कोरोना र निषेधाज्ञाले छेकेन विकास

ध्रुबसागर शर्मा   POSTED ON : जेठ ९, २०७८ (११:१८ AM)

कोरोना र निषेधाज्ञाले छेकेन विकास

म्याग्दी ।  कोरोना कहर र निषेधाज्ञाका कारण देशमा अधिकांश गतिविधि ठप्प प्रायः भइरहेका बेला म्याग्दीमा भने विकास निर्माणका काम नियमित रूपमा भइरहेका छन् ।

 जिल्लामा राष्ट्रिय गौरवका सडक आयोजनासँगै अन्य विकास निर्माणमा कोरोनाले गतवर्ष जस्तो प्रभाव पारेको छैन । राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक, जिल्लाका स्थानीय तह जोड्ने कृषि वा ग्रामिण सडक स्तरोन्नति तथा मर्मत र पुल निर्माणका काम  धमाधम भैरहेका छन् ।

कोरोना संक्रमणको जोखिम उच्च रहेकै समय भएपनि राष्ट्रिय गौरबको आयोजना बेनी–जोमसोम–कोरला सडक अन्तरगत म्याग्दीको गलेश्वर–बेगखोला खण्डको सडक कालोपत्रे सुरु भएको छ । 

उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका–३ राहुघाट देखि वडा न. १ बेगखोला जोड्ने सडक आइतबार देखि कालोपत्रे सुरु भएको हो ।

गत वर्षनै कालोपत्रे गर्ने तयारी गरिएपनि कोरोना र बन्दाबन्दीका कारण रोकिएको काम एक वर्षपछि हुन लागेको हो । सडकको धेरै ठाउँमा बर्खामा कटान र पहिरोले क्षति गरेको थियो । आयोजनाको पहिलो प्याकेजको मुख्य ठेकेदार शर्मा–युनाइटेड जेभीको सहायक ठेकेदार ओमकारेश्वर कन्ट्रक्सनले कालोपत्रे गर्न प्राइम (बिटुमिन) बिछ्याउन सुरु गरेको हो ।

ओमकारेश्वर कन्ट्रक्सनका सञ्चालक अमृत दाहालले कुनौटो देखि गलेश्वर तर्फ प्राइम कोड हालेर कालोपत्रेको काम सुरु गरेको बताउनु भयो । मौसमले साथ दिएमा गलेश्वर देखि बेगखोला सम्मको ८ किलोमिटर सडक मध्य ६ किलोमिटर जेठ महिनाभित्र कालोपत्रे गरिसक्ने उहाँको भनाई छ । 

त्यसैगरी पश्चिम म्याग्दीको बाबियाचौरदेखि अर्मन नेटा जोड्ने पक्की पुलको निर्माण कार्य पनि धमाधम भैरहेको छ । लुम्बिनी प्राकृतिक जेभिले रु ११ करोडमा ठेक्का लिएको यो पुलको भौतिक प्रगति ८० प्रतिशत रहेको र असार मसान्तसम्म पुरा गर्ने लक्ष रहेको सब इन्जिनियर सविनकुमार शाक्यले बताउनु भयो ।

पूर्वाधार विकास कार्यालयमार्फत सञ्चालित आयोजनामा कोरोना र निषेधाज्ञाको असर नपरेको बताइएको छ। सडक र मोटरेबल पुल निर्माणको काम धमाधम भइरहेको छ । त्यसैगरी बेनीबजार संरक्षण, राहुघाट जलविद्युत्, निलगिरि, घारखोला, मङ्गले राहुघाटलगायत जलविद्युत् आयोजना निर्माण धमाधम भइरहेका छन् । विकास आयोजना निर्माण जारी भएपछि ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका विपन्न वर्गलाई राहत मिलेको छ । पूँजी निर्माण, विकास बजेट परिचालन तथा योजना कार्यान्वयनमा सहयोग मिलेको छ ।

यता म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटका युवाहरु भने सुरक्षा सावधानी अपनाएर विकास निर्माणका काममा जुटेका छन् । 

गाउँका ८ जना युवाहरु मिलेर खहरेखोला–कुरुङ्दी–जलकेनी सडकको मर्मतका लागि बेनी नगरपालिकाले विनियोजन गरेको रु ५ लाख बराबरको कामको ठेक्का लिएर उनीहरु सडक मर्मतमा जुटेका हुन् ।

स्थानीय युवा पूर्णबहादुर हुमेनको नेतृत्वमा रामबहादुर पोख्रेल,विकास कुवँर,कृष्ण पोख्रेल लगाएतका युवाहरुले अहिले धमाधम खहरे खोलामा ग्याविन जाली भर्ने काम गरिरहेका बेनी नगरपालिका २ का वडासदस्य चन्द्रबहादुर कुवँरले जानकारी दिनुभयो ।

वडासदस्य कुवँरका अनुसार आर्थिक वर्ष २०७६÷०७७ मा बेनी नगरपालिकाको रु ५ लाखको लागतमा निर्माण गरिएको खहरेखोला–कुरुङ्दी–जलकेनी सडकमा गत वर्ष आएको बाढीले क्षति पु¥याए पछि सोही सडकको मर्मत कार्यमा युवाहरु जुटेका हुन् । बन्दावन्दीको समयमा घरमा विना काम वस्नु भन्दा युवाहरुले रोजगारी पनि पाउने र विकासको काम पनि हुने भएकोले सडक मर्मतको जिम्मा स्थानीय युवाहरुलाई नै दिइएको उहाँले बताउनु भयो ।

 बाहिरबाट मजदुर ल्याएर काममा लगाउँदा कोरोना संक्रमणको जोखिम पनि बढ्ने र स्थानीय युवाहरु पनि बेरोजगार बस्नु पर्ने भएकाले गाउँकै युवाहरुलाई काममा लगाइएको खहरेखोला–कुरुङ्दी–जलकेनी सडक मर्मत उपभोक्त समितिका अध्यक्ष रामबहादुर पोख्रेलले बताउनु भयो ।

अध्यक्ष पोख्रेलका अनुसार सडकको खहरेखोला खण्डमा २२ वटा र अन्य भागमा १८ गरी ४० वटा ग्याविन जाली भर्नुकासाथै स्काभेटरको माध्यमद्धारा खहरेखोलादेखि जलकेनी बान्नोसम्मको करिब १ किलोमिटर सडकको मर्मत तथा सरसफाइ गरिने छ । 

गतवर्ष कोरोनाले रोकिएका काम स्थानीय तहले यस वर्ष शुरू गरेका छन् । गतवर्ष नसकिएका काम बजेट रकमान्तर गरेर अघि बढेका छन् । तर जिल्लामा कोरोना संक्रमण बढ्दै गएको अवस्थामा विकास निर्माणमा पुनः समस्या आउने त्रास भने कायमै छ ।

म्याग्दीको पूर्वाधार विकास आयोजनालाई कोरोना महामारी र निषेधाज्ञाको असर पर्न दिइएको छैन । निषेधाज्ञा भएका क्षेत्रमा पनि विकास आयोजना निर्माणको काम धमाधम भइरहेका छन् ।

निर्माण सामग्री, उपकरणको व्यवस्थापन गरी सतर्कता अपनाएर विकास आयोजनाको कामलाई निरन्तरता दिइएको निर्माण व्यवसायीहरुले बताएका छन् ।


Top