कालोपत्रे गरेको दुई दिनमै सडक हिलाम्मे

डम्मर बुढा मगर   POSTED ON : असार १०, २०७८ (११:१३ AM)

कालोपत्रे गरेको दुई दिनमै सडक हिलाम्मे

बागलुङ । बागलुङ नगरपालिकाले जीर्ण बनेको बजार क्षेत्रको सडक पुनःकालोपत्रे गरि रहेको छ । कोरोना संक्रमणको कारण जिल्लामा जारी गरिएको लकडाउनको अवधीमा नगरपालिकाले बजार क्षेत्रको सडक धमाधम कालोपत्रे गरि रहेको छ । कालोपत्रे भएको सडक दुई दिन नबित्तै हिलोमा परिणत भएको छ । बजार क्षेत्रेको नाली सही रुपमा व्यवस्थापन नहुँदा भलसहित आएको लेदोले कालोपत्रे सडकदुई दिनमै हिलाम्मे भएको छ । बजार भन्दामाथि मध्यपहाडी लोकमार्गबाट आएको भेलसहितको लेदोले दुई दिन अगाडी कालोपत्रे गरेको सडक परै हिलाम्मे बनेको छ ।

बागलुङ बजारको गोदाम चोक, सिर्जनाचोकलगायतका स्थानहरुमा नगर पालिकाले कालोपत्रे गरि रहेको थियो । गोदामचोकमा दुईहप्ता अगाडीकालोपत्रे गरेको थियो भने सिर्जनाचोकमा दुई दिनअगाडी मात्रै अलकत्रा बिछ्याएको थियो । दुईदिन अगाडी बिछ्याइएको अलकत्रा अहिले सबै हिलोमा परिणत भएको छ ।

नगरपालिकाले लोकमार्गबाट आउने भल नियन्त्रण गर्न नसक्नु र बजार क्षेत्रका नालीहरुलाई व्यवस्थितगर्न नसक्दा कालोपत्रे सडक हिलाम्मे बन्न पुगेको स्थानीयहरुले बताउँछन् । बजार क्षेत्रको नाली व्यवस्थित नहुँदा यहाँका अधिकांश व्यापारी तथा स्थानीयहरुले हरेक वर्ष सास्ती खेप्दै आएका छन् । सडक हिलाम्मे हुँदा पैदलयात्रा गर्न समेत सकस पर्नेयात्रुहरु बताउँछन् । ठूलो वर्षा हुँदा हल्लन चोक, सिर्जना चोक, गोदामचोक लगायतका स्थानहरुमा नाली थुनिएर भल घर भित्रपस्ने गरेको स्थानीयहरुको भनाई छ । भल घर भित्र पस्दा आफूहरुलाई समस्या हुने गरेको उनीहरु बताउँछन् । रातभर पानी पर्दा पानी तर्काउनका लागि रातभर जागराम बस्नु पर्ने अवस्था हुने स्थानीय लिलाकुमारी हमालले बताउनु भयो । उहाँले सम्बन्धित निकायले यस तर्फ ध्यान नदिँदा आफूहरुले वर्षौँदेखि यो समस्या झेल्दै आएको बताउनुहुन्छ ।


Top