शनिबार उद्धाटन भएको कालीगण्डकी डाइभर्सनप्रति गण्डकी प्रदेश सांसद मल्लको आपक्ति

युवराज पौडेल   POSTED ON : असार १३, २०७८ (२:०७ PM)

शनिबार उद्धाटन भएको कालीगण्डकी डाइभर्सनप्रति गण्डकी प्रदेश सांसद मल्लको आपक्ति

स्याङ्जा । गण्डकी प्रदेश सांसद तथा नेपाल तरुण दल स्याङ्जाका अध्यक्ष भागवत् प्रकाश मल्लले कालीगण्डकी तिनाउ डाइभर्सन आयोजना कुनै हालतमा अगाडि बढ्न नदिइने धारणा व्यक्त गर्नुभएको छ । 

कालीगण्डकी तिनाउ डाइभर्सन आयोजनाको कार्यालयको शनिबार अर्थमन्त्री विष्णु पौडेलले बुटवलको कालिका नगरमा उद्घाटनपछि प्रदेश सांसद मल्लले यसप्रति गम्भीर आपत्ति जनाउनुभएको छ । यसभन्दा अगाडि पनि पटक पटक संसदमा कालीगण्डकी डाइभर्सनको विरोध गर्नुभएका सांसद मल्लले यसले स्याङ्जाका चापाकोट, गल्याङ नगरपालिका, कालीगण्डकी गाउँपालिका, पाल्पाका रम्भा गाउँपालिका, रामपुर नगरपालिका लगायतका ठूलो क्षेत्रका हजारौं परिवार विस्थापित हुने भएकाले यो अगाडि बढाइन नहुने धारणा व्यक्त गर्नुभएको छ । 

उहाँले भन्नुभयो, ’यसले हाम्रो जलाधार सभ्यतालाई नै सिध्याउँछ । यसले माथिल्लो तटीय जलाधार क्षेत्रका विकासका सम्पूर्ण ढोकाहरु बन्द गरेर नागरिकको प्राकृतिक श्रोतमाथिको अधिकार समाप्त पारिदिन्छ ।’ उहाँले थप भन्नुभयो, ’हामी यो आयोजना कुनै हालतमा अगाडि बढ्न दिँदैनौँ । गण्डकी प्रदेशको गम्भीर आपत्तिका बिचमा यो अगाडि बढाइनु सङ्घीयताको मर्म विपरित मात्र होइन, प्रदेशहरुका बिचमा द्वन्द्व बढाउने डिजाइन समेत हो ।’ सांसद मल्लले भन्नुभयो, ’यो आयोजनाले कालीगण्डकी किनारका नागरिकलाई शरणार्थी बनाउँछ । यसले प्राकृतिक, सामाजिक, जैविक तथा पर्यावरणीय सन्तुलनमा समेत गम्भीर क्षति पु¥याउने छ । यो राष्ट्रिय अन्तराष्ट्रिय कानुनको समेत विरुद्धमा छ ।’ 

यसै बिच गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पनि कालीगण्डकी तिनाउ डाइभर्सनको विरोध गर्नुभएको छ । केन्द्रले गण्डकी प्रदेशसँग समन्वय नगरी एकतर्फी रुपमा अगाडि बढाएको आयोजनाको कामप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ । 

के हो कालीगण्डकी डाइभर्सन ?

कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना अर्थमन्त्री विष्णु पौडेलको सक्रियतामा बुटवल, रुपन्देही, कपिलवस्तु र लुम्बिनीको विकासमा लक्षित आयोजना हो । कालीगण्डकी नदीको पानी डाइभर्सन गरी सुरुङमार्फत् तिनाउ नदीमा खसालेर रुपन्देही र कपिलवस्तुका खेतमा सिंचाइ पु¥याउने तथा १२६ मेघावाट विद्युत निकाल्ने यो परियोजनाको लक्ष्य छ । 

रुपन्देहीका बुटवल, भैरहवा र लुम्बिनीसहितका सहरहरुमा जनघनत्व बढ्दै जाँदा पानीको समस्या देखिन थालेको तथा यहाँको मुख्य स्रोत तिनाउ नदीमा पानीको सतह घट्दै जाँदा तिनाउ नदीको सभ्यता बचाउन भन्दै र सिचाइ तथा तराईमा भूमिगत जलस्रोतको संरक्षणका लागि गरिएको आयोजना हो । 

बुटवलमा डाइभर्सन आयोजनाको कार्यालय खुलेपछि आगामी एक वर्षभित्र सक्ने गरी विस्तृत परियोजना प्रतिवेदन तयार हुनेछ । आगामी एक वर्षमा डिपिआरको काम सम्पन्न गरी अर्को वर्षदेखि निर्माणको काम थालिने बताइएको छ । 

यो राष्ट्रिय सिंचाइ गुरुयोजनाका ११ वटा अन्तरजलाधार स्थानान्तरणमध्येको एक परियोजना हो । गुरुयोजना अनुसार कालीगण्डकीको पानीलाई २७ र ७ किलोमिटरका दुई वटा सुरुङमार्फत् तिनाउ नदीमा पानी खसालिने छ । 

स्याङ्जाको गल्याङ नगरपालिका १ मालुङ्गा र पाल्पाको रम्भा गाउँपालिका ३ पीपलडाँडा क्षेत्रमा ड्याम बनाएर २७ किलोमिटर लामो सुरुङमार्फत् पाल्पाको तिनाउस्थित दोभानमा पानी खसालिने छ । दोभानमा १०० मेघावाटको विद्युत निकालिने लक्ष्य रहेको छ । दोभानमा विशाल जलाशय निर्माण गरी केही भाग  पानी तिनाउ नदीमा बगाइनेछ भने त्यहाँबाट बुटवलको बेलबाससम्म ३ किलोमिटर सुरुङमार्फत् अर्को विद्युत गृह निर्माण गरी २६ मेघावाट विद्युत उत्पादन गरिनेछ । त्यसरी बेलवास पुगेको पानीलाई नहरमार्फत् कपिलवस्तुसम्म पु¥याएर सिंचाइका लागि प्रयोग गरिनेछ । यसबाट रुपन्देही र कपिलवस्तुका १ लाख हेक्टर जमिनमा सिंचाइको सुविधा पुग्ने छ । करिब ९ मिटर चौडा सुरुङ मार्ग ८२ घनलिटर प्रतिसेकेन्ड पानी तिनाउ नदीमा पु¥याइने छ । 

आयोजनाका लागि अनुमानित लागत रु ४० अर्बमध्ये सिंचाइ आयोजनाका लागि १८ अर्ब ४८ करोड रुपैंया लाग्ने अनुमान गरिएको छ । त्यसबाहेक हाइड्रोपावरका लागि २१ अर्ब ६२ करोड लाग्ने अनुमान छ ।


Top