बागलुङमा ४९ घर पहिरोको उच्च जोखिममा, दर्जन बढी विस्थापित

डम्मर बुढा मगर   POSTED ON : असार २, २०७८ (५:४४ PM)

बागलुङमा ४९ घर पहिरोको उच्च जोखिममा, दर्जन बढी विस्थापित

बागलुङ । तीन दिनदेखि निरन्तर परेको अविरल वर्षाका कारण बागलुङको विभिन्न स्थानमा ४९ घर पहिरोको जोखिममा परेका छन् भने दर्जन बढी परिवार विस्थापित भएका छन् । पहिरोका कारण बस्ती जोखिममा परेका पीडित परिवारलाई सुरक्षित स्थानमा स्थान्तरण गरिरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । 

बागलुङ नगरपालिका वडा नम्बर ७ पैरावारीमा घरमाथिबाट झरेको पहिरोले एक घर भत्काएको छ र एक घर उच्च जोखिममा पारेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभभयो । उहाँका अनुसार पहिरोका कारण स्थानीय रबिलाल गौतमको घर गोठ भत्काएको छ भने गोठमा रहेको भैसी पुरिएर मरेको छ । 

त्यस्तै सोही स्थानका महेन्द्र गौतमको घर उच्च जोखिममा परेपछि परिवार विस्थापित भएको हवारीको भनाई छ । वर्षातका कारण बागलुङ नगरपालिका वडा नम्बर ४ स्थित नन्दलाल पौडेलको घर भत्केको र सोही स्थानका प्रदीप शेरचनको २ तले पक्की घर, माया जिसी कच्ची घर पहिरोको घर उच्च जोखिममा परेपछि विस्थापित भएको हवारीले बताए ।

बागलुङ नगरपालिका वडा नम्बर १३ फर्सेडाडा बस्ने पार्वती पौडेलको घरको अगाडी र पछाडीबाट पहिरो झरेपछि घर उच्च जोखिममा परेको छ । बरेङ गाउँपालिका वडा नम्बर १ भ्युडाँडाका विशाल विकको घर पनि जोखिममा परेपछि उनको परिवार पनि विस्थापित बनेको छ ।

जिल्लाको गलकोट नगरपालिका वडा नम्बर ४ चमुवाकी स्थानीय चन्द्रकला क्षेत्रीको घर पछाडीबाट पहिरो झरेपछि दुई तले कच्ची घर उच्च जोखिम परेको छ । घर जोखिममा परेपछि उहाँको परिवार विस्थापित भएको प्रहरीले जनाएको छ । गलकोटकै डाँडाखेतमा पनि पहिरोले स्थानीय देवबहादुर खत्रीको घर उच्च जोखिममा परेपछि उनको परिवार विस्थापित भएको छ । विस्थापित परिवारलाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको हवारीको भनाई छ ।

त्यस्तै जिल्लाको जिल्लाको जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकामा ११ घर पहिरोको उच्च जोखिममा परेका छन् । अविरल वर्षाको कारण जैमिनी नगरपालिका वडा नम्बर ७ जैदीका ८ घर र काठेखोला गाउँपालिका वडा नम्बर ७ रेशका तीन घर पहिरोको उच्च जोखिममा परेका हुन् ।

वर्षको कारण बस्ती तलबाट पहिरो जान थालेपछि जैमिनी जैदीका ८ घर पहिरोको उच्च जोखिममा परेको स्थानीय रेशम गिरीले जानकारी दिनु भयो । उहाँले पहिरोको कारण तीन घर परिवारले आफन्तको आश्रय लिनु भएको छ भने अन्य अन्य पाँच घरका व्यक्ति भने बसाईसरी अन्तै गएको गिरीले बताउनु भयो । पहिरोको कारण कालिदाश शर्मा, लेखनाथ शर्मा र दिपक शर्माको परिवार आफन्तको आश्रय लिएर बस्न बाध्य हुनु भएको हो ।

घर पहिरोको उच्च जोखिममा परेपछि घरमा रहेका भाँडा, लत्ता कपडा समेत सुरक्षित स्थानमा सारिएको छ । यस्तै काठेखोला गाउँपालिका वडा नम्बर ७ रेशमा सडक माथिबाट आएको पहिरोको कारण तीन घर विस्थापित भएका छन् । रेश हुँदै बागलुङ बजार जोड्ने सडकखण्ड अन्तरगत जिरेदीको कालिका मन्दिरदेखि गगनपानीसम्मको सडकमा माथिबाट खसेको पहिरोको सडक माथि र सडम मुनिका तीन घर विस्थापित भएको प्रहरीले जनाएको छ ।

लगातार वर्षाका कारण पहिरो खसिरहेकोले सडक माथिका कृष्ण जिसी, बल बहादुर जिसी र सडक मुनीको चित्र बहादुर कार्कीको घर उच्च जोखिममा परेको वडा अध्यक्ष प्रेम लामिछानेले जानकारी दिनु भयो । वर्षा र पहिरो नरोकिएकाले पहिरोले घर पुर्न सक्ने भएपछि विस्थापित तीन परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

त्यस्तै जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर ९ मा पनि दुई घर पहिरोको उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ । पहिरोले स्थानीय मिनबहादुर विक र मनरमा विकको घर पहिरोको उच्च जोखिमा रहेकोले सुरक्षित स्थानमा सारिएको बताइएको छ ।

त्यस्तै जिल्लाको बरेङ गाउँपालिकामा पनि १८ घर पहिरोको उच्च जोखिममा परेका छन् । गाउँपालिकाको धुल्लुबास्कोटमा १४ घर पहिरोको उच्च जोखिममा रहेका वडा नम्बर १ का अध्यक्ष नरसेङ पुनले जानकारी दिए । धुल्लुबास्कोटको भिउँ डाँडामा ३ घर, लुगरुङमा ४ घर, थापाथरमा ३ घरगोठ, उर्लेनिमा ३ घर र धुल्लुबास्कोट मिलन चोकमा १ घर पहिरोको उच्च जोखिममा रहेको वडा अध्यक्ष पुनले बताउनु भयो ।

त्यसैगरी वडा नम्बर २ को हुग्दीशिरमा ३ घर र वडा नम्बर ५ सुखौरामा दुई घर पहिरोको उच्च जोखिममा रहेको वडा अध्यक्ष अमरबहादुर शेरपुर्जाले जानकारी दिनु भयो । त्यस्तै जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर ८ लेखानीमा पनि नौ घर पहिरोको उच्च जोखिममा परेको वडा अध्यक्ष चित्रा श्रीसले जानकारी दिनु भयो ।


Top