देवीको विलौना : अब कहाँ बस्ने ?

डम्मर बुढा मगर   POSTED ON : असार ७, २०७८ (६:०६ PM)

देवीको विलौना : अब कहाँ बस्ने ?

बागलुङ ।‘लौन हजुर मेरो त घर भत्किनै आँट्यो, अब के गर्ने होला ?, अरु ठाउँ बनाउने कतै जग्गा पनि छैन, जग्गा भयो भने पनि मेरो घर बनाउने क्षमता छैन ।’ बागलुङ नगरपालिका वडा नम्बर १३ काभ्रेबोटकी देवी शर्मा चिन्तित मुद्रामा आफ्नो व्यथा सुनाउदै हुनुहुन्थ्यो । हुन पनि घर माथिको हिलाम्मे सडकले गर्दा घरको पर्खालभरी पानी रसाई रहेको छ । 

घरको पर्खालमा भन्दा बढी देवीका आँखा रसाई रहेका छन् । सडकबाट झरेको लेदो सहितको पानीले उहाँको घरको सबै पर्खाल कमजोर बन्दै गएका छन् । कमजोर बनेको पर्खाल कति बेला भत्किन्छ ? पत्तो छ, यही कुराले उहाँको निद्रा समेत गायब भएको छ । 

घर जोखिममा परेपछि अहिले आफन्तकहाँ आश्रय लिनुभएकी उहाँ हरेक दिन घर छेउमा आएर टोलाएर बस्ने गरेको बताउनुहुन्छ । घरको त्यो दुरावस्था देखेर मन भतभति पोलिरहेको उहाँले बताउनुभयो । गरिबीका कारण दैनिक के खाउँ के लाउँ भएको बेला घर पनि पहिरोको उच्च जोखिममा परेपछि जटिलता सिर्जना भएको छ ।

बागलुङ बजारदेखि बलेवा भैरवस्थान जोड्ने सडक कालोपत्रेका लागि स्तरोन्नती गर्ने क्रममा उहाँको घर गोठ पहिरोको उच्च जोखिमा परेको छ । उहाँसँगै काभ्रेबोट क्षेत्रका ७ घर जोखिममा परेका छन् । सडक निर्माणको क्रममा भएको लापरवाहीका कारण घर जोखिममा परेको उहाँ बताउनुहुन्छ । 

घरमा बस्ने अवस्था नरहे पछि आफ्नो लत्ताकपडा तथा भाँडाकुँडा घर नजिकैको रहेको मन्दिरको सत्तलमा राख्नु भएको छ । श्रीमानले अर्को श्रीमती लिरए छुट्टै बस्दै आएको उहाँको भनाई छ । देवीको साथमा अहिले उहाँकी छोरी मात्रै छिन् । आमा छोरी बस्दै आएको घर सडकको कारण धरापमा परेपछि आफूहरुलाई ठूलो समस्या परेको देवीको गुनासो छ ।

‘घरको भित्ता भरी पानी रसाएको छ, घर पछाडीको सबै भागमा लेदो पसेको छ, घर कति बेला भत्किने हो, घर भत्कियो भने त हाम्रो बेहाल हुन्छ, कहाँ बस्ने के खाने ?’ उहाँले निन्याउरो मुख लगाउँदै भन्नुभयो ‘घर धेरै सामान त केही थिएन, भएको लुगाफाटा र भाँडाकुँडा मन्दिरको सत्तलमा लगेर राखेको छु, अहिले घरमा बस्नै सक्ने अवस्था छैन, भित्र जाँदा पनि डर लाग्छ, पुरि हाल्छ कि भन्ने हुन्छ ।’

परिवारको अवस्था निकै कमजोर भएको हुँदा उहाँलाई अर्को कुनै विकल्प रोज्ने अवस्था पनि छैन ।’ मजदुरी गरि छोरीको पढाई र घर खर्च चलाउँदै आउनु भएकी देवी बस्ने घर जोखिमा परेपछि सरकारको मुख ताकेर बस्ने अवस्थामा आएको स्थानीय बताउँछन् ।  

घरसँगै उहाँको गोठ समेत भत्किने अवस्थामा पुगेको छ । सडकका कारण घर गोठ जोखिममा परेपछि नगरपालिका क्षति पूर्तिका लागि माग गरे पनि नगरपालिकाले वास्ता नगरेको उहाँको भनाई छ । सडकका कारण स्थानीय रत्नाकर शर्मासँगै वरपरका अन्य घरका र शिव मन्दिर पनि जोखिममा रहेको स्थानीयको भनाई छ । 

स्थानीय पंकज पौडेलले सडक निर्माण गर्दा मापदण्ड अनुसार काम नगर्दा बस्ती नै जोखिममा परेको बताउनुभयो । उहाँले सडकले सुविधा दिनको सट्टा स्थानीयको उठिबास लगाउन थालेको बताउनुभयो । ‘सडक निर्माण गर्नु राम्रो हो, यसले सबै नागरिकलाई सुविधा हुन्छ नै, तर पनि सडक निर्माण गर्दा सही तरिकाले इन्जिनियरिङ भएनछ, त्यसले गर्दा अहिले यहाँका बस्तीहरु जोखिममा परेका छन्, यसको जिम्मेवारी कसले लिने ?’ पौडेलले भन्नुभयो ।

जोखिमका बारेमा ईन्जिनियरलाई गुनासो सुनाउँदा ठेकेदारलाई भन्न लगाउने र ठेकेदारलाई भन्दा ईन्जिनियरले भने अनुसार काम गरेको जवाफ दिने गरेका छन् । जोखिममा रहेको घर परिवारलाई तत्काल कुनै व्यवस्था नगरेमा स्थानीयले सडक नै बन्द गर्ने चेतावनी समेत दिएका छन् ।  

बागलुङ नगरपालिकाका ईन्जिनियर मनोज शर्माले निर्माण व्यवसायीले लागत अनुमान अनुसार काम नगर्दा घर गोठ जोखिममा परेको बताउनुहुन्छ । ‘निर्माण कम्पनीलाई घरमा नै लगेर वाल जोड्नु भनेर लागत अनुमानमा दिएका छैनौ, यो उहाँहरुको लापरवाही हो’ शर्माले भन्नुभयो, ‘उहाँहरुलाई घर पछाडीको भागमा तुरुन्त मेसिनरी वाल निर्माण गर्न भनेका छौ, घरसँग जोडेको वाललाई भत्काएर पुनः निर्माण गर्न भनेका छौँ । 


सडक कालेपत्रेका लागि रौटहत कन्ट्रक्सनले जिम्मा लिएको छ । तीन किलोमिटर बढी सडक कालेपत्रेका लागि ६ करोड नौ लाख रुपैयाँमा निर्माण कम्पनीले जिम्मा लिएको बताइएको छ । जोखिममा परेको घर भएको सडक क्षेत्र साँघुरो भएका कारण सडक नै बन्द गरेर काम गर्नुपर्ने भएका कारण केही दिन ढिला भएको निर्माण व्यवसायी सुशिल लामिछाने बताउनुभयो ।

उहाँले नगरपालिकाले दिएको लागत अनुसार काम गर्ने बताउनुहुन्छ । जोखिममा रहेको घर पछाडीको केही काम बाँकी रहेको र केही दिनमा नै काम सम्पन्न गर्ने बताउनुहुन्छ । बागलुङ नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष नारायण शर्मा पौडेलले सडकका जोखिममा परेका सबै घर गोठ र अन्य संरचनाका बारेमा नगरपालिकामा जानकारी गराएको बताउनुभयो ।

नगरपालिकाको बजेटमा कालेपत्र गर्न लागिएको यस सडक ईञ्जिनियरले भने अनुसार ठेकदारले काम गर्नु पर्ने अध्यक्ष पौडेलको भनाई छ । जोखिममा परेका परिवारको व्यवस्थापनका लागि छलफल भइरहेको उहाँ बताउनुहुन्छ ।


सडकबाट आएको भलले जोखिममा परेको शर्माको घर । तस्बिर : डम्मर बुढा मगर/हिमालय टाइम्स


Top