गण्डकी प्रदेश–राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा पदमुक्त

हिमालय टाइम्स   POSTED ON : जेठ २०, २०७८ (२:३६ PM)

गण्डकी प्रदेश–राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा पदमुक्त

पोखरा । गण्डकी प्रदेशका राष्ट्रिय जनमोर्चा सांसद कृष्ण थापालाई संसद सदस्यबाट निष्काशन गरिएको छ ।  

जनमोर्चाले सांसद थापा पार्टी सदस्य नरहेको जानकारी पत्र बिहीबार संसद सचिवालयमा दर्ता गरेको थियो । उक्त पत्रसँगै थापा सांसदबाट निष्काशन प्रक्रिया अघि बढेको हो ।

 संसद सचिवालयका अनुसार सांसद थापालाई संसदबाट निष्काशन गरेको सूचना बिहिबार नै प्रकाशन हुने छ । 

गण्डकी प्रदेशमा एमाले नेता पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार परिवर्तन गर्न जनमोर्चाले गरेको निर्णय सांसद थापाले उल्लङ्घन गर्नुभएको थियो ।

जनमोर्चाले गण्डकी प्रदेशमा विपक्षी गठबन्धनलाई समर्थन गर्ने तर सरकारमा नजाने निर्णय गरेको थियो । जनमोर्चाको उक्त निर्णयसँगै गण्डकीमा काँग्रेस नेतृत्वमा सरकार बनाउने कसरत भएको थियो । 

उहाँलाई जनमोर्चाले पार्टी साधारण सदस्यबाट समेत हटाएको थियो ।

राजनीतिक दल सम्बन्धी ऐनमा पार्टीबाट निर्वाचित सांसद पार्टी सदस्यबाट निष्काशन भएको जानकारी संसद सचिवालयमा प्राप्त भएपछि संसदबाट पनि निष्काशन हुने व्यवस्था छ। 


Top