मनाङमा फेरि उर्लियो मस्र्याङ्दी, चामे बजार जोखिममा

हिमालय टाइम्स   POSTED ON : असार १०, २०७८ (६:२१ AM)

मनाङमा फेरि उर्लियो मस्र्याङ्दी, चामे बजार जोखिममा

मनाङको सदरमुकाम चामेस्थित मस्र्याङ्दी नदीमा बुधबार फेरि बाढी आएको छ । माथिल्लो मनाङ जाने बेलिब्रिज नै नाघेर बाढी आएको हो । यसले नजिकैको लोकप्रिय माध्यमिक विद्यालयलाई समेत जोखिममा पारेको छ ।

बाढीले बगाएर ल्याएका ठूलाठूला रूख र ढुंगा पुलमा अड्किँदा पानीले बेलिब्रिज नै नाघेको हो । नदीको पानी बेलिब्रिजभन्दा दुई मिटर माथि भएर बगेको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले हिमालय टाइम्सलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘नदीमा बहाव एकदमै बढेको छ, बेलिब्रिज त जोखिममा परेको छ नै नदी किनारमा रहेका अन्य सात घरहरूसमेत उच्च जोखिममा परेका छन् । विभिन्न स्थानबाट नदीले बगाएर ल्याएका रूख, दाउरा, ढुंगा पुलमा अड्किएको छ । पानीमा करेन्ट धेरै भएकाले त्यो हटाउन सम्भव छैन । नदीको बहाव कम भएपछि मात्र स्काभेटर लगाएर ती वस्तु निकाल्न सम्भव छ ।’

मस्र्याङ्दीको बाढीले धार परिवर्तन गरी दायाँतर्फ च्याप्दा विद्यालय र घरहरू जोखिममा परेका हुन् । यसअघि शनिबारको बाढीले सोही स्थानमा पाँच घर डुबानमा परेका थिए । सो घरसहित अहिले सात घर बाढीको उच्च जोखिममा रहेको हो । यस्तै, नदी किनारमा रहेको सिटिजन बैंक पनि जोखिममा रहेको प्रजिअ लामिछानेले बताउनुभयो । यो वर्ष माथिल्लो मनाङमा वर्षा धेरै भएको छ । मस्र्याङ्दीको मुहान भनिएको तिलिचो ताल र आसपासका खोला–खहरेहरू पनि उर्लंदा बाढीको जोखिम बढेको प्रजिअ लामिछानेको भनाइ छ ।

उहाँका अनुसार, ‘तीन दिनयता लगातार बेलिब्रिजलाई जोखिममा पार्ने गरी बाढी आइरहेको छ । मंगलबार रातिको भीषण वर्षाले बाढीले झन् ठूलो रूप लिएको छ । केही दिनयता सुरक्षाकर्मीले पुल जोगाउन विभिन्न कामहरू गरिरहे पनि बाढी बढ्दै गएकाले समस्या परेको हो ।’

नेपाल प्रहरीका डिएसपी सुवास खड्काले पुल, स्कुल र बस्ती जोगाउन प्रहरी खटिरहेका जानकारी दिनुभयो । यहाँ जेठ ३१ रातिदेखिको निरन्तर वर्षा भइरहेको छ । मनाङ प्रहरीका अनुसार चामे बजारका दुई सय बढी घर जोखिममा छन् । गत शनिबार पनि चामेको बजार क्षेत्र हुँदै झरेको घट्टेखोलाले ढुंगामाटो र काठदाउरा बगाएर ल्याएपछि सोही बेलिब्रिजमा अड्किएको थियो । सशस्त्र प्रहरी बल नं ३२ गुल्म र नेपाल प्रहरीको सहायतामा स्काभेटर प्रयोग गरी पुलमा अड्किएका उक्त वस्तुहरू हटाइएको थियो । बुधबारको बाढी सोभन्दा पनि ठूलो रहेको बताइएको छ ।


Top