स्वास्थ्य चौकी पहिरोको उच्च जोखिममा

डम्मर बुढा मगर   POSTED ON : जेठ १९, २०७८ (५:११ PM)

स्वास्थ्य चौकी पहिरोको उच्च जोखिममा

 बागलुङ । तीन दिनसम्म निरन्नतर परेको वर्षाका कारण बागलुङका विभिन्न स्थानमा सडकहरु अवरुद्ध भएका छन् भने एक स्वास्थ्य संस्था समेत पहिरोको उच्च जोखिममा परेको छ । वर्षाले गर्दा बागलुङ नगरपालिका वडा नम्बर ८ सिगानाको स्वास्थ्य चौकी पहिराको उच्च जोखिममा परेको छ भने लामीचौर हुँदै बौडेचौर चापाखर्क सडक अवरुद्ध भएको छ ।  

वर्षातका कारण स्वास्थ्य चौकी भवन तल पहिरो गएका कारण स्वास्थ्य चौकीको भवन जोखिममा परेको हो भने सडक तल माथिबाट पहिरो झर्दा अवरुद्ध भएको हो । दुई वर्ष पहिला निर्माण भएको उक्त स्वास्थ्य चौकीको नयाँ भवन तल गत वर्ष पहिरो जाँदा भवन चर्किएको थियो । अहिले लगातार तीन दिन परेको वर्षाका कारण पहिरो बढेर स्वास्थ्य चौकी उच् च जोखिममा परेकोस्वास्थ्य चौकी इन्चार्ज विष्णु प्रसाद शर्माले जानकारी दिनुभयो । 

सोही पहिरोले सिगानको ग्रामीण सडक समेत अवरुद्ध भएको उहाँको भनाई छ । पहिरोको उच्च जोखिममा रहेर भवन समेत चर्केको अवस्थामा उपचार सेवाका लागि समेत जोखिम हुन सक्ने शर्माको भनाई छ । बागलुङ नगरपालिकादेखि लामाचौर हुँदै बौडेचौर जाने सडकको घुम्तीदेखि  पहिरो गएका कारण स्वास्थ्य चौकी पूर्ण रुपमा खतरामा रहेको र सडकको समेत विकल्प खोज्नुपर्ने अवस्था आएको स्थानीयको भनाई छ । 

‘स्वास्थ्य चौकीको भवन पहिरोको जोखिममा परेको छ, वर्षा भयो भने त काम गर्न पनि जोखिम हुन्छ, स्वास्थ्य चौकीको खानेपानी ट्याङ्की गत वर्ष नै भासिएको थियो, अहिले अझ पहिरो बढेर सडक समेत पुरेको छ, भवनको केही भाग चर्किएको छ, काम गर्न पनि जोखिम भएको छ,’ शर्माले भन्नुभयो ‘अव्यवस्थित रुपमा सडक निर्माण गर्दा भवननै जोखिममा प¥यो, भवन निर्माण गर्दा उपर्युक्त जग्गा समेत छनोत भएन, अहिले जोखिम मोल्नु पर्ने अवस्था आयो ।’

स्वास्थ्य  चौकी पहिरोको जोखिममा परेपछि स्थानीयले नगरपालिकामा खबर गरेका थिए । नगरप्रमुख जनकराज पौडेलले पहिरो रोकथामको लागि सडकबाट ग्याविन निर्माण गर्ने बताउनुभयो । तत्कालै समस्याको समाधान तर्फ नलाग्ने हो भने स्वास्थ्य चौकीनै विस्थापिन हुने खतरा भएको स्थानीयको गुनासो छ । स्वास्थ्य चौकीको अग्रभागमा रहेको ढलान छिया–छिया भएर चर्किएको छ । 

भवनको कम्पाउण्ड भत्किएको छ । झण्डै एक करोड ८२ लाखको लागतमा निर्माण गरिएको उक्त भवन दुई वर्षमै जोखिममा पर्ने अवस्था आउनु पूर्ववत योजनामा यथेष्ट सचेतता नअपनाउदाको परिणाम भएको स्थानीयले बताएका छन् । सरकारले भवन निर्माण गर्न बजेट दिए पनि उपर्युक्त जग्गा व्यवस्थापन नभई दाताको जग्गामा भवन निर्माण गर्दा जोखिममा परेको बागलुङ नगरपालिका–८ का वडाअध्यक्ष राजन जिसीले जानकारी दिनुभयो ।

झण्डै २५० मिटर  तलबाट निरन्तर पहिरो बगिरहेको छ । पहिराले स्वास्थ्य चौकी मुनीका तीन घर समेत उच्च जोखिममा परेको छ । पहिरोका कारण स्वास्थ्य चौकी मुनीका घरमा निरन्तर ढुङ्गा खसिरहेका छन् । पहिरो तत्काल रोकथामका लागि नगरपालिकाले पहलकदमी थालेको नगर प्रमुख पौडेलको भनाई छ ।

स्वास्थ्य चौकी गत वर्षकै वर्षातको समयदेखि जोखिममा परेको थियो । हिउँदको समयमा सम्बन्धित निकायले यस तर्फ ध्यान नदिँदा पहिरोले स्वास्थ्य चौकी नै बगाउन सक्ने देखिएको स्थानीय बताउँछन् ।

पहिरोको उच्च जोखिममा परेको सिगाना स्वास्थ्य चौकी । तस्बिर : हिमालय टाइम्स


Top