इन्जिनियर र ठेकेदारको कारण विकास निर्माणमा ढिलासुस्ती र भ्रष्टाचार : नवनियुक्त मन्त्री मनाङे

युवराज पौडेल   POSTED ON : जेठ ३०, २०७८ (१:१४ PM)

इन्जिनियर र ठेकेदारको कारण विकास निर्माणमा ढिलासुस्ती र भ्रष्टाचार : नवनियुक्त मन्त्री मनाङे

पोखरा । इन्जिनियर र ठेकेदारको कारण विकास निर्माणमा ढिलासुस्ती र भ्रष्टाचार हुने गरेको नवनियुक्त मन्त्री दीपक मनाङेले बताउनु भएको छ । शपथ ग्रहणपछि पत्रकारहरुसँग बोल्दै मनाङेले इन्जिनियर मिटिङमै नआउने र मन्त्रीले नै इन्जिनियरलाई मिटिङबाट भगाएर बजेट फ्रिज गराउने गरेको बताउनु भएको हो । 

उहाँले पृथ्वीसुब्बा गुरुङ व्यक्तिगत रुपमा नरम र सकारात्मक मान्छे भए पनि खराब मान्छेहरुको घेराबन्दीमा परेकाले समस्यामा परेको बताउनु भयो । उहाँले आफू सरकारमा गएपछि जताततै भ्रष्टाचार र खराबीमात्रै देखेकोले त्यो सरकारमा आफू बस्दा आफू पनि डुब्ने ठानेर बाहिर आउन खोजिरहेको र अझ संसद नै भङ्ग गर्ने कुरा आउन थालेपछि आफूले राजीनामा दिएको बताउनु भयो ।

उहाँले जताततै खराब र भ्रष्टहरुको झुन्ड गुरुङ सरकारमा भएकाले आफूले त्यहाँ भ्रष्टाचारमात्र देखेको भन्दै अबको सरकारले पनि भ्रष्टाचार ग¥यो भने आफू सरकारमा नबस्ने बताउनु भयो । उहाँले जताततै सेटिङमा काम गर्ने र खराब मान्छेलाई पार्टीको मान्छे भन्दै सिफारिस गर्ने प्रवृत्तिका कारण सरकारले जनताको पक्षमा काम गर्न नसकेको बताउनु भयो । उहाँले केही ठेकेदारको नाम उल्लेख गर्दै यिनीहरुकै कारण गुरुङ सरकार फँसेको बताउनु भयो ।

मन्त्री मनाङेले  गठबन्धनको सरकार बन्नुमा नेपाली कांग्रेसका युवा नेता भागवत् प्रकास मल्ल र जसपाकी नेतृ धनमाया लामाको ठूलो हात रहेको बताउनु भयो । उहाँले आफूले कुनै औपचारिक मिटिङमा सरकार बनाउने विषयमा छलफल नगरेको बरु काङ्ग्रेसका नेता मल्लसँग निरन्तर अनौपचारिक कुराकानी गरेको बताउनु भयो । उहाँले युवा तथा खेलकुद मन्त्रालय युवालाई दिनुपर्ने भन्दै त्यसका लागि भागवत् प्रकाश मल्ल सबैभन्दा उपयुक्त हुने बताउनु भयो । 


Views: 273

Top