गण्डकी प्रदेश मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

हिमालय टाइम्स   POSTED ON : असार ४, २०७८ (६:३६ AM)

गण्डकी प्रदेश मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज (शुक्रबार) विश्वासको मत लिँदै हुनुहुन्छ । मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिन मंगलबार नै संसद् सचिवालयमा प्रस्ताव दर्ता गर्नुभएको हो । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको गठबन्धनमा पोखरेल शनिबार मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । उहाँलाई मुख्यमन्त्री बनाउन स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) निर्णायक बन्नुभएको थियो ।

उहाँ संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । यस धाराअनुसार नियुक्त हुनुभएका मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । एक महिनासम्ममा विश्वासको मत लिनुपर्ने भए पनि पोखरेलले तत्कालै विश्वासको मत लिएर आफू सुरक्षित खोज्नुभएको छ । यदि उहाँले विश्वासको मत लिन नसकेमा प्रदेशसभा विघटनतिर जानेछ । यस धाराअनुसार नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिन नसकेमा प्रदेशसभा विघटन गरी ६ महिनाभित्र चुनाव गराउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

राष्ट्रिय जनमोर्चाका एक सदस्य रिक्त भएसँगै ५९ सदस्य रहेको गण्डकी प्रदेशसभामा पोखरेलले विश्वास लिन ३० मत आवश्यक पर्दछ । उहाँको गठबन्धनमा कांग्रेस १५, माओवादी केन्द्र ११ (सभामुखबाहेक), राष्ट्रिय जनमोर्चा दुई, जनता समाजवादी पार्टीका दुई र एक स्वतन्त्र सांसद हुनुहुन्छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग २७ जना प्रदेशसभा हुनुहुन्छ जसमध्ये एकजना माधवकुमार नेपाल पक्षका हुनुहुन्छ । 

सरकारले विश्वासको मत लिएपछि मात्रै मन्त्रीहरूको कार्यविभाजन र विस्तार गर्ने मुख्यमन्त्री पोखरेलको तयारी छ । अहिले नीति तथा कार्यक्रम प्रस्तुत र बजेटका लागि तीन राजनीतिक दलबाट एक–एकजना र स्वतन्त्र सांसद राजीव गुरुङलाई विना विभागीय मन्त्री बनाइएको छ ।


Top