पौडेलको निधनमा कांग्रेस स्याङ्जाले पार्टीको झण्डा आधा झुकाउने

युवराज पौडेल   POSTED ON : जेठ ६, २०७८ (४:०८ PM)

पौडेलको निधनमा कांग्रेस स्याङ्जाले पार्टीको झण्डा आधा झुकाउने

स्याङ्जा । नेपाली कांग्रेस स्याङ्जाका पुराना नेता स्थानेश्वर पौडेलको यही जेठ ४ गते निधन भएकोमा काङ्ग्रेस स्याङ्जाले तीन दिन पार्टी कार्यालय बन्द गर्ने, १३ दिनसम्म पार्टीको झण्डा आधा झुकाउने र स्याङ्जा पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको छ । पार्टी कार्यवाहक सभापति बुद्धिबहादुर राना ‘कुमार’द्वारा जेठ ५ मा हस्ताक्षरित प्रेस विज्ञप्तिमार्फत् सो कुरा जनाइएको छ ।  

स्याङ्जा आँधीखोला गाउँपालिका वडा नं ३ विचारीचौतारामा विं. सं. १९९७ साल असोज २८ गते पिता टीकाराम उपाध्याय र माता हिमवती उपाध्यायका ज्येष्ठ सन्तानका रुपमा जन्मनुभएका पौडेल नेपाली काङ्ग्रेसको एक धरोहर हुनुहुन्थ्यो । 

स्याङ्जामा काङग्रेसको जन्म गराउने थोरै नेताहरुमा उहाँ पनि एक मानिनुहुन्छ । उहाँले विं सं २०१७ सालको राजनैतिक ’कु’ का विरुद्ध राजनैतिक चेतनाबाट प्रेरित भएर नेपाली काङ्ग्रेसमा आबद्ध हुँदै राजनीतिमा संलग्न हुनुभएको थियो । 

उहाँ गण्डकी छात्र संघको अध्यक्ष, स्याङ्जा पर्वत तरुण क्लबको संस्थापक अध्यक्ष, नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिको सचिव लगायतका विभिन्न जिम्मेवारीमा रहेर लोकतान्त्रिक आन्दोलनमा भूमिका निर्वाह गर्नुभएको थियो । उहाँ नेपाली काङ्ग्रेसले सञ्चालन गरेको सशस्त्र आन्दोलनमा सहभागी हुने क्रममा विं सं २०२६ सालमा जेल पर्नुभएको थियो भने यसपछि पनि पटक पटक गिरफ्तार भएर जेल बस्नुभएको थियो । 

उहाँ विं सं २०४९ सालमा भएको स्थानीय निकायको निर्वाचनमा विचारी चौतारा गाविसबाट नेपाली काङ्ग्रेसको तर्फबाट पहिलो पटक निर्वाचित गाविस अध्यक्ष बन्नुभएको थियो । 

‘पौडेलले काङग्रेसको इतिहास रचना गर्नुभएकाले उहाँ लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा हुनुहुन्थ्यो । त्यसैले काङ्ग्रेसले उहाँलाई सधैं सम्मान गर्छ ।’ स्याङ्जा काङग्रेसका कार्यवाहक सभापति बुद्धिबहादुर राना ’कुमार’ ले भन्नुभयो ।  


Top