स्याङ्जाको भीरकोटमा मिनी अक्सिजन प्लान्ट निर्माण

युवराज पौडेल   POSTED ON : जेठ २५, २०७८ (९:२१ AM)

स्याङ्जाको भीरकोटमा मिनी अक्सिजन प्लान्ट निर्माण

स्याङ्जा । राष्ट्रिय आविष्कार केन्द्र नेपाल र भीरकोट नगरपालिकाको संयुक्त लगानीमा भीरकोटमा मिनी अक्सिजन प्लान्ट निर्माण गरिएको छ । कोरोना सङक्रमणको महामारीमा सङक्रमितलाई अक्सिजनको आवश्यकतालाई मध्यनजर गरेर आविष्कार केन्द्र र भीरकोट नगरपालिकाको संयुक्त लगानीमा मिनीअक्सिजन प्लान्ट निर्माण गरिएको हो । सोमबार एक कार्यक्रमका बिच आविष्कारको टोलीले नगर प्रमुख छायाराम खनाललाई उक्त प्लान्ट हस्तान्तरण गरेको छ । एक पटक १२ जनालाई अक्सिजन दिन मिल्ने गरी निर्माण गरिएको प्लान्ट करिव २० लाखको लागतमा सम्पन्न भएको नगरप्रमुख खनालले बताउनु भएको छ । 

नेपालमै पहिलो पटक परीक्षणका रुपमा राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेको यो प्लान्ट सफल भएको बताइएको छ । राष्ट्रिय आविष्कार केन्द्रका मेकानिकल इन्जिनियर रितेश देवले काठमाण्डौमा यसको अनुसन्धान गरेको प्लानलाई भीरकोट नगर अस्पतालमा परिक्षण गर्दा सफलता हासिल गरेको बताउनु भयो । अब नेपालले अक्सिजन उत्पादनमा कुनै समस्या झेल्न नपर्ने बताउँदै इन्जिनियर देवले देशका जुनसुकै भागमा यो प्लान्ट निर्माण गर्न सकिने बताए । लागतको रुपभने फरक फरक हुने भन्दै इन्जिनियर देवले अहिले सम्म गरेको अनुसन्धानले २५ देखि ३० जना सम्मलाई यो प्लान्टले एकै पटक अक्सिजन दिन सकिने गरी बनाउन मिल्ने बताउनु भयो । 

अहिले भीरकोटमा एक मिनेटमा १२ जनालाई ५, ५ लिटरका दरले अक्सिजन दिन मिल्ने उनको भनाई छ । यसका लागि ७ वटा अक्सिजन जेनेरेटर जडान गरिएको छ ।  १० लिटर अक्सिजन उत्पादन गर्ने ६ ओटा र ५ लिटर अक्सिजन उत्पादन गर्ने १ गरी ७ ओटा अक्सिजन जेनेरेटरले एक मिनटमा ६५ लिटर अक्सिजन उत्पादनहुने उनले जानकारी दिनु भयो । अविष्कारका १० जना टोलीले दुईदिनमै यो प्लान्ट बनाउन सफल भएका छन् । अहिले निर्माण भएको मिनी अक्सिजन प्लान्ट विद्युत अवरुद्ध भए पनि दुईघण्टा सम्म काम गर्ने क्षमताको रहेको छ । 

भीरकोट नगरप्रमुख खनालले राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुनको पहलमा भीरकोटमा अक्सिजन प्लान्ट निर्माण हुनु स्याङ्जाका लागि मात्र नभएर देशकै लागि खुसीको विषय भएको बताउनु भयो । जुनसुकै पालिकाका नागरिकले सेवा लिन पाउने बताउदै नगर प्रमुख खनालले यो प्लान्ट सफल भएमा ९८ शैया रहेको अस्पतालमा सबै शैयामा पुग्ने गरी प्लान्ट बढाउन सकिने बताए । जिल्लामा अक्सिजनको आवश्यकता परेका बिरामी पोखरा रिफर गर्दै आएको थियो । 

गण्डकी प्रदेश नेपाली काँग्रेसका संसदीय दलका उपनेता मेखलाल श्रेष्ठले स्थानीय सरकारको पहलमा बनेको यो प्लान्टको स्वागत गरेका छन् । यो महामारीमा राजनीति भन्दामाथि उठेर सेवाभाव गर्नुपर्ने बताउदै प्रदेश सांसद श्रेष्ठले संघिय सरकार र प्रदेश सरकारले यो प्लान्टका लागिआर्थिक सहयोग गर्न आग्रह गर्नु भयो । 

हस्तान्तरण कार्यक्रममा वालिङ नगर उपप्रमुख कल्पना तिवारी, अर्जुनचौपारी गाँउपालिका प्रमुख दिर्घनारायण अर्याल, अस्पताल संचालक समितिका अध्यक्ष तोयनाथ अर्याल, भीरकोट नगरका प्रवक्ता दिपेन्द्र क्षेत्री, प्रमुख प्रशासकिय अधिकृत खुमलाल भुषाल, नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल, भीरकोट नगरपालिकाका योजना शाखा प्रमुख यामप्रसाद रेग्मीलगायतका बक्ताहरुले यो महामारीमा भीरकोट नगरपालिकाले मिनी अक्सिजन प्लान्ट निर्माण गरेकोमा धन्यवाद दिएका थिए । 


Top