गण्डकी प्रदेशको मन्त्रिपरिषद् विस्तारमा विलम्ब

चारमध्ये दुई मन्त्रीको जिम्मेवारी तोकियो

हिमालय टाइम्स   POSTED ON : असार १४, २०७८ (५:४३ AM)

गण्डकी प्रदेशको मन्त्रिपरिषद् विस्तारमा विलम्ब

सत्तारूढ दलहरूबीच भागबण्डामा सहमति नहुँदा गण्डकी प्रदेशको मन्त्रिषरिषद् विस्तारमा विलम्ब भएको छ । मन्त्री बन्ने आकांक्षामा धेरै रहेका र मन्त्रालयको संख्या सीमित रहेकाले मुख्यमन्त्रीलाई मन्त्रिमण्डल विस्तार गर्न सकस परेको हो ।

सरकार गठन भएको दुई हप्तापछि आइतबार मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले चारमध्ये दुई मन्त्रीको कार्यविभाजन तोक्नुभएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले मन्त्रिपरिषद्का चार मन्त्रीमध्ये दुई जनालाई मन्त्रालय तोक्नुभएको हो ।   

कांग्रेसबाट मन्त्री बन्नुभएका कुमार खड्काले सामाजिक विकास र माओवादीबाट मन्त्री बन्नुभएकी मधुमाया अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । राजीव गुरुङ (दीपक मनाङे) र हरिशरण आचार्यको जिम्मेवारी अझै तोकिएको छैन । मनाङे स्वतन्त्र प्रदेशसभा सदस्य हुनुहुन्छ भने आचार्य जसपाबाट मन्त्री बन्नुभएको हो । असार ४ गते गण्डकी प्रदेशको मुख्यमन्त्री बन्नुभएका पोखरेलले सोही दिन चारजना नेतालाई विना विभागीय मन्त्री बनाएका थियो ।

मन्त्रिपरिषद् कार्यविभाजनको प्रयासका लागि काठमाडौं पुगेर पोखरा फर्किएपछि पनि उहाँले मन्त्रीको कार्यविभाजन गर्न सक्नुभएको छैन । नेपालीलाई मुख्यमन्त्री बनाउन निर्णायक मानिएका स्वतन्त्र सांसद मनाङेले भौतिक पूर्वाधार मन्त्रालयमा दाबी गर्नुभएको छ । उहाँले आफूले पूर्व–सहमतिअनुसारको मन्त्रालय पाउनुपर्ने नत्र मुख्यमन्त्री दिनुपर्ने पनि बताउनुभएको छ । सत्ता साझेदार जसपा र माओवादीका सांसदहरूले पनि सहमति कार्यान्वयनमा मुख्यमन्त्रीले उदासीनता देखाएको आरोप लगाउन थालेका छन् ।


Top