फेदीखोला पालिकाले शिक्षालाई राख्यो प्राथमिकतामा : संघीय सरकारलाई सिकायो पाठ

युवराज पौडेल   POSTED ON : असार १६, २०७८ (१२:३५ PM)

फेदीखोला पालिकाले शिक्षालाई राख्यो प्राथमिकतामा : संघीय सरकारलाई सिकायो पाठ

स्याङ्जा । स्याङ्जा जिल्लाको फेदीखोला गाउँपालिकाको आर्थिक वर्ष २०७८–७९ को बजेटमा शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ । पालिकाले कुल बजेटको ४० प्रतिशत बजेट शिक्षामा छुट्याएर सबै स्थानीय निकायलाई शिक्षा हेर्ने दृष्टिकोण बदल्न प्रेरित गरेको छ । सङ्घीय बजेटमा समेत कुल बजेटको ११–१५ प्रतिशत शिक्षामा छुट्याइरहेको सन्दर्भमा फेदीखोलाले सङ्घीय सरकारका नीति निर्माताहरुलाई समेत पाठ सिकाएको छ । 

पहिलेदेखि नै विभिन्न नयाँ कार्यक्रमहरु ल्याएर चर्चामा आइरहने फेदीखोला गाउँपालिकाले बजेटमा प्रविधिमैत्री शिक्षामा विशेष जोड दिएको छ । गाउँपालिकामा अध्ययनरत सम्पूर्ण विद्यार्थीको डिजिटल व्यक्तिगत प्रोफाइल तयार पार्ने काम बजेटले समेटेको छ । माध्यमिक तह वा सोभन्दा माथिल्लो तहका विद्यार्थीलाई सङ्घीय सरकार मार्फत् प्राप्त हुने ८० हजारसम्मको ल्यापटप २ वर्षे कर्जामा १ प्रतिशत ब्याज अनुदानमा सहजीकरण गर्ने योजना गाउँपालिकाले अघि सारेको छ । गण्डकी प्रदेशको नमुना कार्यक्रम गुर्दुममा निर्माणाधीन गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक प्रतिष्ठानको पाठ्यक्रम विकासमा सहजीकरण गर्ने भएको छ । गाउँपालिकाले बजेटमा विद्यालय शिक्षक कर्मचारीको स्वास्थ्य बिमामा ५० प्रतिशत अनुदान दिने भएको छ । 

गाउँपालिकाका सामुदायिक माविमा अनिवार्य गरिएको कम्प्युटर विषयको लागि विद्यालय साझेदारीका आइटि शिक्षकहरुको तलबमा ६० प्रतिशत अनुदानको कार्यक्रमले यस वर्ष पनि निरन्तरता पाएको छ। पालिकाले सम्पूर्ण विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको पारिश्रमिक न्यूनतम रु १५००० पु-याउने सङ्घीय सरकारको व्यवस्थालाई दृढताका साथ लागु गर्ने भएको छ । 

यसै वर्षदेखि स्थानीय भाषा, संस्कृति, भूगोल, पर्यटकीय स्थल लगायतका चिनारीलाई विद्यार्थी माझ परिचित बनाई पालिकाद्वारा निर्माण गरिएको स्थानीय पाठ्यपुस्तक ’हाम्रो फेदीखोला’ को अध्यापन गराइने भएको छ । फेदीखोला गाउँपालिकाका विद्यालयहरुका कक्षा १ देखि ८ सम्मका प्रत्येक कक्षामा १०० पूर्णाङ्कको स्थानीय पाठ्यपुस्तक ’हाम्रो फेदीखोला’ यसै वर्षदेखि पढाइ हुने भएको छ । यसले फेदीखोलाका विद्यार्थीलाई आफ्नो वास्तविक पहिचान दिलाई स्थानीय सम्पदाहरुको महत्व र संरक्षणमा थप सचेत बनाउने छ । 

फेदीखोला गाउँपालिकाले निजी दरबन्दीमा कार्यरत शिक्षकहरुका लागि विगतदेखि नै पोसाक भत्ता उपलब्ध गराउँदै आएको छ । ’एक विद्यालयः एक उद्यम’ कार्यक्रमलाई विशेष जोड दिएको छ । शिक्षक कर्मचारीको तलब मासिक उपलब्ध गराउने कार्यक्रमलाई यस बजेटमा पनि निरन्तरता दिइएको छ। विद्यालयलाई पेपरलेस बनाउन अपनाइएका अनलाइन रिजल्ट प्रकाशनदेखि सफ्टवेयर निर्माणका कार्यक्रमहरुलाई पनि निरन्तरता दिइएको छ। 

गाउँपालिकाका अध्यक्ष घनश्याम सुबेदीले प्रविधिमैत्री विद्यालय बनाउने कुरामा आफूहरु पहिलेदेखि नै लागिरहेको खबर हिमालय टाइम्सलाई बताउनुभयो । उहाँले भन्नुभयो, ’हामीले शिक्षालाई प्रविधिमा जोड्ने उद्देश्यका साथ विभिन्न कार्यक्रमहरु समेटेका छौं । आइटिविनाको शिक्षा अब लङ्गडो हुन्छ ।’ उहाँले भन्नुभयो, ’शिक्षा नै विकास र परिवर्तनको मुख्य आधार भएकाले शिक्षालाई अन्य क्षेत्रजस्तो हेर्न मिल्दैन । त्यसैले हामीले शिक्षामा बढी बजेट छुट्याएका हौं । यसबाट बसाइँसराइलाई रोकेर यहीँ पढ्ने वातावरण बनाउन सकिन्छ भन्ने हाम्रो विश्वास हो ।’


Top