बागलुङमा पहिरोका कारण तीन घर विस्थापित

डम्मर बुढा मगर   POSTED ON : असार १, २०७८ (११:१६ AM)

बागलुङमा पहिरोका कारण तीन घर विस्थापित

बागलुङ । निरन्तर वर्षाका कारण सडक भासिँदा बागलुङको काठेखोला गाउँपालिकामा तीन घर विस्थापित भएका छन् । काठेखोला गाउँपालिका वडानम्बर ७ रेशमा सडक भासिँदा गएको पहिरोका कारण तीन घर विस्थापित भएका हुन् । 

जिल्ला सदरमुकाम हुँदै रेश जोड्ने सडकको जिरेदी भन्ने स्थानमा सडक भासिँदा सडकमाथि र सडकमुनी का तीन घर विस्थापित भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव निरीक्षक तथा सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो । रेश जोड्ने कच्ची सडक भासिएर तीनवटा घर उच्च जोखिममा परेको र अहिले सडकमा निरन्तर पहिरो खसिरहेको हवारीले बताउनुभयो । सडकमाथिका कृष्णजिसी, बल बहादुर जिसी र सडकमुनीको चित्रबहादुर कार्कीको घर उच्च जोखिममा परेको छ । 

वर्षा र पहिरो नरोकिएकाले पहिरोले घर पुर्न सक्ने भएको भन्दै विस्थापित तीन परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको काठेखोला गाउँपालिकाका–७ रेशकावडाअध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो । अहिले घटनास्थलमा प्रहरी समेत परिचालन भइसकेको छ । जिल्लाका अन्य स्थानमा समेड सडकअवरुद्ध भएको प्रहरीले जनाएको छ । वर्षा निरन्तर भइराखेको हुँदा संभावित जोखिमबाट बच्न प्रशासनले आग्रह गरेको छ ।


Top