धौलागिरी अस्पतालमा अक्सिजन अभाव कायमै

डम्मर बुढा मगर   POSTED ON : जेठ ९, २०७८ (४:०५ PM)

धौलागिरी अस्पतालमा अक्सिजन अभाव कायमै

 बागलुङ । बागलुङमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै जाँदा धौलागिरी अस्पतालमा अक्सिजनको व्यवस्थापन अझै सकसपूर्ण छ ।

सरकार र नागरिकबाट अक्सिजन सिलिण्डर प्राप्त भइरहे पनि संक्रमितको संख्या बढ्दै गएपछि जिल्लामा अक्सिजनको अभाव खड्किरहेको छ । 

संक्रमित मध्ये अधिकांश होम आइोलेशनमै छन् भने तीन दर्जन बढि मात्रै धौलागिरी अस्पतालसहित अन्य संस्थागत आइसोलेशनमा छन् ।

धौलागिरी अस्पतालमा रहेका अधिकांश संक्रमितलाई अक्सिजनको सहायता चाहिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र बि पोखरेलले जानकारी दिनुभयो । अस्पतालमा उपचार रहेका अधिकांश बिरामीलाई अक्सिजन चाहिने हुँदा अक्सिजनको अभाव कायमै रहेको डा.पोखरेलले बताउनुभयो ।

‘बिरामी बढि राख्नु भएको छ, उपचाररत सबैमा श्वास प्रस्वासको समस्या भएको हुँदा अक्सिजन दिइ राख्नु पर्छ, त्यसले गर्दा अक्सिजन अभाव भइरहेको छ’ डा.पोखरेलले भन्नुभयो । अहिले अस्पतालमा ३६ जना संक्रमितको उपचार भइरहेको छ । उनीहरु मध्ये अधिकांशलाई अक्सिजन दिइरहेको अस्पतालले जनाएको छ ।

अहिले दैनिक एक सय २० वटा सिलिण्डर खपत हुँदै आएको अस्पतालले जनाएको छ । १५ देखि २० मिनेटमा एउटा सिलिण्डर खपत हुने गरको छ । 

अस्पतालमा अक्सिजन प्लान्ट समेत संचालनमा छ । तर भर्ने उपकरण नहुँदा खेर गइरहेको डा.पोखरेलेको भनाई छ । 

अक्सिजन प्लान्टले अहिले दैनिक ३० लिटर सिलिण्डर अक्सिजन उत्पादन गर्ने गरेको डाक्टर पोखरेलले बताउनुहुन्छ । ‘अक्सिजनको अभाव त निकै छ, अहिलेसम्म जसोतसो व्यवस्थापन गरिरहेका छौँ, हरेक १५ देखि २० मिनेटमा एउटा सिलिण्डर खपत हुन्छ,’ उहाँले भन्नुभयो ‘अक्सिजन प्लान्टले उत्पादन गरेको र सिलिण्डर मार्फत अहिले व्यवस्थापन हुँदैछ, थप बिरामी व्यवस्थापन गर्नु प¥यो भने सकिने अवस्था छैन ।’

अहिले अस्पतालमा १ सय ४० हारहारीमा अक्सिजन सिलिण्डर छन् । यतिले मात्रै थाम्न नसकिने भन्दै डा.पोखरेलले दैनिक पोखरा सिलिण्डर भर्न पठाइ रहेको बताउनुभयो । अक्सिजन भर्ने ठाउँमा पनि चाप हुँदा घण्टौँ कुर्दा पनि पालो पाउन गाह्रो हुने गरेको उहाँले गुनासो गर्नु भयो ।

‘अक्सिजन भर्न दैनिक सिलिण्डर पोखरा पठाउँछौँ, अक्सिजन भर्ने ठाउँमा निकै चाप हुने हुँदा पालो पाउन मुक्सिल हुन्छ, हामीले गाडि चालकलाई तैनाथका साथ खटाइ राखेका छौँ,’ डा. पोखेलले भन्नुभयो ‘अक्सिजन समयमा आएन भने बिरामीको ज्यानै खतराम पर्ने अवस्था आउन सक्छ, अक्सिजन व्यवस्थापनमा हामी निरन्तर लागिरहेका छौँ ।’

अस्पतालमा पर्याप्त अक्सिजन भए ५० जना भन्दा बढी संक्रमितको उपचार गर्न सकिने भन्दै डाक्टर पोखरेलले अहिले ३५ बेड चलाउन निकै समस्या भइरहेको बताउनहुन्छ । ‘हामीसँग पर्याप्त अक्सिजन हुने हो भने ५० जना संक्रमितको उपचार सहज रुपमा गर्न सक्छौँ, दक्ष जनशक्ति अभाव पनि छ, अक्सिजन र जनशक्ति पर्याप्त हुने हो भने ५० बढी संक्रमितको उपचार गर्न समस्या छैन ।’

संघीय सरकारले अक्सिजन प्लान्ट व्यवस्थापनका लागि धौलागिरी अस्पताललाई तीन करोड रुपैयाँ विनियोजन गरेको छ । अक्सिजन प्लान्ट जडानका लागि अस्पतालले बायोमेडिकल इन्जिनियरलाई खाका पठाएको धौलागिरी अस्पताल व्यवस्थान समितिका अध्यक्ष केबी राना मगरले बताउनुभयो । अस्पतालले पठाएको खाका अनुसार वायोमेडिकल इन्जिनियरले स्टिमेट तपार पार्ने र अक्सिजन प्लाान्ट जडानका लागि टेण्डर प्रक्रिया अगाडी बढाउने उहाँको भनाई छ । 

अहिले जिल्लाभर ९ सय ७४ सक्रिय संक्रमित छन् भने जम्मा संक्रमितको संख्या तीन हुजार ६ सय ४१ पुगेको छ । संक्रमणबाट २९ जनाले ज्यान गुमाएका छन् । अहिले अस्पतालमा तीन आइसियु, ४ वटा भेन्टिलेटरसहित ३५ बेड संचालनमा छ । 

तस्बिर : धौलागिरी अस्पताल बागलुङ ।


Top