‘व्यापारी’ ले अटेर गर्दा बागलुङमा बढ्यो कोरोना संक्रमण

डम्मर बुढा मगर   POSTED ON : जेठ २३, २०७८ (५:४३ PM)

‘व्यापारी’ ले अटेर गर्दा बागलुङमा बढ्यो कोरोना संक्रमण

 बागलुङ । बागलुङ नगरपालिकामा कोरोना संक्रमणको दर रोकिएको छैन । एक महिनादेखि निषेधाज्ञा जारी गरेर नियन्त्रणमा लागे पनि नागरिकको लापरवाहीका कारण नियन्यत्रण गर्न समस्या परेको नगरपालिकाले जनाएको छ । 

निषेधाज्ञाको प्रभावकारी पालना नगर्नु, कन्ट्रायक टे«सिङमा परेर पनि परीक्षण नगर्दा संक्रमणको संख्या बढ्दै गएको बागलुङ नगर स्वास्थ्य शाखा संयोजक रामप्रसाद खनालले बताउनुभयो । विशेषतः स्थानीय व्यापारीको अटेरी गरेर परीक्षण गर्न आनकानी गर्दा संक्रमण फैलिँदै गएको खनालको भनाई छ । खनालले परीक्षणको लागि आह्वान गर्दा समेत व्यापारीहरु नआउँदा अवस्था थप जटिल बन्न सक्ने जोखिम रहेको बताउनुभयो ।

‘अहिले व्यापारीहरुबाट कोरोना संक्रमण बढी फैलिएको पाइएको छ, उहाँहरुलाई परीक्षण गर्न आउन आग्रह गर्दा पनि मान्नु हुँदैन, परीक्षण नगर्दा गरेनन् भन्नुहुन्छ, गर्नका लागि आग्रह गर्दा आउनु हुन्न, हामीले परीक्षणको लागि मिति तोके पनि उहाँहरु आउनु भएन, यसले गर्दा थप जोखिम बढेको छ, परीक्षण गरे त ढुक्क हुन्थ्यो, संक्रमण फैलिन पाउने थिएन’ खनालले भन्नुभयो ।

बिरामी परेर घरमै बस्ने र स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि मात्रै अस्पतालमा पुग्ने गर्दा अस्पतालमा व्यवस्थापन गर्न समेत समस्यो भएको छ । जसका कारण संक्रमण र मृत्युदर समेत बढेको स्वास्थ्यकर्मी बताउँछन् । समयमै परीक्षण गरे संक्रमण फैलिनबाट रोकिने र मृत्युदर समेत कम हुने खनालको भनाई छ । 

नगरपालिकाले बानपा वडा नम्बर ४ को लुलुङ्गा बस्ती एक हप्ताका लागि सिल गरेको छ । एउटै समुदायमा धेरै संक्रमित एकै पटक थपिए पछि एक हप्ताको लागि सिल गरिएको खनालले जानकारी दिनुभयो । सानो समुदायमा धेरै संक्रमित भएपछि हिँड्डुल गर्न समेत नपाइने गरि सिल गरिएको उहाँको भनाई छ ।

‘वडा नम्बर ४ को लुलुङ्गामा एकै पटक धेरैमा संक्रमण देखिएपछि एक हप्ताको लागि सिल गरिएको छ, हिँड्डुल गर्न समेत रोक लगाइएको छ,’ उहाँले भन्नुभयो ‘हामीले उनीहरुको कन्ट्रयाक ट्रेसिङलाई पनि तीव्र पारेका छौँ, एक हप्ताभर उक्त समुदायलाई निगरानीमा राखेका छौँ ।’

लुलुङ्गा गाउँमा अहिले एक सय बढी संक्रमित रहेको उहाँले जानकारी दिनुभयो । उहाँले नगरपालिकामा संक्रमण रोक्नका लागि सबै प्रकारका प्रयास गरि राखेको भन्दै बजार क्षेत्रबाट गाउँ–गाउँसम्म पनि संक्रमण फैलिएको उहाँको भनाई छ । खनालका अनुसार बागलुङ नगरपालिकामा सबैभन्दा बढी वडा नम्बर २ मा संक्रमित बढी छन् भने वडा नम्बर ८ र ५ मा छन् ।

बागलुङ नगरपालिका वडा नम्बर २ मा वडा नम्बर ३ सय बढी सक्रिय संक्रमित छन् भने वडा नम्बर ८ मा ४३ र वडा नम्बर ५ मा ५२ जना रहेका छन् । बागलुङ नगरपालिकामा हालसम्म १८ सय बढीमा संक्रमण पुष्टि भएको नगरपालिकाले जनाएको छ । 

संक्रमित मध्य अधिकांश होम आइसोलेशन, केही धौलागिरी अस्पता र केही नगरपालिकाले निर्माण गरेको आइसोलेशनमा रहेको खनालले जानकारी दिनुभयो । स्वास्थ्य शाखा संयोजक खनालले संक्रमितहरुको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्यकर्मी उनीहरु भएको ठाउँमा पुग्ने र आवश्यक औषधी वितरण, स्वास्थ्य अवस्था बुझ्ने र परामर्श दिने गरेको बताउनुभयो । 

‘हामी हरेक दिन संक्रमितको घर–घरमा पुगेका छौँ, त्यहाँ पुगेर उनीहरुको अवस्था कस्तो छ ?, बुझ्ने आवश्यक औषधी र परामर्श दिने गरेका छौँ, उनीहरु भएको ठाउँमा पुग्न नसकेको अवस्थामा फोनबाटै भए पनि परार्मश दिइ राखेका छौँ, स्वास्थ्य अवस्था बुझि राखेका छौँ’ खनालले भन्नुभयो  ।


Top