बागलुङमा घटेन संक्रमण दर, लकडाउनमा थप कडाइ

डम्मर बुढा मगर   POSTED ON : जेठ १९, २०७८ (७:५० PM)

बागलुङमा घटेन संक्रमण दर, लकडाउनमा थप कडाइ

बागलुङ । कोरोना संक्रमणको दर बढ्दै गएपछि गत बैशाख २१ गतेदेखि बागलुङमा लकडाउन सुरु भयो । जिल्ला भर लकडाउन जारी भएको करिब एक महिना बितिसक्यो तर संक्रमणको दर झने–झन् बढ्दै गएको छ । संक्रमणको दर दिनदिनै बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय बागलुङले लकडाउनलाई थप कडाइ गर्न थालेको छ ।

स्वास्थ्य कार्यालय बागलुङको तथ्याङ्कलाई हेर्दा जिल्लामा संक्रिय संक्रमितको एक हजार ७७० पुगेको छ । संक्रमितको संख्या दिनदिनै बढेपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञामा थप कडाइ गर्न प्रहरीलाई निर्देशन दिएको छ । प्रशासनको निर्देशनपछि  जिल्ला सदरमुकाम बागलुङ बजारमा प्रहरीको बाक्लो उपस्थिति छ ।

प्रहरीले अत्यावश्यक काम बाहेक बजार डुल्ने व्यक्तिलाई होल्ड गर्ने, एक सय जरिवाना तिराउने जस्ता कार्य गर्दै आएको छ । प्रहरीले पहिलो चरणमा कोरोना नियन्त्रणका लागि घरमै बस्न आग्रह गरेर पठाउने गरेकामा पछिल्ला दिनमा सर्वसाधारणबाट लकडाउनको अवज्ञा भएपछि प्रहरीले १० मिनेट होल्ड गर्ने र पटक–पटक अटेरी गर्नेलाई  एक सयको जरिवाना गर्ने गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब निरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो ।

अत्यावश्यक कामबाहेक एक जिल्लाबाट अर्को जिल्लामा पुग्ने नाका, मुख्य सडक तथा भित्री सडकमा प्रहरीले चेकजाँचमा थप कडाइ गरेको हवारीले बताउनुभयो । बागलुङमा सक्रिय संक्रमितको संख्या नघट्नुमा लकडाउनको पालना नभएको भन्ने गुनासो आएपछि प्रहरी सक्रिय भएर लागेको छ । नक्कली पास बोक्ने, पासका आधारमा यात्रु बोक्ने, तीव्र गतिमा सवारी चलाउने, एक व्यक्तिका नाममा भएको पास अर्को व्यक्तिलाई दिने लगायत लकडाउनको उल्लङ्घन गर्नेलाई ट्राफिक प्रहरीले निगरानी तथा सवारी नियम उल्लङ्घन र जाँचका साथै कारबाहीसमेत गरिरहेको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालयले पटक–पटक नियम उल्लङ्घन गर्नेबाट हालसम्म १७६ जनालाई कारबाही गरेको छ । सोबाट रु १७ हजार ६०० राजश्व संकलन गरेको प्रहरीले जनाएको । सवारी नियम उल्लङ्घन गर्ने २३९ सवारी साधनबाट रु एक लाख ६० हजार ५०० राजश्व संकलन गरिएको सूचना अधिकारी हवारीले बताउनुभयो ।

प्रहरीले बिनामास्क हिँड्नेलाई एक सय, बिना काम हिँड्नेलाई दुई सय, अत्यावश्यक कामबाहेक मोटरसाइकल चलाउनेलाई दुई हजार, अन्य सवारीलाई पाँच हजार जरिवाना तिराउने गरेको छ । नागरिक आफै सजक नभएसम्म जिल्लाका संक्रमणको दर घटेर जानुको सट्टा बढ्दै जाने प्रहरीको भनाई छ । बजार क्षेत्र लगायत ग्रामीण क्षेत्रमा पनि कोरोना संक्रमण तीव्र गतिमा फैलिएको छ ।

कोरोना संक्रमण फैलिए पनि विभिन्न स्थानमा स्थानीयहरुले लकडाउनको अवज्ञा गर्दै विभिन्न गतिबिधिहरु गर्दै आएका छन् । कतिपय गाउँमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत नागरिकहरु जम्मा भएर निर्माण कार्यलाई समेत तीव्रता दिएको जनगुनासो बढेको छ । बागलुङमा कोरोना संक्रमणबाट हालसम्म ४३ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या तीन हजार आठ सय १० पुगेको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

 


Top