघीय सरकारले हालै विनियोजन गरेको तीन करोड बजेटबाट २ सय शैयालाई पुग्ने गरी अक्सिजन प्लान्ट थप गर्ने तयारी भएको धौलागिरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले जानकारी दिनुभयो ।  

‘अस्पतालमा कोरोनाका बिरामीको चाप बढ्दो छ, अहिले उनीहरुलाई अक्सिजन पु¥याउनै कठिन छ, तीन करोड धौलागिरी अस्पताललाई बजेट आएको छ, बेड विस्तारका लागि सबै तयारी प्रदेशले गरे पनि अक्सिजनको अभाव हुने भएकाले पहिला अक्सिजन प्लान्ट जडान पहिलो प्राथमिकता रह्यो’ अध्यक्ष रानाले भन्नुभयो ‘चिनिया सप्लायर्सले २० दिन भित्रै अक्सिजन प्लाट स्थापना गर्ने भनेको छ, हामीलाई नागरिकको जीवन रक्षाका लागि छिटो प्लान्ट जडान गर्नुपर्ने छ, हामीले उसैलाई जडान गर्न दिने तयारी गरेका छौं, केही दिनमै थप नयाँ अक्सिजन प्लान्ट जडान हुने छ ।’

अस्पतालमा रहेको अहिलेको अक्सिजन प्लान्टले करिब २० बिरामीलाई पुगे पनि थप बिरामीलाई सिलिण्डरको प्रयोग हँदैदै आएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर शैलेन्द्र विक पोखरेलले बताउनुभयो । अस्पतालमा अहिले १ सय २८ अक्सिजन सिलिण्डर व्यवस्थापन गरेको डाक्टर पोखरेलको भनाई छ । 

अस्पतालमा कोरोनाका बिरामीको चाप बढेको अवस्थामा तीन करोड बजेट विनियोजन हुँदा अस्पताल व्यवस्थापनमा ठूलो राहत पुग्नेछ । अहिले जिल्लामा ८ सय बढी सक्रिय संक्रमित रहेका छन् । अस्पतालमा तीन आइसियु, दुई भेन्टिलेटर सहित ३५ बेडको आइसोलेशन छ तर, ४० संक्रमितलाई उपचार गर्दा समस्या भएपछि क्षमता विस्तार र पूर्वाधार थप गर्न गण्डकी प्रदेश सरकारको सामाजिक मन्त्रालयले समेत ६० लाख रकम विनियोजन गरेको छ । 

अहिले भएको अक्सिजन प्लान्ट समेत मर्मत गरी अक्सिजन उत्पादनको क्षमता बढाइने र त्यसका लागि गण्डकी प्रदेश सरकारले १० लाख विनियोजन गरेको छ । नयाँ अक्सिजन प्लान्ट जडान भएपछि बागलुङ लगायत धौलागिरीका चार जिल्लाका नागरिकलाई उपचारमा सहज हुने छ ।


Top