बस्ती जोखिममा परेपछि दलित परिवारको बिचल्ली

डम्मर बुढा मगर/बागलुङ   POSTED ON : असार १, २०७८ (७:२८ AM)

बस्ती जोखिममा परेपछि दलित परिवारको बिचल्ली

बाढीका कारण विस्थापित बनेका बागलुङको बडिगाड गाउँपालिका-७ टुनिबोटका दलित परिवारको बिचल्ली भएको छ । बुधबार राति वर्षाका कारण घरमाथिदेखि भलसहित आएको बाढीले टुनिबोटका आठ घर परिवार विस्थापित भएका थिए । 

विस्थापित भएका स्थानीय मनबहादुर दमाईं, नरबहादुर दमाईं, खिमबहादुर दमाईं, नवीन दमाईं, गम्मर सिंह गुरुङ, भुपाल गुरुङ, शेरबहादुर रोका र नरबहादुर गुरुङको घर बाढीले बस्नै नमिल्ने गरी क्षति पु¥याएको छ ।

विस्थापित भएका गम्मर सिंह गुरुङ, भुपाल गुरुङ, शेरबहादुर रोका र नरबहादुर गुरुङको परिवार आफन्तकोमा आश्रय लिएका छन् भने अन्य चार परिवार गाउँको खाली गोठमा छन् । विस्थापित चार दलित परिवारको अन्य कुनै जायजेथा नभएको बडिगाड गाउँपालिका-७ का अध्यक्ष कृष्ण गुरुङले जानकारी दिनुभयो ।

अन्य चार परिवारलाई भने धेरै समस्या नपर्ने उहाँको भनाइ छ । बाढीले घरमा बस्नै नमिल्ने गरी क्षति पुर्‍याएपछि गाउँको खाली गोठमा बस्नुभएका नरबहादुर दमाईंले आफूहरूको घरबाहेक अरू सम्पत्ति नभएको भन्दै दुखेसो पोख्नुभयो । वर्षाको समयमा गतिलो ओतमा बस्नुपर्ने बेला गाउँलेको आश्रय लिनु परेको उहाँ बताउनुहुन्छ ।

‘हाम्रो अरू केही सम्पत्ति छैन, गरिखाने जग्गा जमिन पनि छैन भएको यही घर मात्रै हो, घर पनि बाढीले बस्नै नमिल्ने गराइदियो, हामीमाथि त दैव लाग्यो’ उहाँले भन्नुभयो, ‘अब अर्को घर बनाउन भने पनि थातथलो छैन, अरूको गोठमा बसेर कति दिन पुग्छ र ?’

अर्का पीडित खिमबहादुर दमाईंले साँझ बिहानको छाक जसोतसो टार्नै मुस्किल परेका बेला घर नै जोखिममा परेपछि आफूहरूको बिचल्ली भएको बताउनुहुन्छ । उहाँले काम नगरी खान नपुग्ने भन्दै अब घर कसरी बनाउने भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

‘बिहान बेलुकीको छाक टार्न धौ-धौ भएको बेला, यस्तो विपद् आइलाग्यो, अब कसरी बाँच्ने, बस्ने खाने नै नभएपछि कसरी बाँच्न सकिएला र ?’ दमाईंले भन्नुभयो, ‘घर बनाउने जग्गा जमिनसमेत छैन, भएको घरको हालत यस्तो भयो, हामी जस्तो दुःखी पीडितलाई खै कसले सहयोग गर्छ ?’

वडा अध्यक्ष गुरुङले उनीहरूको अरू सम्पत्ति केही नभएको भन्दै उनीहरूको व्यवस्था राज्यले गर्नुपर्ने बताउनुभयो । गुरुङले हाललाई गाउँमा छिमेकीहरूसँग सरसल्लाह गरेर खाली गोठ तथा घरमा व्यवस्थापन गरेको भन्दै उनीहरूको दीर्घकालीन व्यवस्थापनमा राज्यले नै ध्यान दिनुपर्ने बताउनुहुन्छ ।

‘पीडितमध्ये चार दलित परिवारको अवस्था निकै दयनीय छ, उनीहरूको अरू जग्गा जमिन पनि केही छैन, भएका यिनै घरहरू हुन्, घर पनि बाढीले क्षति पु¥याएपछि उनीहरूको अवस्था निकै पीडादायक बनेको छ,’ अध्यक्ष गुरुङले भन्नुभयो, ‘अहिले त गाउँका खाली गोठ तथा घरमा व्यवस्थापन गरेका छौँ, अन्य आफन्तकोमा बस्नुभएको छ, वर्षातको समय छ, अन्य ठाउँमा व्यवस्थापन गर्न सक्ने अवस्था पनि छैन, उहाँहरूको उचित व्यवस्थापनको लागि हामीले पालिकामा पनि खबर गरेका छौँ, केन्द्र र प्रदेश सरकारको पनि तत्काल ध्यान जान जरुरी छ ।’ 

त्यस बस्तीभन्दा माथि सडक लैजाने क्रममा स्थानीय उपभोक्ताहरूले लापरबाही रूपमा सडक खन्दा यस्तो समस्या उत्पन्न भएको अध्यक्ष गुरुङको भनाइ छ । घरहरू बाढीको उच्च जोखिममा पर्नुको कारण भित्रेनी गोथान मोटरबाटो हो । बिना इञ्जिनियरिङ सडक निर्माणले यहाँका अन्य बस्तीहरू पनि जोखिममा पर्नेसक्ने स्थानीयको भनाइ छ ।

यस स्थानसँगै बडिगाड गाउँपालिका अन्य केही गाउँहरू पनि बाढी तथा पहिरोको जोखिममा रहेको स्थानीय बताउँछन् । स्थानीय सरकारले विकासको रूपमा मोटरबाटोलाई प्राथमिकता दिनु र जथाभावी रूपमा सडक खन्नुले गाउँपालिकाका अन्य स्थानमा पनि बस्तीहरू जोखिममा परेको बताइएको छ । 


Views: 95

Top