बागलुङमा थप एक साता लकडाउन,बैंक तथा वित्तिय संस्था दैनिक खुल्ने

डम्मर बुढा मगर   POSTED ON : असार ७, २०७८ (५:०४ PM)

बागलुङमा थप एक साता लकडाउन,बैंक तथा वित्तिय संस्था दैनिक खुल्ने

बागलुङ । बागलुङमा एक साता लकडाउन थपिएको छ । जिल्ला प्रशासन कार्यालयले बागलुङमा सोमबार बसेको बैठकले जिल्लामा छैठौं पटक निषेधाज्ञा थप गरेको हो । यस अघि जारी गरिएको लकडाउनभन्दा केहि खुकुलो बनाएर असार १५ गतेसम्म थप गरिएको हो । 

जिल्ला संकट व्यवस्थापन समितिको बैठकको सिफारिसमा जिल्ला प्रशासन कार्यालय बागलुङले सात दिनका लागि निषेधाज्ञा थप गरेको हो । यस अवधीमा होटल, बस व्यवसाय, शैक्षिक संस्था, सिनेमाघर, व्युटिपार्लर, जिमहल लगायतका केहि सेवामुलक व्यवसाय बाहेक सबै पसलहरु असार ८ गतेदेखि बिहान ७ बजेदेखि १२ बजेसम्म खुल्ने भएका छन् । 

रेष्टुरेण्टहरुले काउन्टर खुल्ला नगरिकन होम डेलिभरीको व्यवस्थागर्न सकिने निर्णय भएको बताइउको छ । निजी सवारी साधनलाई जोर बिजोर प्रणालिमा सञ्चालनमा आउन दिने समेत निर्णय भएको छ । चार पांग्रे र दुई पांग्रे सवारी साधन गते अनुसार जोर विजोर प्रणालिमा सञ्चालन गर्न दिने निर्णय भएको हो । 

बैंक तथा वित्तिय संस्थालाई बिहान ९ बजेदेखि १२ बजेसम्म सबै दिन खोल्न दिने निर्णय भएको छ । सहकारी संस्थाहरुले घर घरमा पुगेर दैनिक बचत संकलन नगर्ने गरी खुल्ला गर्ने निर्णय भएको हो । यस अघि जेठ ३१ गते एक साता लकडाउन थप गरिएको थियो ।

कोरोना संक्रमणको दर ह्वात्तै बढेपछि जिल्ला संकट व्यवस्थापन समितिको बैठकले गत बैशाख २१ गतेदेखि जिल्लामा लकडाउन गरिएको थियो । पछिल्लो केही दिन यता कोरोना संक्रमणको दर घट्दै गएपछि लकडाउन समेत केही खुकुल पारिएको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ ।


Top