पदमुक्त भएपछि जनमोर्चा सांसद थापाको प्रतिक्रिया : मतदाताको अभिमत विपरित जान सकिँन, हार्दिक नमन

डम्मर बुढा मगर   POSTED ON : जेठ २०, २०७८ (७:०८ PM)

पदमुक्त भएपछि जनमोर्चा सांसद थापाको प्रतिक्रिया : मतदाताको अभिमत विपरित जान सकिँन, हार्दिक नमन

 बागलुङ । राष्ट्रिय जनमोर्चाबाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले पार्टीले प्रदेश सभाबाट हटाइएपछि आफू जनताको अभिमत विपरित जान नसक्दा कारबाही भोग्नु पर्ने अवस्था आएको बताउनु भएको छ ।

राष्ट्रिय जनमोर्चाको बिहीबार बसेको केन्द्रीय बैठकले थापालाई सांसद पदबाट निश्कासन गरे लागत्तै सामाजिक सञ्जाल फेसबुक मार्फत प्रतिक्रिया दिँदै थापाले मतदाताको अभिमत विपरित जान नसकेको भन्दै मतदाता समक्ष माफी समेत माग्नु भएको छ ।

थापाले आफ्नो फेसफुक स्टाटसमा लेख्नु भएको छ–‘काँग्रेसको सरकार नबन्दा आफ्नो सांसद पद खारेज हुनु इतिहासको मजाक हो, इतिहासले मुल्याङ्कन गर्नेछ, जनताको अभिमत विपरित जान सकिन, हजुरहरुको अभिमत प्रति हार्दिक नमन ।’ थापा बागलुङ क्षेत्र नम्बर १ को ‘ख’ बाट प्रत्यक्ष निर्वाचित हुनुहुन्थ्यो । 

प्रदेश सभा निर्वाचनमा एमाले सँग गठबन्धन गरेर निर्वाचित हुनुभएका थापा अहिले एमाले नेतृत्वकै सरकार बिरुद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्न राजनीतिक र नैतिक रुपमा पनि नमिल्ने उहाँको अडान थियो ।

यसअघि थापालाई पार्टीले कारबाही गर्दै आजीवन केन्द्रीय सदस्य हुन नपाउने र एक वर्षका लागि पार्टी सदस्यबाट निलम्बन गर्दै दलको नेताबाट पनि हटाएको थियो । सरकारविरुद्ध ल्याएको अविश्वासको प्रस्तावमाथि दलले समर्थन गरिरहँदा थापाले पार्टीको निर्देशन उल्लंघन गर्दै एमालेलाई सहयोग गर्दै आउनुभएको थियो । 

जिल्लामा एमाले गठबन्धन संग मिलेर चुनाव लड्नुभएका थापाले पटकपटक कांग्रेसलाई सर्मथन गर्नु जनताको अभिमत विपरित हुने बताउदै आउनुभएको थियो ।

जनमोर्चाले सांसद थापा पार्टी सदस्य नरहेको जानकारी पत्र बिहीबार संसद सचिवालयमा दर्ता गरेको थियो । उक्त पत्रसँगै थापा सांसदबाट निश्काशन प्रक्रिया अघि बढेको हो ।


Top