अविरल वर्षासँगै स्याङ्जाको भालुपहाडमा पहिरो : यात्रु त्रासमा

युवराज पौडेल   POSTED ON : जेठ ३०, २०७८ (१२:२५ PM)

अविरल वर्षासँगै स्याङ्जाको भालुपहाडमा पहिरो : यात्रु त्रासमा

स्याङ्जा । स्याङ्जा जिल्लाको फेदीखोला गाउँपालिका वडा नं. २ मा रहेको भालुपहाडमा हिजोदेखि परेको अविरल वर्षाका कारण पहिरो गएको छ । आज बिहान ६ ः ३० बजे गएको पहिरोले सडक पूर्ण रुपमा अवरुद्ध भएपछि सडक विभागसँग समन्वय गरी पहिरो पन्छाउने काम भएको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले  जानकारी दिनुभयो ।

हिजो रातिदेखि परेको अविरल वर्षासँगै माथिबाट खसेको पहिरो सिद्धार्थ राजमार्गमा परेर बाटो पुरिएको हो । यहाँको घुम्तीमा बाटो साँगुरो भएकाले बाटो फराकिलो बनाउने भन्दै लामो समयदेखि कटिङ भइरहेको थियो । कटिङका क्रममा त्यहाँ निकै लामो समयसम्म यात्रुहरु जाममा बस्नुपरेको थियो । यात्रुहरुले सास्ती पाएको भन्दै विभिन्न सञ्चार माध्यममा समेत चर्चा भएको थियो । 

‘हिजो बेलुकैदेखि ढुङ्गा खस्न थालेको छ । बिहानपख ठूलो पहिरो नै गएको छ । योजनाविनाको सडक खनाइका कारण यसमा अझै समस्या देखिन सक्छ ।’ एक स्थानीयले बताए । ‘पानी रोकिएको बेलामा समेत माथिबाट ढुङ्गा खसिरहेकाले कतिबेला कुन सवारीको साधनमा क्षति हुन्छ भन्न सकिँदैन ।’ एक यात्रुले भने । धेरैले अव्यवस्थित योजना र दूरदृष्टिको अभावका कारण दोस्रो सिद्धबाबा बन्ने आशङ्का व्यक्त गरेका छन् भने कतिपयले यहाँ यात्रा गर्दा कृष्णभीरको स्मरण भएको टिप्पणी गरेका छन् । 

भालु पहाड स्याङ्जाको महत्वपूर्ण प्राकृतिक सम्पदा मानिन्छ । यो पहाडको बिचमा सिद्धार्थ राजमार्ग पर्दछ । यसलाई पर्यटकीय गन्तव्य बनाउने भन्दै विभिन्न कामहरू भइरहेका छन् । यहाँ पिकनिक खान तथा तस्विरहरू खिच्न टाढाटाढाबाट मानिसहरु आउने गर्दछन् । यहाँका दृश्यहरु नेपाली गीत सङ्गीतका म्युजिक भिडियो तथा नेपाली सिनेमाहरूमा देखिन्छन् । 


Top