बागलुङमा सिटामोल लगायतका औषधी अभाव भएपछि बिरामी मर्कामा

डम्मर बुढा मगर   POSTED ON : जेठ ५, २०७८ (११:४९ AM)

बागलुङमा सिटामोल लगायतका औषधी अभाव भएपछि बिरामी मर्कामा

बागलुङ । कोरोना संक्रमणका कारण जिल्लामा देशका अधिकांश जिल्लामा निषेधाज्ञा छ । निषेधाज्ञाको कारण सर्वसाधारण समस्या छ नै । अस्पतालहरुमा पनि सामान्य औषधीहरुकोसमेत अभाव हुन थालेको छ  । बागलुङमा सिटामोललगायतका औषधीको अभाव भएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । 

निषेधाज्ञा का कारण संक्रमितहरुका लागि प्रयोग गरिँदै आइएको सिटामोललगायतका औषधी अभाव भएको उनीहरुको भनाई छ । पारासिटामोल, डेक्सामथेजोन, हाइडोकोटिजन, हेपारिन लगायतका औषधीको एक सातादेखि अभाव भइरहेको बागलुङ बजारका औषधी व्यवसायी शिशिर पन्तले बताउनु भयो । 

‘कोरोना संक्रमित भएकाहरुका लागि चिकित्सकले सिफारिस गरेका पारासिटामोललगायतका औषधी पुरै सकिएको एक साता बढी भइसक्यो, माथिबाट पठाउन आग्रह गरे पनि सर्वत्र अभाव भएको कुरा आएको छ,’ धौलागिरीमा होलसेल औषधी बिक्रेता समेत रहेका पन्तले भने, ‘ट्रान्सपोटसमेत बन्द हुँदा औषधी आयातमा थप समस्या भइरहेको छ ।’

जिल्लामा कोरोना भाइरसले विकराल रुप लिइरहेका बेला अत्यावश्यक औषधीको अभाव देखिएको नर्स नितु खड्काले बताइन् । सरकारी तथा निजी अस्पतालमा अक्सिजनको अभाव भइरहेका बेला औषधीको समेत अभाव देखिएपछि बिरामीहरुको उपचारमा थप समस्या हुने जोखिम देखिएको उनको भनाइ छ ।  

पारासिटामोल कोरोना संक्रमितलाई ज्वरो आएको अवस्थामा प्रयोग गरिन्छ भने डेक्जामेथाजोन श्वास प्रश्वासमा गाह्रो तथा एलर्जी भएको अवस्थामा दिइन्छ । हाइडोकोटिजन दुखाई कम गर्ने, सुन्निएको चिलाउने समस्या भएमा, हेपारिन (मुटु, किड्नीका समस्या) भएकालाई प्रयोग गरिने खड्काले बताइन् ।  

पारासिटामोललगायतका औषधिको माग उच्चभएको र औषधी अभाव हुन नदिन आवश्यक पहल र समन्वय भइरहेको बागलुङ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए । ‘अहिले नै शुन्यभएको अवस्था होइन, तर पारासिटामोल लगायतका औषधीको माग अधिक छ,’ खनालले भने, ‘अधिकांश सक्रमितले यसको प्रयोग गर्ने र संक्रमित नभएका परिवारले पनि घरमा सञ्चित गर्ने अवस्थाले केही अभावको संकेत देखिएको छ, हामीले सम्बन्धित स्वास्थ्यचौकी र बिक्रेतासँग समन्वय गरेर छिट्टै ल्याउँछौं ।’ 

यस अघि पारासिटामोलको स्थानमा निम्स, फेलेक्सन, ब्रोफिनलगायत प्रयोग गरिए पनि अहिले संक्रमितहरुलाई यी औषधी प्रयोग नगर्न चिकित्सकले सुझाव दिएका छन् । बागलुङ बजार लगायत अन्य स्थानमा पनि बिरामी कालागि आवश्यक अन्य औषधीहरु अभाव हुन थालेको बताइएको छ ।


Top