विपक्षीलाई मनाङेको साथ, पोखरेल मुख्यमन्त्री बन्ने सम्भावना

  POSTED ON : जेठ २७, २०७८ (९:३७ AM)

विपक्षीलाई मनाङेको साथ, पोखरेल मुख्यमन्त्री बन्ने सम्भावना

गण्डकी सरकारका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले सरकार पक्षको साथ छोडेर विपक्षलाई साथ दिने बताउनु भएको छ । प्रदेशसभा विघटन हुने देखेपछि युवा तथा खेलकुदमन्त्री मनाङेले सरकारको साथ छोड्नु भएको हो । विपक्षी गठबन्धनको तर्फबाट फ्लोर क्रस नभए कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बन्ने सम्भावना देखिएको हो । ६० सदस्यीय प्रदेशसभामा मनाङेले साथ दिने बताएपछि विपक्षी गठबन्धनको पक्षमा ३१ अर्थात् सरकार बनाउन बहुमत पुगेको छ । यसअघि मनाङेले मुख्यमन्त्री गुरूङ नेतृत्वको सरकारलाई समर्थन गरेवापत युवा तथा खेलकुद मन्त्री हुनु भएको थियो । 

मुख्यमन्त्री गुरूङले आज १२ बजेपछि संसदबाट विश्वासको मत लिनु हुँदै छ । यसैबीच, गण्डकी प्रदेशका चारवटै विपक्षी दलले आफ्ना सांसदलाई मुख्यमन्त्रीको विपक्षमा मत हाल्न ह्वीप जारी गरेका छन् । बुधबार कांग्रेस, माओवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले मुख्यमन्त्री गुरूङको विपक्षमा मत हाल्न ह्वीप जारी गरेका हुन् । सबै दलको आ–आफ्नै संसदीय दलमार्फत ह्वीप जारी भएको माओवादी सांसद दीपक कोइरालाले जानकारी दिनुभयो ।

Top