बागलुङकी ९० वर्षीया वृद्धा कोरोना मुक्त

डम्मर बुढा मगर   POSTED ON : जेठ २४, २०७८ (१२:४६ PM)

बागलुङकी ९० वर्षीया वृद्धा कोरोना मुक्त

बागलुङ । कोरोना निको भएपछि बागलुङ नगरपालिका वडा नम्बर १३ पैयूँपाटा, सिम्लेकी ९० वर्षीया तुलसी पौडेल अस्पतालबाट सोमबार घर फर्कनु भएको छ । उहाँलाई धौलागिरि अस्पतालको हाइ डिपेन्डेन्सीयुनिट (एचडियू) शैयामा राखेर उपचार गरिएको थियो ।

कोरोनाको लक्षण देखिएपछि गरिएको एन्टिजेन्ट परीक्षणमा गत जेठ ९ गते उहाँलाई संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य स्थिति खराब बन्दै गएपछि उहाँ जेठ १३ गते धौलागिरी अस्पतालमा भर्ना गरिएको थियो ।

एघार दिनसम्मको चिकित्सकीय निगरानी र उपचारपछि पौडेललाई स्वास्थ्य लाभ मिलेको हो । स्वास्थ्यमा सुधार आएपछि ‘डिस्चार्ज’ गरिएको अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखेरलले बताउनुभयो ।

अस्पताल पुग्दा उहाँको शरीरमा अक्सिजनको मात्रा घटेर ७६ मापुगेको थियो, पखाला, ज्वरोसहितका कडाल क्षण थिए, श्वासप्रश्वासमा समस्या थियो । ‘उहाँलाई एचडियूमा अक्सिजन दिएर उपचार ग¥र्यौँ, त्यो उमेरमा पनिचाँडै सुधार भयो, यसलाई राम्रो मान्नुपर्छ’ प्रमुख चिकित्सक पोखरेलले भन्नुभयो ।

पौडेलले यसअघि उच्च रक्तचाप र नशा सम्बन्धी रोगको औषधी सेवन गर्दै आएपनि कुनै गम्भीर खालको स्वास्थ्य समस्या भने थिएन । सोही वडाको ठूला खेतमा छोरासँग बस्दै आउनु भएकी पौडेल परिवारका अन्य सदस्य बिरामी पर्न थालेपछि संक्रमणको जोखिमबाट बच्न जेठ ४ गते सिम्लेमा बस्ने अर्का छोरासँग बस्न थाल्नुभएको थियो ।

उहाँलाई त्यहाँ पनि कोरोनाले छाडेन । संक्रमणपछि केही दिन घरमै एकान्तबासमा बस्नुभएकी पौडेललाई जेठ १२ गते राति एक्कासी श्वासप्रश्वासमा समस्या भएपछि एम्बुलेन्समार्फत तुरुन्त धौलागिरि अस्पताल ल्याइएको थियो ।

बेलैमा स्तरीय उपचार पाएका कारण आमालाई बचाउन सकिएको छोरा चन्द्रप्रसादले बताउनुभयो । ‘अस्पतालमा राम्रो उपचार, हेरचाह भयो, चिकित्सकले पनि पूरा समय दिएर हेर्नुभयो’, उहाँले भन्नुभयो, ‘कुनै पनि दिन आमाले खाना कम गर्नु भएन, दूध नियमित सेवन गर्नु भयो, यसले पनि छिटो निको हुन सघायो कि?’

कोरोनाको दोस्रो लहरबीच जिल्लामा सक्रिय संक्रमितको संख्या ९८५ छ । कोरोनाका कारण हालसम्म ४५ जनाले ज्यान गुमाएका छन् । पछिल्ला दिनमा गम्भीर प्रकृतिका संक्रमितको चाप कम हुँदै गएको अस्पतालले जनाएको छ । बजारदेखि गाउँसम्म कोरोना संक्रमण फैलिएपछि यहाँका सबै स्थानीय तहले नियन्त्रण का लागि प्रयासहरु गरि राखेका छन् ।

पछिल्लो एक हप्तामा जिल्लामा संक्रिय संक्रमितको संख्या घट्दै गएको छ । अघिल्लो सातको एघार सय बढी सक्रिय संक्रमित रहेकोमा अहिले घटेर ९८५ मापुगेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।


Top