मन्त्री मनाङे प्रदेशसभा बैठकमा अनुपस्थित

  POSTED ON : जेठ २७, २०७८ (१:३२ PM)

मन्त्री मनाङे प्रदेशसभा बैठकमा अनुपस्थित

काठमाडौं । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) प्रदेशसभा बैठकमा अनुपस्थित हुनु भएको छ ।

गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिने प्रयोजनका लागि बसिरहेको प्रदेश सभा बैठकमा मनाङे अनुपस्थित हुनु भएको छ । मुख्यमन्त्री गुरुङको विपक्षमा रहने बताएका मनाङे बुधबार रातिदेखि सम्पर्कविहीन हुनु भएको हो ।

६० सदस्यीय प्रदेशसभामा मनाङेले साथ दिए विपक्षी गठबन्धनको पक्षमा ३१ अर्थात् सरकार बनाउन बहुमत पुग्ने अवस्था रहेको थियो । यो सँगै गण्डकी प्रदेशसभा विगठन हुने खतरा बढेको छ । यसअघि मनाङेले मुख्यमन्त्री गुरूङ नेतृत्वको सरकारलाई समर्थन गरेवापत युवा तथा खेलकुद मन्त्री हुनु भएको थियो । 

मुख्यमन्त्री गुरूङले आज १२ बजेपछि संसदबाट विश्वासको मत लिनु हुँदै छ । यसैबीच, गण्डकी प्रदेशका चारवटै विपक्षी दलले आफ्ना सांसदलाई मुख्यमन्त्रीको विपक्षमा मत हाल्न ह्वीप जारी गरेका छन् । बुधबार कांग्रेस, माओवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले मुख्यमन्त्री गुरूङको विपक्षमा मत हाल्न ह्वीप जारी गरेका हुन् । सबै दलको आ–आफ्नै संसदीय दलमार्फत ह्वीप जारी भएको माओवादी सांसद दीपक कोइरालाले जानकारी दिनुभयो ।

Top