बागलुङको गाउँ–गाउँमा फैलियो कोरोना

डम्मर बुढा मगर   POSTED ON : जेठ ७, २०७८ (६:५४ PM)

बागलुङको गाउँ–गाउँमा फैलियो कोरोना

 बागलुङ । बागलुङको ग्रामीण क्षेत्रमा कोरोना संक्रमणको भयावह हुन थालेको छ । कोरोना भाइरसको दोस्रो लहर बढेसँगै गाउँ गाउँमा संक्रमणको दर उच्च देखिएको छ । जिल्ला सदरमुकासँग जोडिएकासहित अन्य गाउँहरुमा संक्रमण तीव्र गतिमा फैलिएको छ ।

अहिले गाउँ टोलमा कोरोनाबाट जनता ग्रसित बनेका छन् । बागलुङ नगरपालिकाको मालिका, सिम, भान्सा, कालिमाटी, बाटुले, सिगाना, तित्याङ, बलेवा, काठेखोलाको पाला, धम्जा, तंग्राम, बिहुँ, लेखानी तथा बडिगाको जल्जलामा कोरोनाको संक्रमण दर ह्वात्तै बढेको छ । 

ताराखोलाका गाउँपालिका, ढोरपाटन नगरपालिका, गलकोट नगरपालिकाका नागरिकहरु पनि कोरोनाका संक्रमण बढ्दो छने धेरै नागरिकहरु लक्षणहितका बिरामी बढि राखेका छन् । कोरोना संक्रमण पश्चात उपचारका क्रममा धौलागिरी अस्पताल, पोखरा लगायतमा मृत्यु हुनेमा पनि एकाध बाहेक सबै जसो ग्रामीण क्षेत्रका छन् । 

पछिल्लो एक महिनाको अवधीमा गाउँघरमा कोरोना संक्रमणको दर तीव्र गतिमा फैलिएको काठेखोला गाउँपालिकाका कार्यपालिका सदस्य हेमलाल बिकले बताउनुभयो । उहाँले गाउँमा बिरामीहरु बढि राखेको र परीक्षण समयमा परीक्षण नहुँदा धेरै संक्रमित हुन जोखिम बढेको बताउनुभयो ।

‘कोरोना निकै फैलिन थालेको, गाउँमा मानिसहरु बिरामी पर्न थालेको धेरै लामो समय भएको छैन, बैशाखमा बिहे भोज भतेर भयो, भिडभाड हुने गतिविधिमा सबै गाउँले सहभागी भए,’ उहाँले भन्नुभयो, ‘त्यसबाटै सर्बत्र कोरोना संक्रमण फैलिन थाल्यो, अहिले गाउँमा धेरै मानिसहरु बिरामी छन् ।’ यस गाउँमा अहिले ३० भन्दा बढी संक्रमित छन् ।

त्यस्तै ढोरपाटन नगरपालिकामा पनि कोरोना तीव्र रुपमा फैलिएको स्थानीयहरुले बताएका छन् । नगरपालिकाको विभिन्न गाउँहरुमा धेरै नागरिक बिरामी परेको र स्वाब परीक्षण गरेका धेरै जसोमा संक्रमण पुष्टि भएको स्थानीयको भनाई छ ।

जिल्लाको गलकोट नगरपालिका वडा नम्बर २ नरेठाटीमा पनि संक्रमण ह्वात्तै बढेको छ । अहिले ४२ जना सक्रिय संक्रमित छन् । एकै वडामा दर्जनौको संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ । तर, अझै नागरिकको स्वाब संकलन र परीक्षणको दायरा साघुरो नै देखिएको छ । समुदाय स्तरमा टोल टोलबाट नमुनाको रुपमा पनि स्वाब संकलन गरेर पिसिआर परीक्षण गरिएको छ । यसको दायरा मात्रै बढाउने भने अझ गाउँ गाउँमा कोरोना संक्रमणको भयावह देखिनेछ । 

पछिल्लो साताको अवस्थालाई हेर्दा गाउँमा कोरोना संक्रमण डरलाग्दा हिसाबले फैलिएको पाइएकोे कोरोना नियन्त्रण अभियानमा सक्रिय नर्स नितु खड्काले बताउनुभयो । उहाँले घर–घरमा पुगेर निशुल्क संक्रमितको उपचार गर्दै आउनु भएको छ ।

‘हामी कोरोना संक्रमितको अवस्था बुझ्न र उनीहरुलाई स्वास्थ्य परामर्श र औषधि प्रदान गर्ने अभियान लिएर बानपाका केही गाउँका संक्रमित र काठेखोलाका सक्रिय संक्रमितहरुलाई भेट्न पुग्दा संक्रमित पुष्टि भएकाहरु क्रमशः निको हुने चरणमा पुगेको पायौ,’ कोरोना बिरुद्ध अभियान लिएर काठेखोलाको धम्जा पुग्नुभएकी नर्स खड्काले भन्नुभयो, ‘तर संक्रमित भएकाहरु सुरक्षित भएर आइसोलेशनमा नबस्दा परिवारका अन्य सदस्यहरुमा सरेको जस्तो देखियो, अहिले अधिकांश संक्रमित परिवारका अन्य सदस्य लक्षण सहित बिरामी अवस्थामा छन् ।’

स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले अहिले संक्रमण दर बढ्नुको मुख्य कारण संक्रमित सुरक्षित आइसोलेशनमा नबस्दा भएको बताउनुभयो । ‘अहिले संक्रमण दर जे जसरी बढ्दो क्रममा देखिन्छ, यसमा संक्रमित र नागरिकको लापरवाही कारक छ,’ उहाँले भन्नुभयो, ‘खाना एकै ठाउँमा बसेर खाने र शौचालय पनि एउटै प्रयोग गर्ने समस्याले पनि संक्रमण बढेको देखिन्छ, एउटै परिवारमा एक जनालाई भए पछि परिवारनै आइसोलेशनमा बस्नु पर्दछ, यसमा सबै सचेत र जिम्मेवार बन्न आवश्यक छ ।’

सरकारले निर्देशन गरेका सबै स्वास्थ्य मापदण्ड र बन्दाबन्दीलाई सही रुपमा पालना गरे संक्रमण फैलिनबाट रोक्न सकिने बताउनु भयो । गुरौले नागरिकहरु अटेरी हुँदा भयावह अवस्था सिर्जना भएको भन्दै अझै पनि सजक नभए ठूला संकट आइ पर्न सक्ने बताउनुभयो ।

तस्बिर : ग्रामीण क्षेत्रका नागरिकलाई स्वास्थ्य परामर्श दिँदै स्वास्थ्यकर्मी 


Top