गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त, के छ नयाँ सरकार गठनका लागि विकल्प ?

अनि हुन सक्छ प्रदेशसभा विघटन !

हिमालय टाइम्स   POSTED ON : जेठ २८, २०७८ (६:२५ AM)

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त, के छ नयाँ सरकार गठनका लागि विकल्प ?

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशसभाबाट विश्वासको गुमाउनुभएको छ । गत वैशाख २९ गते नेपालको संविधानको धारा १६८ (३) अनुसार सबैभन्दा ठूलो दलको नेताका आधारमा मुख्यमन्त्री चयन हुनुभएका गुरुङले विश्वासको मत गुमाएसँगै पदमुक्त हुनुभएको छ । नियुक्ति पाएको ३० दिनभित्र विश्वासको मत लिनैपर्ने प्रावधान वैधानिक प्रावधानअनुसार उहाँले बिहीबार मत लिने निर्णय गर्नुभएको थियो ।

बिहीबार प्रदेशसभामा भएको मतदानमा गुरुङको प्रस्तावको पक्षमा २७ मत मात्रै प¥यो । ६० जना प्रदेशसभा सदस्य रहेको गण्डकीमा बहुमतका लागि ३१ मत आवश्यक हुन्छ । तर, उहाँको पक्षमा २७ मत मात्रै खस्यो । गुरुङ नेतृत्वको सरकारमा सहभागी राजीव गुरुङ (दीपक मनाङे)ले पनि मत दिनुभएन । यस्तै, प्रस्तावको विपक्षमा ३० मत खसेको छ । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको मत गुरुङको विपक्षमा परेको थियो ।

संसद्मा जम्मा उपस्थित सांसद संख्या ५८ रहेको थियो । सभामा उपस्थित भएकामध्ये राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ बस्नुभएको थियो ।

नयाँ सरकार गठनका लागि अन्तिम विकल्प !

मुख्यमन्त्री गुरुङले प्रदेशसभामा विश्वास गुमाएसँगै अब नयाँ सरकार गठनको अन्तिम विकल्प बाँकी रहेको छ । प्रदेशसभामा अब १६८ (५) अनुसार प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्थाअनुसार सरकार गठनका लागि प्रक्रिया आरम्भ हुनेछ ।

१६८(३) अनुसार नियुक्त मुख्यमन्त्री गुरुङ पदमुक्त भएसँगै १६८(५) अनुसार नयाँ सरकार गठनको बाटो खुलेको हो ।

उपधारा ५ मा भनिएको छ, उपधारा ३ बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नेछ ।’ 

विपक्षी गठबन्धनले कांग्रेस संसदीय दलको नेता कृष्णचन्द्र नेपाली पोखरेललाई समर्थन गरी बहुमतको दाबी गर्ने तयारीमा छन् । विपक्षी गठबन्धनका नेता पोखरेलले दाबी गर्ने तयारी गरे पनि विश्वासको मत पाउन सक्ने ग्यारेण्टी भने छैन । जनमोर्चाका सांसद थापा तटस्थ बसेसँगै विपक्षी गठबन्धनको सरकार बनाउन एक मत कम हुने भएको हो । यद्यपि, स्वतन्त्र सांसद राजीव गुरुङले बहुमत पु¥याउन सक्ने आधार भएको नेतालाई समर्थन गर्ने बताउनुभएको छ । उहाँले पोखरेललाई मत दिने ग्यारेण्टी भएमा सरकार गठन हुनेछ । उहाँले साथ दिएमा मुख्यमन्त्री नियुक्तका लागि चाहिने ३१ मत विपक्षी गठबन्धनसँग पुग्छ ।

अनि हुन सक्छ प्रदेशसभा विघटन ! 

संघीय राजनीतिमा संकट देखिएपछि त्यसको असर प्रदेशहरूमा पनि परिरहेको छ । अहिले प्रदेश नम्बर १ र बागमती प्रदेशबाहेकका प्रदेशहरूमा सत्ता समीकरण परिवर्तन भइरहेको छ । बिहीबार गण्डकीमा मुख्यमन्त्री गुरुङले विश्वासको मत नपाए पदमुक्त भएपछि प्रदेशसभा विघटनको आशंका पनि बढेको छ । प्रदेश प्रमुखको आह्वानअनुसार कुनै प्रदेशसभा सदस्यले आफ्नो पक्षमा बुहमत पु¥याउन सक्ने आधार प्रस्तुत भएपछि नयाँ सरकार गठन हुनेछ । तर, प्रदेशसभाको भविष्य प्रदेश प्रमुखको भूमिकामा भर पर्ने विश्लेषण पनि हुन थालेको छ ।

वरिष्ठ अधिवक्ता ओमप्रकाश अर्याल संविधानको धारा १६८(५) अनुसार नयाँ सरकार गठनका लागि बाटो खुलेको र प्रदेशसभामा कुल सदस्यमध्ये ३१ जनाको बुहमत पुग्ने आधार भएका व्यक्तिले दाबी गर्न सक्ने बताउनुहुन्छ । तर, प्रदेश प्रमुखको भूमिकाले पनि प्रदेशसभाको भविष्य निर्धारण गर्ने उहाँले बताउनुभयो । सरकार गठनका लागि कम समय दिने र विपक्षीले दाबी गर्न सक्ने अवस्था नभएमा वा बहुमतको आधार नपुग्ने अवस्थामा सभा विघटन भएर निर्वाचन घोषणा हुनसक्छ । 

यसअघि नै प्रदेश सरकार संकटमा रहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकट व्यक्तिलाई प्रदेश प्रमुखमा नियुक्त गरेपछि प्रदेश प्रमुखको भूमिकामाथि आशंका पनि बढेको हो । 

तर, प्रदेशसभामा राजीव गुरुङले विपक्षीलाई साथ दिने अवस्था रहेमा वा सभामुखले राजीनामा दिएर आएमा वा जनमोर्चाका सबै सांसदले सघाउने अवस्था रहेमा भने सरकार बन्न सक्छ । एमालेले भने विपक्षीलाई सरकार बनाउन नदिन आफ्नो चाल भने चाल्ने नै देखिन्छ ।

प्रदेशसभामा कुल ६० जना सांसद छन् । जसमध्ये सरकार बनाउनका लागि आवश्यक बहुमत पु¥याउन ३१ सांसदको समर्थन चाहिन्छ । एमालेका २७ सांसद छन् । कांग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२, जनता समाजवादी पार्टी (जसपा) का २, राष्ट्रिय जनमोर्चाका तीन र दीपक मनांगे स्वतन्त्र सांसद हुनुहुन्छ । सरकार निर्माणमा तीन सिट भएको जनमोर्चा निर्णायक भए पनि कृष्ण थापाले कांग्रेसलाई समर्थन नगर्ने अडान लिनुभएको छ । यस्तो अवस्थामा सरकारमा मन्त्री रहनुभएका मनांगे कता लाग्नुहुन्छ भन्नेले अर्थ राख्छ । 


Top