पुर्खौंदेखि पशुपालनमा निसी–भल्कोटवासी

डम्मर बुढा मगर   POSTED ON : जेठ १८, २०७८ (९:२७ AM)

पुर्खौंदेखि पशुपालनमा निसी–भल्कोटवासी

बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–५ र ६ का स्थानीयहरू पशुपालनमा अभ्यस्त छन् । यहाँको मुख्य पेसा नै पशुपालन भएको हुँदा अरू पेसाभन्दा ज्यादा यही पेसालाई प्राथमिकता दिएको पाइन्छ । एकजना मात्रै होइन सिंगो समुदाय नै पशुपालनमा सक्रिय छन् । उच्च पहाडी हावा पानी र पशुपालनको लागि उत्तम वातावरण भएको हुँदा यही पेसा अंगाल्दै आएको स्थानीयहरू बताउँछन् ।

७६ वर्षीय तीर्थे घर्ती पनि सानैदेखि भेडाबाख्रा र गाईभैँसी पालनमा होमिँदै आउनुभएको छ । आफ्ना पुर्खाहरूले यही पेसा गर्दै आएको हुँदा आफूले पनि पशुपालनलाई अँगाल्दै आएको बताउनुहुन्छ । ‘हाम्रो बाउ बाजेहरूले पनि यही काम गर्थे, मैले पनि उहाँहरूकै सिको गरे, अरू गर्नलाई लेखपढ जानेकोे छैन, भेडाबाख्रा पाल्न नपढे पनि हुँदो रैछ,’ उहाँले भन्नुभयो ‘धेरै कमाउन नसके पनि खान लाउन पुगेको छ ।’

घर्तीले पशुपालनसम्बन्धी कुनै पनि तालिम परामर्श लिनुभएको छैन, तर पनि यो व्यवसायले उहाँलाई सन्तुष्टि दिएको छ । परम्परागत प्राणालीबाट पशुपालन गर्दै आउनुभएका घर्तीलाई आधुनिक प्रविधिबारे केही ज्ञान छैन । 

गाईभँैसी तथा भेडाबाख्रा बिरामी परे उहाँ आफैँ ओखतीमुलो गर्नुहुन्छ । तिनीहरूको व्यवस्थापन पनि पुरानै शैलीले गर्दै आउनुभएको छ । अहिले उहाँको गोठमा दुई सय भेडाबाख्रा र २० वटा भन्दा बढी भैँसी छन् ।

‘माथि–माथि लेकमा जाने बेला अलिअलि चिसोले भेट्छ भेडाबाख्राहरूलाई, सिँगान छोड्ने काँप्ने गर्छन्, नत्र खास्सै त्यसो समस्या पर्दैन,’ घर्तीले भन्नुभयो, ‘सामान्य रोगको त उपचार मै आफँै पनि गर्छु, तर त्यसरी बिरामी परेका छैनन् मेरा पशुचौपायाहरू ।’

उहाँले विशेषगरी निसी भल्कोटको माथिल्लो भेग र निसेल ढोरमा गोठ राख्ने गर्नु हुन्छ । उच्च पहाडी क्षेत्रहरूमा चरीभरन गर्दा पशु चौपायाहरूले औषधियुक्त जडीबुटी खाने गर्दा बिरामी नहुने बताउनुहुन्छ । ‘यहाँ तल–तल त जाडोको सिजनमा मात्रै हो, नत्र माथि नै हाम्रो बास हुन्छ, खर्चपर्च बोकेर लेकतिरै जान्छौँ, उतै पशु पाल्ने गछौँ,’ उहाँले भन्नुभयो, ‘कहिले काहीँ बाघहरूको डर हुन्छ रोग लागेर मर्लान् भन्ने डर त कमै हुन्छ ।’

उहाँलाई पशु चौपायाहरू कुन सिजन मोटाउने र कुन सिजन दुब्लाउने भन्ने यकिन छ । प्रायजसो बर्खाको समयमा भेडाबाख्रा र गाईभैँसी मोटाउने र हिउँदको समयमा दुब्लाउने गरेको घर्तीको भनाइ छ । ‘यिनीहरू लागि पनि मोटाउनको लागि सुख चाहिन्छ, मिठो खाना चाहिन्छ, हिउँदमा कम मोटाउँछन्, बर्खाको समयमा धेरै मोटाउने गर्छन्,’ घर्तीले भन्नुभयो ‘बर्खामा टन्न खान पाउँछन्, घाँस पनि हरियोपरियो प्रशस्त हुन्छ, हिउँदमा हरियोपरियो प्रशस्त हुँदैन त्यसले गर्दा दुब्लाउने गर्छन् ।’

उहाँ विशेष गरी दुई सिजनमा भेडाबाख्रा बेच्न बजारतिर झर्नुहुन्छ भने अधिकांंश समय गोठमै बस्ने गर्नुहुन्छ । पछिल्लो समय मान्छेहरू गोठमै पनि खरिद गर्न जाने गरेको उहाँले बताउनुभयो । 

त्यस्तै, अर्का पशुपालक सरविर बुढाले पनि परम्परागत शैलीबाटै व्यवसाय गर्नुभएको छ । बुढापाकाबाटै सिक्नुभएका बुढाले अहिले पनि पुरानै प्रणालीबाटै गाईभैँसी पाल्नुभएको छ । उहाँको गोठमा ४० भन्दा बढी गाई र भैँसी छन् । 

पाकापुर्खाहरूले गर्दै आएको यो व्यवसाय उहाँलाई निकै प्रिय लाग्ने गर्छ । उहाँ यो पेसा छोडेर अन्य कुनै पनि काम गर्न चाहनुहुन्न । यो व्यवसायमा सुख दुःख दुवै हुने भन्दै आफूलाई यो पेसा निकै मन पर्ने उहाँ बताउनुहुन्छ ।

उहाँ तीर्थे घर्तीभन्दा कम उचाइ र समथर ठाउँमा बस्ने गर्नुहुन्छ । उहाँलाई पनि यो व्यवसायसम्बन्धी आधुनिक ज्ञान छैन । नयाँ ज्ञानहरू थाहा नभए पनि आफूले यसबाट ठूलो क्षति व्यहोर्नु नपरेको उहाँ बताउनुहुन्छ । बुढाले सरकारले आफूहरू जस्ता कृषकलाई नयाँ ज्ञान र सीप सिकाउन सके आफ्नो व्यवसाय प्रभावकारी बन्ने र प्रभावकारी बन्ने बताउनुहुन्छ ।

घर्ती र बुढा मगर जस्ता यहाँका सयौँ नागरिकले पुरानै शैलीबाट पशुपालन गर्दै आएका छन् । उनीहरू अझै पनि नयाँ प्रविधि र ज्ञानबाट दूरमा रहेका छन् ।


Top