धौलागिरि हिमालबाट ५ हजार किलो फोहोर संकलन, सेनाले बुझायो गाउँपालिकालाई फोहोर

ध्रुबसागर शर्मा   POSTED ON : जेठ ८, २०७८ (३:४८ PM)

धौलागिरि हिमालबाट ५ हजार किलो फोहोर संकलन, सेनाले बुझायो गाउँपालिकालाई फोहोर

म्याग्दी । नेपाली सेनाले संसारकै सातौँ अग्लो धौलागिरि हिमालबाट ५ हजार २० किलो फोहोर संकलन गरी धौलागिरि गाउँपालिकालाई बुझाएको छ ।

नेपाली सेनाले संचालन गरेको ‘सफा हिमाल अभियान’ अन्र्तगत म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा अवस्थित ८ हजार १६७ मिटर अग्लो हिमालको विभिन्न क्याम्पका साथै पदैलमार्गका थुप्रिएको फोहोर नेपाली सेनाको टोलीले संकलन गरेको हो ।

संकलन गरेको फोहोर प्रभु हेलिकोप्टरमार्फत शुक्रवार म्याग्दीको ताकममा ल्याई धौलागिरि गाउँपालिकाका जनप्रतिनिधिहरुलाई बुझाएको पत्रकार गोपाल आचार्यले ताकमबाट जानकारी दिनुभयो ।


 सेनाले संकलन गरेको ५ हजार २० किलो फोहोर मध्ये सड्ने–कुहिने ३ सय किलो फोहोर गाउँपालिका र नकुहिने ४ हजार ७२० किलो रिसाइकल गरी व्यवस्थापन गर्ने अवनी भेन्चर्सलाई बुझाइएको नेपाली सेनाले जनाएको छ ।

 फोहोर संकलन अभियानमै धौलागिरी बेसक्याम्पदेखि २ सय मिटर दक्षिणतर्फ माउन्टेन इक्युमेन्ट सहितका दुई वटा मानव अवशेष र सोही बेस क्याम्पबाट अन्दाजी १ किमी इटाली बेस क्यम्पतर्फ ९ एनएसीआर लेखेको हेलिकप्टरको अवशेषसमेत फेला परेको थियो ।

सन् २००६ मा दुर्घटना भएको एयर डाइनेस्टिको हिमालभित्र भेटिएका मृतकको पहिचान हुन सकेको थिएन । दुईवटा मानव कंकाल आवश्यक अनुसन्धान तथा कानूनी प्रकृयाका लागि ताकम प्रहरी चौकीमार्फत जिल्ला प्रहरी कार्यालय म्याग्दीलाई बुझाइएको छ ।


Top