आँधीखोला काँग्रेसको एम्बुलेन्स सेवा प्रभावकारी बन्दै

युवराज पौडेल   POSTED ON : जेठ २३, २०७८ (११:२७ AM)

आँधीखोला काँग्रेसको एम्बुलेन्स सेवा प्रभावकारी बन्दै

स्याङ्जा  । आँधीखोला गाउँपालिकामा नेपाली काङ्ग्रेसले सञ्चालन गरेको निशुल्क एम्बुलेन्स सेवा प्रभावकारी बनेको छ । कोभिड सङ्क्रमणको दोस्रो भेरियन्टसँगै आँधीखोलामा कोरोनाको सङ्क्रमण बढेका समयमा बिरामीलाई यातायातको समस्या नहोस् भन्ने उद्देश्यले जेठ ११ बाट सञ्चालन गरिएको एम्बुलेन्स सेवाले हालसम्म दुई दर्जनभन्दा बढी गम्भीर अवस्थाका आपतकालीन सेवा आवश्यक भएका बिरामीहरूलाई पोखराका विभिन्न अस्पताल र जिल्ला अस्पताल स्याङ्जासम्म पु¥याएर सेवा प्रदान गरेको छ । 

निषेधाज्ञाका कारण सवारी साधन चल्न रोक लगाइएको अवस्थामा कोभिड तथा अन्य विभिन्न इमर्जेन्सी बिरामीहरूलाई उपचारका लागि पोखरासम्म लैजान कठिन भइरहेका बेलामा आँधीखोला काङ्ग्रेसका युवा अभियन्ताहरुले विपन्न लक्षित निशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेका हुन् । आँधीखोला गाउँपालिकामा एम्बुलेन्स भए पनि सबै मानिसले एम्बुलेन्सको भाडा तिर्न नसक्ने अवस्था भएकाले निशुल्क एम्बुलेन्स सञ्चालन गर्नुपरेको यसका सञ्चालकहरूले बताएका छन् । 

आँधीखोला गाउँपालिकामा भएको एम्बुलेन्सले मात्र धान्न नसक्ने अवस्था भएकाले र सबै वर्गले एम्बुलेन्सको भाडा तिरेर उपचारका लागि जान समस्या भएकाले कोभिडको सङ्कटमा केही राहत होस् भनेर यस प्रकारको अभियान चालिएको नेपाल तरुण दलका जिल्ला सदस्य तथा एम्बुलेन्स सञ्चालन उपसमिति सदस्य गणेश सुबेदीले बताए । यस्तै खास गरी विपन्न वर्गका बिरामीहरूलाई लक्षित गरेर ल्याइएको एम्बुलेन्सले लगातार सेवा दिइरहेको थाहा पाउँदा आफूलाई खुसी लागेको तरुण दलका जिल्ला अध्यक्ष तथा प्रदेश सभा सदस्य भागवत् प्रकाश मल्लले बताए । 

’नेपाली काङ्ग्रेसमात्र नभएर यस अभियानमा सबै दलका साथीहरुले खुला दिलले सहयोग गर्नुभएको छ, यो मानवीय विषय हो र मानवताका नाताले गर्नुपर्ने कर्तव्य पनि हो ।’ आँधीखोला काङ्ग्रेसका सभापति नारायण प्रसाद पौडेलले भने । उनले भने, ‘हामीले कोभिड सङ्क्रमणको अवस्थालाई हेरेर यसलाई बिस्तार गर्ने उद्देश्य राखेका छौँ ।’ ड्राइभरलाई पिपिइ लगाएर सुरक्षाका साथ एम्बुलेन्स चलाउने वातावरण तयार गरेको र यसले बिरामी भएर अस्पताल नपुगी घरमै बस्दा केही हुने हो कि भन्ने अज्ञात भयबाट मुक्ति दिलाई नागरिकको आत्मबल समेत बढाएको तरुण दल आँधीखोलाका नेता विष्णु पौडेलले बताए । 

आँधीखोला काङ्ग्रेसको समन्वयमा युथ काङ्ग्रेसले गरेको यो अभियानमा आँधीखोलाबाट देश विदेशमा रहेका विभिन्न व्यक्तिहरुले खुला दिलले सहयोग गरेका छन् । राम्रो काम गर्ने हो भने सबैको साथ पाइन्छ भन्ने गतिलो उदाहरण युथ काङग्रेस आँधीखोलले प्रस्तुत गरेको यस अभियानमा विदेशबाट समन्वय गरिरहेका युथ काङ्ग्रेसका नेता सन्तोष श्रेष्ठले बताए । काङ्ग्रेसले सञ्चालन गरेको एम्बुलेन्सले दिन रात नभनी २४ घण्टा नै सेवा दिइरहेको एम्बुलेन्स चालक सूर्यबहादुरले बताए । उनले भने ’राति १ बजे पनि फोन आएर इमर्जेन्सी बिरामीलाई लिन विकट गाउँमा म एम्बुलेन्स लिएर गएको छु । गम्भीर बिरामीलाई अस्पताल पु¥याएर उपचार गरी राम्रो भएपछि फोन गरेर बधाइ दिँदा निकै खुसी लागेको छ। उनले भने, ’कहिले १ बजे उठेर दौडिनुपर्छ, कहिले १२ बजे राति मस्त निद्रामा भएका बेलामा पनि बिरामी सिरियस छ भनेर जानकारी आएपछि उत्तिबेलै एम्बुलेन्स लिएर जानुपरेको छ । उनले थप भने, ’धेरै बिरामीहरु सास फेर्न गाह्रो भएका, केही आकस्मिक दुर्घटना भएका, केही ज्वरोले आत्तिएकालाई उद्धार गरेको छु । अस्पताल नलगेको भए ज्यानै जान सक्ने बिरामीलाई समेत तरुन्तै अस्पतालसम्म पु¥याइएको छ । अरुलाई बचाउँदा आफूलाई पनि अचम्मको खुसी मिल्दो रहेछ ।’


Top