स्याङ्जाका पाँच प्रतिपक्षी दलद्वारा कालीगण्डकी डाइभर्सनको विरोध

युवराज पौडेल   POSTED ON : असार १४, २०७८ (६:०५ PM)

स्याङ्जाका पाँच प्रतिपक्षी दलद्वारा कालीगण्डकी डाइभर्सनको विरोध

स्याङ्जा । स्याङ्जाका पाँच प्रतिपक्षी दलले कालीगण्डकी तिनाउ बहुउद्देश्यीय डाइभर्सन परियोजनाको विरोध गरेका छन् । नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले माधव समूह, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले कालीगण्डकीको पानी डाइभर्सनमार्फत् तिनाउ खोलामा लैजाने सरकारको प्रयासको खण्डन गरेका छन् । पाँच दलको आज बसेको बैठकपछि संयुक्त प्रेस विज्ञप्तिमार्फत् आयोजनाप्रति गम्भीर असहमति जनाइएको नेकाका कार्यवाहक सभापति कुमार रानाले हिमालय टाइम्सलाई जानकारी दिनुभयो ।

बैठकपछि जारी संयुक्त प्रेस विज्ञप्तिमा प्राचीन सभ्यताको उद्गम स्थल, सनातन संस्कृतिको धरोहर, शालिग्राम पाइने विश्वको एक मात्र नदी कालीगण्डकीको प्राकृतिक मार्ग परिवर्तन गर्ने गरी सामाजिक, सांस्कृतिक, प्राकृतिक एवम् वातावरणीय र आर्थिक पक्षको बृहत अध्ययन नगरी अगाडि बढाउन खोजिएको आयोजना सङ्घीयताको मर्म र भावना प्रतिकूल टिप्पणी गरिएको छ । 

नेकाका कार्यवाहक सभापति कुमार राना, नेकपा माओवादी केन्द्रका संयोजक शैलेन्द्र घिमिरे, नेकपा एमाले माधव समूहका अध्यक्ष रामचन्द्र भट्टराई, जसपाका अध्यक्ष ख्यामनारायण ढकाल र राजमोका अध्यक्ष राजेन्द्र गैह्रेद्वारा संयुक्त रुपमा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ, ‘सीमित स्वार्थ र भारतीय दबदबामा कोठे सम्झौतामार्फत् नेपाल सरकारले अगाडि बढाएको कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजनाको कार्यालय माननीय अर्थ, गृह, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विष्णु पौडेलले हठात् उद्घाटन गरेको विषयमा हामी स्याङ्जामा क्रियाशील राजनैतिक पार्टीहरुको गम्भीर ध्यानाकर्षण भएको छ ।’

विज्ञप्तिमा यो आयोजनाले कालीगण्डकी जलाधार क्षेत्रका बासिन्दाहको जनजीवनलाई गम्भीर प्रभाव पारी विस्थापित गर्ने  भएकाले यस विषयमा गम्भीर हुन सबैलाई अपील गरिएको छ । यो आयोजना नेपालको हितमा नभएको र भारतीय स्वार्थमा लक्षित भएकाले सम्पूर्ण सचेत नागरिकहरुले यसको विरुद्धमा आवाज बुलन्द पार्दै सङ्घर्षका लागि तयार रहन आह्वान गरिएको छ ।


Top