21st June | 2021 | Monday | 12:58:28 PM

बाढीले बस्ती जोखिममा परेपछि दलित परिवारको बिचल्ली

डम्मर बुढा मगर   POSTED ON : जेठ २८, २०७८ (७:४० PM)

बाढीले बस्ती जोखिममा परेपछि दलित परिवारको बिचल्ली

 बागलुङ । बाढीका कारण विस्तापित बनेका बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर ७ टुनिबोटका दलित परिवारको बिचल्ली भएको छ । बुधबार राति वर्षाका कारण घरमाथिदेखि भलसहित आएको बाढीले टुनिबोटका आठ घर परिवार विस्थापित भएका थिए । 

विस्थापित भएका स्थानीय मन बहादुर दमाई, नर बहादुर दमाई, खिम बहादुर दमाई, नवीन दमाई, गम्मर सिङ गुरुङ, भुपाल गुरुङ, शेर बहादुर रोका र नर बहादुर गुरुङको घर बाढीले बस्नै नमिल्ने गरि क्षति पु¥याएको छ ।

विस्थापित भएका गम्मर सिङ गुरुङ, भुपाल गुरुङ, शेर बहादुर रोका र नर बहादुर गुरुङ आफन्तकोमा आश्रय लिएका छन् भने अन्य चार परिवार गाउँको खाली गोठमा छन् । विस्थापित चार दलित परिवारको अन्य कुनै जायजेथा नभएको बडिगाड गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष कृष्ण गुरुङले जानकारी दिनुभयो ।

अन्य चार परिवारलाई भने धेरै समस्या नपर्ने उहाँको भनाई छ । बाढीले घरमा बस्नै नमिल्ने गरि क्षति पु¥याएपछि गाउँको खाली गोठमा बसेको नरबहादुर दमाईले आफूहरुको घरबाहे अरु सम्पत्ति नभएको भन्दै दुखेसो पोख्नु भयो । वर्षाको समयमा गतिलो ओतमा बस्नु पर्ने बेला गाउँकालेको आश्रय लिनु परेको उहाँ बताउनुहुन्छ ।

‘हाम्रो अरु केही सम्पत्ति छैन, गरि खाने जग्गाद जमिन पनि छैन भएको यही घर मात्रै हो, घर पनि बाढीले बस्नै नमिल्ने गराई दियो, हामीमाथि त दैव लाग्यो’ उहाँले भन्नुभयो ‘अब अर्को घर बनाउन भने पनि थातथलो छैन, अरुको गोठमा बसेर कति दिन पुग्छ र ?’

अर्का पीडित खिमबहादुर दमाईले साँझ विहानको छाक जसोतसो टार्नै मुस्किले परेका बेला घरनै जोखिममा परेपछि आफूहरुले बिचल्ली भएको बताउनुहुन्छ । उहाँले काम नगरि खान नपुग्ने भन्दै अब घर कसरी बनेउने भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

‘विहान बेलुकीको छाक टार्न धौ–धौ भएको बेला, यस्तो विपद् आई लाग्यो, अब कसरी बाँच्ने, बस्ने खाने नै नभएपछि कसरी बाँच्न सकिएला र ?’ दमाईले भन्नुभयो ‘घर बनाउने जग्गा जमिन समेत छैन, भएको घरको हालत यस्तो भयो, हामी जस्तो दुःखी पीडितलाई खै कसले सहयोग गर्छ ?’

वडा अध्यक्ष गुरुङले उनीहरुको अरु सम्पत्ति केही नभएको भन्दै उनीहरुको व्यवस्था राज्यले गर्नु पर्ने बताउनुभयो । गुरुङले हाललाई गाउँमा छिमेकीहरुसँग सरसल्लाह गरेर खाली गोठ तथा घरमा व्यवस्थापन गरेको भन्दै उनीहरुको दीर्घकालीन व्यवस्थापनमा राज्यले नै ध्यान दिनु पर्ने बताउनुहुन्छ ।

‘पीडित मध्ये चार दलित परिवारको अवस्था निकै दयनीय छ, उनीहरुको अरु जग्गा जमिन पनि केही छैन, भएका यिनै घरहरु हुन्, घर पनि बाढीले क्षति पु¥याएपछि उनीहरुको अवस्था निकै पीडादायक बनेको छ,’ अध्यक्ष गुरुङले भन्नुभयो ‘अहिले त गाउँका खाली गोठ तथा घरमा व्यवस्थापन गरेका छौँ, अन्य आफन्तकोमा बस्नु भएको छ, वर्षातको समय छ, अन्य ठाउँमा व्यवस्थापन गर्न सक्ने अवस्था पनि छैन, उहाँहरुको उचित व्यवस्थापनको लागि हामीले पालिकामा पनि खबर गरेका छौँ, केन्द्र र प्रदेश सरकारको पनि तत्तकाल ध्यान जान जरुरी छ ।’ 

त्यस बस्तीभन्दा माथि सडक लैजाने क्रममा स्थानीय उपभोक्ताहरुले लापरवाही रुपमा सडक खन्दा यस्तो समस्या उत्पन्न भएको अध्यक्ष गुरुङको भनाई छ । घरहरु बाढीको उच्च जोखिममा पर्नुको कारण भित्रेनी गोथान मोटरबाटो हो । बिना इन्जिनियरी सडक निर्माणले यहाँका अन्य बस्तीहरु पनि जोखिममा पर्ने सक्ने स्थानीयको भनाई छ ।

यस स्थानसँगै बडिगाड गाउँपालिका अन्य केही गाउँहरु पनि बाढी तथा पहिरोको जोखिममा रहेको स्थानीय बताउँछन् । स्थानीय सरकारले विकासको रुपमा मोटरबाटोलाई प्राथमिकता दिनु र जथाभावी रुपमा सडक खन्नुले गाउँपालिकका अन्य स्थानमा पनि बस्तीहरु जोखिममा परेको बताइएको छ । 

बाढीले क्षति ग्रस्त दलित बस्ती । तस्विर : हिमालय टाइम्स


Views: 75