जीर्ण बनेको बागलुङ–बेनी सडक कालोपत्र

डम्मर बुढा मगर   POSTED ON : असार १४, २०७८ (७:२७ PM)

जीर्ण बनेको बागलुङ–बेनी सडक कालोपत्र

 बागलुङ । बागलुङ र म्याग्दीको सदरमुकाम बेनीको ‘लाइफ लाइन’ का रुपमा रहेको बागलुङ–बेनी सडक लामो समयदेखि जीर्ण बनेको थियो । जीर्ण सडकलाई धेरै वर्षपछि अहिले मर्मत सम्भार गर्न थालिएको छ ।  बागलुङ–बेनी सडक खण्डको बाङ्गेचौरदेखि रत्नेचौरसम्मको सडक स्तरोन्नतीसंगै कालोपत्रेको काम तीव्र गतिमा भइरहेको । जीर्ण अवस्थामा रहेको सडकलाई बेला–बेलामा टालटुल गरि झन् दुर्घटना हुने खालको काम भएको थियो ।

तर अहिले सडक डिभिजन कार्यालयले पुरै सडक कालोपत्रे गरिरहेको छ । केही दिनदेखि उक्त सडकको बाङ्गेचौरदेखि पहिलो पटक अलकत्रा माथी गिटि बिच्छाएर (एसबिएस्टी) प्रविधिद्वारा कालोपत्रे भइरहेको छ । हाल सम्म एक किलोमिटर भन्दा बढी कालोपत्रे भइसकेको र असार मसान्त सम्म ६ किलोमिटर सडक कालोपत्रे गरिने सडक डिभिजन कार्यालय बागलुङका इन्जिनियर सुरेन्द्र गौतमले जानकारी दिनुभयो । 

उक्त सडकको ११ किलोमिटर मध्ये कुडुलेदेखि ढोडेनीसम्मको सडकमा भने स्तरोन्नती गर्न बाँकी नै छ । इजिनियर गौतम भन्नुहुन्छ–‘अहिले काम तीव्र गतिमा भइरहेको छ, असार मसान्तसम्म ११ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य थियो, निरन्तरको वर्षातले कालोपत्रे गर्न पाइएन, कालोपत्रे गर्न घाम लाग्नु पर्ने हुन्छ, समका कारण दुई महिना जती बढी समय लाग्ने भयो ।’ 

यस सडकको ठेक्का माघमा सकिएपछि कोरोनाका कारण ६ महिना थप गरिएको थियो । सडक निकै साँघुरो र खाल्टाखुल्टी रहेको हुँदा विभिन्न समयमा दर्घटना समेत हुँदै आएको थियो । सडकमा सडक विभागले भत्केको मात्रै सडक टालटुल कालोपत्र गर्दै जाँदा दुर्घटनाको जोखिम बढ्दै गएपछि यस पटक सडक स्तरोन्नतिसहित पूरै सडक कालोपत्र गर्ने गरी कामले तीव्रता पाएको सडक डिभिजन कार्यालय बागलुङका प्रमुख रामेश्वर लम्सालले बताउनुभयो । 

उक्त सडकमा नालीको समेत निकै समस्या छ । तर अहिले सडक डिभिजन कार्यालयले केही भागमा सडक र नाली दुवै र बागलुङ बजार क्षेत्रको रामरेखामा सडक मात्रै स्तरोन्नतीपछि कालोपत्रे गरिरहेको छ । अहिले बाङ्गचौरदेखि धौलागिरी क्याम्पससम्म सडकमा कालोपत्रेको काम भइरहेको छ । सडक निकै जीर्ण रहेका कारण पहिला टालटुल कालोपत्रे गरी मर्मत पश्चात सडक नयाँ कालोपत्रे गरिरहेको छ ।  उक्त सडक २०७६ माघ १३ गते तीन करोड ३७ लाख ७७ हजारमा फेवा/बिएमए जेभीसँग ठेक्का सम्झौता भएको थियो । 

उक्त सडक खण्ड मध्ये दुई किलोमिटर बाङ्गेचौरदेखि उपल्लाचौरसम्मको सडक राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोक मार्गमापर्छ तर पनि अहिले बागलुङ बेनी सडककै नाममा काम भइरहेको छ । मध्यपहाडी लोकमार्गले ठेक्का नलगाउदा सडक मध्यपहाडीको मापदण्ड अनुसारको छैन । सडक डिभिजनले लोक मार्गको मापदण्ड भन्दा सााँघुरै सडकमा कालोपत्रे गरि रहेको छ ।

बागलुङ–बेनी सडक खण्ड अन्तरगत रत्नेचौरमा कालोपत्रे हुँदै । तस्बिर : डम्मर बुढा मगर/हिमालय टाइम्स


Top