कोरोना नियन्त्रणमा सरोकारवालाको ध्यान नगएको भन्दै उच्च अदालतमा रिट दर्ता

डम्मर बुढा मगर   POSTED ON : जेठ २१, २०७८ (३:०९ PM)

कोरोना नियन्त्रणमा सरोकारवालाको ध्यान नगएको भन्दै उच्च अदालतमा रिट दर्ता

बागलुङ ।बागलुङमा कोरोना नियन्त्रण गर्न जिल्लाका सरोकारवालाहरुको ध्यान नगएको भन्दै उच्च अदालत पोखरा बागलुङ इजालशमा रिट निवेदन दर्ता भएको छ । नयाँ भेरियन्टको रुपमा बागलुङमा तीव्र रुपमा फैलिएको कोरोना संक्रमण नियन्त्रण गर्न सरोकारवालाहरुले पूर्व तयारी नअपनाएको तथा नागरिकको जीवन रक्षाको लागि ध्यान नदिएको भन्दै रिट निवेदन दर्ता भएको छ । 

सार्वजनिक सरोकारको उक्त मुद्दामा अधिवक्ता राम शर्मा, पत्रकार महासंघ बागलुङका अध्यक्ष नरेश कँडेल, पत्रकार मुकेश चन्द्र राजभण्डारी र संकल्प गण्डकी प्रदेशका अध्यक्ष रावित्रा खड्काले बिहीबार विपक्षी जिल्ला प्रशासन कार्यालय बागलुङ, प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्की, जिल्ला विपद् व्यवस्थापन समिति र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, धौलागिरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगर, अस्पतालका मेडिकल सुपरीटेन्डेण्ट डा. शैलेन्द्र बिक पाखरेल, स्वास्थ्य कार्यालय बागलुङ र स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौ विरुद्ध रिट निवेदन दर्ता भएको हो । 

संविधान र कानुनद्वारा प्रदत्त कर्तव्य बोध गराई आम नागरिकको बाँच्न पाउने अधिकार, स्वास्थ्य उपचार सम्बन्धी अधिकार र गुणस्तरीय सेवा पाउने अधिकारको रक्षा गर्न–गराउनका लागि तत्काल आवश्यक कदम चाल्न माग दावी गर्दै इजलास समक्ष उक्त रिट दायर गरिएको अभिवक्ता राम शर्माले जानकारी दिनुभयो । 

धौलागिरी अस्पतालमा अक्सिजनको सहज आपूर्ती, गुणस्तरीय अक्सिजन प्लान्टको  स्थापना, विरामीको हसज उपचार, एम्बुलेन्सको सहजता, पिसिआर र एन्टिजेन्ट परिक्षणको दायरा बढाउन, आइसोलेसन र होम आइसोलेसन लगायत कारोना संग सम्बन्धीत सबै क्रियाकलाप नागरिकको सहजताको लागि माग गर्दै रिट निवेदन दर्ता भएको छ । 

यसैगरी कोभिड–१९ को उपचारको सन्दर्भमा अस्पताल व्यवस्थापन (प्रयोगशाला, अक्सिजन तथा भेन्टिलेटर समेत), एम्बुलेन्स समेतका लागि आवश्यक व्यवस्था मिलाउन, होमक्वारेन्टाइन र होम आइसोलेशनमा रहेका व्यक्तिको स्वास्थ्य निगरानी तथा अनुगमन गरी थप जाँच वा उपचार आवश्यक पर्ने देखिएमा प्रयोगशाला र अस्पतालसँग समन्वय गरी उक्त स्थानसम्म पु¥याउने  काममा सहजिकरण गराउन रिट निवेदन दर्ता गरिएको हो ।

Top