तामैतामाको गाउँ

डम्मर बुढा मगर   POSTED ON : जेठ ५, २०७८ (५:५८ PM)

तामैतामाको गाउँ

 बागलुङ । उच्च पहाडी क्षेत्र । संभवत बागलुङको सबैभन्दा उच्च स्थानमा रहेको गाउँ हो नर्जाखानी । तमानखोला गाउँपालिका वडा नम्बर ६ मा पर्ने यो गाउँ तामाखानीले घिरिएको स्थानीय बताउँछन् ।

गाउँ वरपर थुप्रै खाडलहरु पनि देखिन्छ । ति खाडल पुर्खाहरुले तामा निकाल्दा बनेको स्थानीय बताउँछन् । यस्ता खाडलहरु नर्जाखानी क्षेत्रमा अनगिन्ती रहेको स्थानीय ओमप्रसाद छन्त्याल बताउनुभहुन्छ ।

उहाँले गाउँभरी जगलभरी तामाखानी रहेको भन्दै यसको गणना नै गरेर नसकिने बताउनुहुन्छ । घर छेउँ र बारीमा समेत तामा भेटिने उहाँको भनाई छ ।

‘यहाँ त पहिरो जाँदा पनि तामा भेटिन्छन्, जताततै तामाको खानीनै खानी छन्, जहाँ पनि पुर्खाहरुले उत्खान्न गरेका ठाउँहरु भेटिन्छन्,’ छन्त्यालले भन्नुभयो ‘यहाँ भएका भिर पहरा जहाँसुकै खानी छन्, यसको गणना अहिलेसम्म हामीले गर्न सकेका छैनौँ ।’

दशकौँ वर्ष अगाडी त्यस क्षेत्रका स्थानीय तामाखानीबाटै आत्मनिर्भर भएको छन्त्याल बताउनुहुन्छ । उहाँले आफ्ना बाबाले भने अनुसार छन्त्याल जातिले तामा उत्खन्न गरेर निकाल्ने, दलित जातिले त्यसको धाउ निर्माण गर्ने र थकाली जातिले खाना व्यवस्थापन गर्ने गरेको बताउनुभयो ।

‘हाम्रो बुबाले भन्नु हुन्थ्यो, हाम्रो छन्त्याल जातिहरु भिर–पहरामा गएर खानी उत्खन्न गर्नु हुन्थ्यो रे, उहाँहरुले एउटा निगालेमा आगो बालेर सुरुङ भित्र पसेर घण्टौपछि तामा निमाल्नु हुन्थ्यो रे,’ छन्त्यालले भन्नुभयो ‘बुढापाकाको कुरा सुन्दा यहाँ बसै जातिहरुले मिलेर आ–आफ्नो सिप र क्षमता अनुसार काम गरेको पाइन्छ ।’ 

खुङ्खानी नर्जाखानी क्षेत्रमा धेरै खानी भएको हुँदा खुबै खानी भन्ने गरे को अलिहले खुबै खानीबाट खुङ्खानी भन्न थालिएको छन्त्याल बताउनु हुन्छ । ‘पुर्खाहरुले खुङ्खानीलाई खुबै खानी भन्ने गर्थे रे अहिले आएर खुङ्खानी भन्न लागि भएको बुढापाकाहरुको भनाई छ,’ उहाँले भन्नुभयो ‘उहाँहरुको कुरा सुन्दा हामीलाई पनि खुबै खानीबाट खुङ्खानी भएको भन्ने हो झैँ लाग्छ ।’

उहाँले तामा निकालेको ठाउँ बाहेक नर्जाखानी क्षेत्रमा तत्कालीन समयका नागरिकहरुले बसोबास गरेको ठाउँहरुको भग्नावशेष लगायतका वस्तुहरु भेटिने गरेको बताउनुभयो । विष्ण आधारभूत विद्यालयमा प्रधानाध्यापक समेत रहेका छन्त्यालले यस सम्बन्धी आफुले बुढापाकासँग धेरै बुझ्ने कोशिस गरेको बताउनुभयो ।

तत्कालीन सरकारले अत्याधिक कर बढाएपछि स्थानीयहरुले तिर्न नसकेपछि तामा निकाल्न छोडेको छन्त्याल बताउनुहुन्छ । राणा शासनका तत्तकालीन प्रधानमन्त्री चन्द्र समशेरको पालादेखि यस क्षेत्रमा तामाखानी बन्द भएको स्थानीयहरुको भनाई छ ।

‘बुढापाकाले भने अनुसार तत्तकालीन सरकारले स्थानीयले निकालेको तामाभन्दा बढी मूल्यको कर बुझउन भनेपछि पुर्खाहरुले तामा निकाल्न छोडेका रहेछन्,’ छन्त्यालले भन्नुभयो ‘उतिबेला अहिलेको जस्तो प्रबिधि थिएन, धेरै समय लगाएर कम तामा निकाल्ने गर्थेरे कर धेरै तिर्न सरकारले ह्वीप जारी गरेपछि छोडेको थिए रे, बुढापाकाहरुसँग बुझेको ।’

छन्त्यालले स्थानीय, प्रदेश सरकार र संघीय सरकारले तत्काल खानी उत्खन्न गरेर यस क्षेत्रका जनतालाई यहीबाट आत्म निर्भर बनाउनु पर्ने बताउनुभयो । 

‘अहिलेको जनामामा नयाँ–नयाँ प्रबिधि छ, उति बेलाको समयमा त बाउबाजेले एउटा निँगालोकै भरमा त्यति ठूला–ठूला पहरा काटेर तामा निकाल्नु हुन्थ्यो भने अहिले त केही समस्या छैन,’ छन्त्यालले भन्नुभयो ‘सरकारले चाहाना देखाएर काम गर्यो भने यहाँका जनताले यही नै रोजगार पाउन सक्थे, आत्मनिर्भर बन्ने थिए ।’

तमानखोला गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष कुलबहादुर छन्त्यालले गाउँभरी तामाखानी रहेको भन्दै प्रदेश र केन्द्र सरकारले यस तर्फ ध्यान दिनुपर्ने बताउनुभयो । 

उहाँले तामाखानीको बारेमा कार्यपालिकाको बैठकमा समय–समयमा छलफल भइरहेको भन्दै तीनै तहका सरकार तदारुकताका साथ लागेपछि रोजगार सिर्जना हुने र दुर्गम बस्तीका नागरिकहरुले छिटैनै विकासको अनुभूति गर्न सक्ने बताउनुभयो ।

‘गाउँको चारै तिर खानी नै खानी छन्, यहाँ जनताले चाहे अनुसारको विकासको अनुभूति गर्न सकिराखेका छैनन्,’ अध्यक्ष छन्त्यालले भन्नुभयो ‘सबै तिरबाट पल भयो र तामाखानी संचालनमा आउन सके यहाँका जनताले विकासको स्वाद लिन धेरै समय कुर्नु पर्ने नै थिएन ।’

उहाँले चारै तिर खानीहरु भएको हुँदा गाउँको नाम नै नर्जाखानी भनिएको बताउनुहुन्छ । उहाँले उहाँले छन्त्याल जातिलाई अनपढ वैज्ञानिक भन्ने गरिएको भन्दै उनीहरुले माटो सुँघेर तामा खानी पत्ता लगाउने गरेको बताउनुभयो । 

‘हाम्रा अग्रजहरुले छन्त्यालहरुलाई अनपढ वैज्ञानिक भन्ने गर्थे, किन उनीहरुले माटो सुँघेर खानीहरु पत्ता लगाउँथेर उत्खन्न गर्ने गर्थे,’ उहाँले भन्नुभयो ‘अहिलेको जस्तो प्रबिधि उबेला भएको भए साहेद यो ठाउँ अझैसम्म पनि विकास कुरेर बस्दैनथ्यो होला सायद ।’

अध्यक्ष छन्त्यालले आफ्ना पुर्खाहरुले खाली खानीमा मात्रै काम गर्ने गरेको हुँदा खति गर्न समेत नजानेको बताउनुभयो । 

‘बुढापाकाले भने अनुसार हाम्रा पुर्खा बराजुहरुले खेतिपाती गर्न जान्दैनथे रे, उनीहरुलाई खानीमा गर्ने काम बाहेक अरु आउँदैनथ्यो रे, उनीहरुको आहार जंगलका पशुपंक्षी हुन्थेरे’ उहाँले भन्नुभयो ‘सरकारले बढी कर तिर्ने आदेश दिएपछि खानीनै बन्द गरेर खेतिपातीमा लागेको बुढापाका सुनाउँथे ।’ 

गाउँमा पहिरो जाँदा पनि तामा भेटिने गरेको र तामाबाट विभिन्न सामग्रीहरु बनाउने बनाएको अध्यक्ष छन्त्यालले बताउनुभयो । उहाँले प्रत्येक ठाउँमा तामाहरु भेटिने र यसको परिणाम कस्तो छ भन्ने विषयमा परिक्षण गर्नु पर्ने बताउनुभयो ।

‘यहाँ त पहिरोँ जाँदा बारी खनजोत गर्दा पनि स्थानीयहरुले तामा भेटाउने गर्थे, कतिले त भेटाएको तामाबाटा गाग्री, ताउलो लगाएतका भाँडाकुडा बनाए पनि,’ उहाँले भन्नुभयो ‘गाउँमा महत्वपूर्ण चिजहरु हुँदा पनि हामीले त्यसको उत्खन्न र प्रयोग गर्न सकेका छैनौँ, सरकारले यसको बारेमा चासो देखाउने हो भने यहाँबाट पनि समृद्धि आउँछ ।’

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले गाउँपालिका भित्रै धेरै खानीहरु रहेको र यसको परिक्षण गरिने तयारीमा रहेको बताउनुभयो । 

अध्यक्ष बुढा मगरले तमानखोलामा तामाखानी, फलामखानी र झल्कने ढुङ्खाखानी रहको भन्दै यी सबै खानीहरुको बारेमा केन्द्र र प्रदेश सरकारसँग छलफल गर्ने बताउनुभयो ।

‘तमानखोला गाउँपालिकाको अधिकांश ठाउँमा खानीहरु छन्, ति खानीहरुको अध्ययनका विज्ञ टोली ल्याउनको लागि केन्द्र र प्रदेश सरकारसँग समन्वय गछौँ,’ अध्यक्ष बुढा मगरले भन्नुभयो ‘विज्ञ टोलीको अध्ययन अवलोकनपछि नजिता कस्तो हुन्छ त्यही अनुसार काम गर्ने योजनामा छौँ ।’

गाउँपालिका भित्र कति तामाखानी छन् भन्ने एकिन नभएको अध्यक्ष बुढा मगरको भनाई छ । ‘यहाँ कति तामाखानी छ भन्ने हामीलाई एकिन छैन, यसको डाटा संकलन गर्ने योजनामा छौँ, डाटा संकलन गर्ने र सोही अनुसार योजना बनाए काम गर्ने छौँ’ उहाँले भन्नुभयो ‘तामाखानी मात्रै होईन यहाँ झल्किने ढुङ्गा र फलामखानी पनि छ, यी सबैको अध्ययन अनुसान्धान गर्न माथिल्लो निकायसँग समन्वय गछौँ ।’

अध्यक्ष बुढा मगरले तमानको परिक्षणका लागि स्यामपल पठाउने बताउनुभयो । उहाँले परिक्षणपछि कुन क्वालीटीको तामा छ, त्यसको एकिन भयो भने गाउँपालिकाले सोही अनुसार पहल गर्ने बताउनुभयो ।

‘हामीले गाउँमा भेटिएको तामाको स्यामपल परिक्षणका लागि पठाउँछौँ, त्यसको परिणाम कस्तो आउँछ, कुन क्वालीटीको आउँछ, त्यही अनुसार काम अगाडी बढाउँछौँ,’ उहाँले भन्नुभयो ‘खानी उत्खन्नको लागि गाउँपालिकाको बजेटले मात्रै पुग्दैन त्यसले गर्दा केन्द्र र प्रदेश सरकारसँग समन्वय गरेर काम गछौँ ।

अध्यक्ष बुढा मगरले खानी उत्तखन्न थालेपछि तमानखोला गाउँपालिका क्षेत्र लगायत मुलुकभरका नागरिकले रोजगार पाउन सक्ने बताउनुभयो । उहाँले यस क्षेत्रमा धेरै खानी भएको हुँदा खानी उत्खन्न प्रश्चात यस तमानखोलाबासीको दैनिकीसँगै जीवननै परिवर्तन हुने बताउनुभयो ।

‘गाउँपालिकामा यस्ता खानीहरुको कति छन् कति, तिनीहरुको उत्खन्न सुरु हुने हो भने धेरैले रोजगार पाउँछन्, तमानखोलाबासीले खानीबाटै आत्मनिर्भर बन्न सक्छन्’ अध्यक्ष बुढा मगरले भन्नुभयो ‘यसको लागि केन्द्र र प्रदेश सरकारले पनि चासो राख्नु छ, सक्रियताका साथ लाग्ने र राम्रो क्वालिटीको तामा भयो भने सिङ्गो मुलुकलाई नै ठूलो टेवा पुग्छ ।’

तमानखोला गाउँपालिका वडा नम्बर ६ नर्जाखानी, जुन गाउँमा तामैतामले भरिएको छ । तस्बिर ः डम्मर बुढा मगर÷हिमालय टाइम्स


Top