१९ वर्षपछि बन्यो बागलुङमा आधुनिक बसपार्क

डम्मर बुढा मगर   POSTED ON : असार १२, २०७८ (७:०० PM)

१९ वर्षपछि बन्यो बागलुङमा आधुनिक बसपार्क

 बागलुङ । सम्बन्धित निकायको उदासिनता र निर्माण कम्पनिको लापरवाहीका कारण बागलुङमा केही योजना वर्षौँ बितिसक्दा पनि सम्पन्न हुन सकेका छैन । बागलुङमा कतिपय संघीय संरचना हुनु पूर्वका योजना पनि अझै सम्पन्न भएका छैन त केही सम्पन्न हुने अवस्थामा छन् । त्यस मध्येको बागलुङ बसपार्क पनि एक हो । बागलुङ बसपार्क १९ वर्ष निर्माण गरिने भनिए पनि अहिल आएर बल्ल सार्थकता पाउन थालेको छ ।

वर्षौँ अगाडी सकिनु पर्ने बसपार्क अहिले मात्रै सम्पन्न हुन थालेपछि स्थनाथीय खुसी भएका छन् । गत पुस मैै ९० प्रतिशत काम सकिएको बसपार्क मौसम खराबीका कारण पार्कीङ स्थल कालोपत्रेको काम रोकिएको थियो । बसपार्कले अन्तिम रुप लिए पनि कालोपत्रेमा ढिलाई भएको थियो । तर, मौसममा सुधार आएसंगै बसपार्क कालोपत्रेको काम शुरु भएको हो । यो काम मौसमले साथ दिए दुई दिनमै सकिने निर्माण कम्पनीले जनाएको छ ।

स्थानीयहरुले निशुल्क प्रदान गरेको जग्गामा बागलुङ नगरपालिकाको पहलमा करोडौ खर्च गरी आधुनिक बागलुङ बसपार्क निर्माण भएको हो । बसपार्क निर्माणका लागि १९ वर्ष अघि बागलुङ बजारवासीले उपल्लाचौरको दाबगरामा व्यक्तिगत जग्गा निःशुल्क रुपमा बागलुङ नगरपालिकालाई हस्तान्तरण गरेका थिए ।

लामो समय सरकारी उदासिनताका कारण अलपत्र परेको बसपार्क निर्माण जनप्रतिनिधिको आगमन सँगै २०७५ सालमा बागलुङ नगरपालिकाको पहलमा गति लिएको थियो । ठेक्का स्वीकृत भएको साढे दुई वर्षपछि बसपार्क निर्माणले अन्तिम रुप लिएको बागलुङ नगरपालिकाले जनाएको छ । बागलुङमा व्यवस्थित बसपार्क बनाउन २०५९ सालमै स्थानीयले करोडौं मूल्य पर्ने जग्गा निःशुल्क दिए पनि बसपार्क निर्माण शुरु हुन सकेको थिएन । 

बागलुङ नगरपालिका वडा नं.४ दाबगरामा व्यवस्थित बसपार्क निर्माणका लागि स्थानीय ५२ जना जग्गादाताले निशुल्क उपलब्ध गराएको जग्गामा अहिले बसपार्क निर्माण गरिएको छ । बसपार्क निर्माणको काम लगभग सकिएको बागलुङ नगरपालिकाका इञ्जिनियर मनोज शर्माले जानकारी दिनुभयो । 

“बसपार्कमा निर्माणको काम लगभग सकिएको छ, रंगरोगन, बिद्युत जडान भइसेको छ, बाँकी ८ प्रतिशत प्रगती थियो, त्यो पनि पार्किङ स्थलको कालोपत्रे शुरु भएको छ,” शर्माले भन्नुभयो “मौसमले साथ दिएमा एक हप्ता भित्रै बागलुङ बसपार्कको काम सकिनेछ र त्यस लगत्तै सञ्चालनमा आउने छ ।” डेढ वर्षमा सकिने बसपार्क कोरोनाका कारण साढे दुई वर्षमा सकिएको हो । 

२०७६ कात्तिक २६ गते एक वर्षमा सक्ने गरी ८ करोड ७० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको बसपार्क समयमै नसकिदाँ दुई पटक ६÷६ महिना म्याद थपिएको हो । पुनः कोरोनाको कारण देखाउदै ६ महिना म्याद थपिएको थियो । अहिले टर्मिनल र व्यावसायिक भवन निर्माण सम्पन्न भएको र पार्किङ स्थल कालोपत्रे समेत भइरहेको छ ।  


कोरोनाका कारण निर्माणमा केही ढिलाई भए पनि बसपार्क निर्माणको कामले अन्तिम रुप लिएको  बसपार्क निर्माणको जिम्मा लिएको आशिष फेवा जेभीका आधिकारिक प्रतिनिधि प्रकाश तिमिल्सनाले जानकारी दिनुभयो । नगरवासीको १९ वर्षदेखिको आधुनिक र व्यवस्थित बसपार्क निर्माणको सपना पुरा गर्नु ठूलो सफलता भएको नगर प्रमुख जनकराज पौडेलले बताउनुभयो । 


“१९ वर्ष पहिला करोडौं मूल्यको जग्गा नगरपालिकालाई दिइएको थियो, तर जनप्रतिनिधि बिहिन हुँदा काम हुन सकेको थिएन, अहिले बसपार्क हस्तान्तरणको चरणमा पुगेको छ, एक हप्तामै सबै काम सकिनेछ” नगर प्रमुख पौडेलले भन्नुभयो “हामी निर्वाचित भएर आएपछि बसपार्क निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाएका थियौ,अहिले लगभग निर्माण सकिएको छ, यसको सञ्चालनका लागि कार्ययोजना बनाउन छलफल समेत शुरु गरेका छौ, छिट्टै सञ्चालनमा आउनेछ ।” 

स्थानीयले उपलब्ध गराएको ५९ रोपनी जग्गाबाट साढे १७ रोपनी जग्गामा बसपार्क र अन्य जग्गामा व्यवस्थित बसोवासका लागि एक सय २७ वटा घडेरी निर्माण गर्ने गरि नगरपालिकाको नाममा जग्गा हस्तान्तरण गरिएको थियो । लहलह धान फल्ने खेत नगरपालिकाको नाममा दिएको लामो समयसम्म बसपार्क निर्माण नहुँदा स्थानीय निराश थिए । 

ढिलै भएपनि बसपार्क बनेकोमा खुसी भएको जग्गादाता गुणनिधी शर्माले बताउनुभयो । धान फल्ने जग्गा नगरपालिकालाई बसपार्क बनाउन दिएको १९ वर्ष पछि बल्ल सपना साकार भएको जग्गादाता तथा बसपार्क जग्गा व्यवस्थापन समितिका अध्यक्ष सुवास राजभण्डारीले जानकारी दिनुभयो । 

व्यवस्थित आधुनिक बागलुङ बसपार्कमा ६० वटा ठूला बस, १० वटा माइक्रोबस एकैसाथ अटाउन सक्नेछन । टर्मिनल भवनको भुई तलामा कार तथा मोटरसाइकल पार्किङ गर्न मिल्नेछ ।  नगर विकास कोषसँग ऋण सम्झौता गरी बसपार्क निर्माण गरिएको हो । सबपार्क निर्माण सम्पन्न हुन थाले पनि त्यहाँ नाली निर्माण भएको छैन । नाली निर्माण नभएपछि यस विषयमा टिकाटिप्पणी समेत हुन थालेको छ ।

१९ वर्षपछि बनेको बागलुङ बसपार्क कालेपत्रे हुँदै । तस्बिर : डम्मर बुढा मगर/हिमालय टाइम्स


Top