बागलुङमा १२ सय हेक्टर रोपाइँ सकियो

डम्मर बुढा मगर   POSTED ON : असार १६, २०७८ (६:०० PM)

बागलुङमा १२ सय हेक्टर रोपाइँ सकियो

बागलुङ । पहाडी जिल्ला भए पनि बागलुङका अधिकांश क्षेत्रमा धान फल्ने गर्छ । यति बेला बागलुङका कृषिकहरु कोरोना कहरकै बीच खेतमा धान रोप्न निकै बेस्त देखिन्छन् । गत वर्ष यस बेला पानी कम परेको हुँदा कृषिकहरुलाई समस्या भए पनि यस वर्ष समयैमै मनसुन सुरु भएपछि हर्षित भएका छन् ।

बागलुङमा असारको मध्येसम्म २५ प्रतिशत रोपाइँ सकिएको छ । जिल्लाका केही भागमा भर्खर रोपाइँ सुरु भएको छ भने कही स्थानमा अन्तिम चरणमा पुगेको छ । कृषि ज्ञान केन्द्र बागलुङका अनुसार जिल्लामा झण्डै २५ प्रतिशत रोपाइँ सकिएको छ । जिल्लामा कुल ७ हजार ७ सय ७५ हेक्टर जमिनमा धान रोपाइँ हुने गर्दछ ।

हालसम्म करिब १२ सय हेक्टर जमिनमा रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र बागलुङका कार्यालय प्रमुख भानुभक्त भट्टराईले बताउनुभयो । उहाँले यस वर्ष समयमै वर्षा हुदाँ किसानहरुलाई सहज भएको बताउनुभयो । समयमै वर्षा हुँदा छिटो रोपाइँ सुरु भएको प्रमुख भट्टराई बताउनुहुन्छ ।

‘यस वर्ष वर्षा निरन्तर परेको छ, सिमसार क्षेत्र मात्र हैन अन्य क्षेत्रमा पनि रोपाइँ भइरहेको छ, अहिले छिटो रोपाइँ सुरु भयो’ भट्टराईले भन्नुभयो,–‘अघिल्लो वर्षभन्दा यस वर्ष रोपाइँ बढि हुने विश्वास गरेका छौं, पानी नियमित परेमा लगभग सबै क्षेत्रमा राम्रो रोपाइँ हुनेछ ।’

उहाँले किसानहरुलाई सहजका निम्ति प्रविधिको विकाससँगै जोडिन आग्रह गरेको बताउनुहुन्छ । यस वर्ष झण्डै ९५ प्रतिशत क्षेत्रमा धान रोपाइँ हुने ज्ञान केन्द्रले जनाएको छ । मंगलबार असार १५ राष्ट्रिय धान दिवस मनाईएको छ । सबैतिर धान दिवस मनाईरहँदा किसानले भने रोपाइँका लागि खेताला नपाउँदा समस्या भएको बताउने गरेका छन् ।

गाउँमा खेताला नपाउँदा समयमै रोपाइँ गर्न नसकेको बागलुङ नगरपालिका वडा नम्बर ४ का कृषक पूर्णप्रसाद सापकोटाले गुनासो । ‘गाउँमा काम गर्ने कोही छैन, भएका युवाहरु पनि विदेश गए, न खन्ने बाउसे पाईन्छ न खेताली, गोरुको सट्टा त हाते ट्रयाक्टर छ, खेताली र बाउसे पाउनै छाड्यो,’ उहाँले भन्नुभयोे ‘अझ यस वर्ष त झन् यस्तो कोरोनाो महामारी पनि छ, त्यसले गर्दा खेताला पाउन निकै समस्या छ, ज्यान पानि बँचाउनु प¥यो, काम पनि गर्नु प¥यो ।’

गाउँघरमा खेतला नपाउँदा रोपाइँ गर्नका लागि निकै मुस्किल भएको भन्दै युवा शक्ति विदेश पलायन हुँदा खेरी यो समस्या आइपरेको सापकोटा बताउँनुछ । ‘समयमै पानी परेकोले यस वर्ष रोपाई अलि छिटो भयो, पोहोर परार साल अलि ढिला रोपाइँ गथ्र्यौ’ सापकोटाले भन्नुभयो,–‘पहिले त गाउँभरी सबैको एकै पटक भएर होला भन्ने लाग्थ्यो, यसपाली असारको पहिलो साता नै खेत रोपाइँ गर्न खोज्दा पनि खेतला पाउन मुस्किल भयो बल्लतल्ल दुई दिन लाग्ने मेलो ३ दिनमा सकियो अझै केही दिनलाई बाँकी छ, त्यो कसरी रोप्ने हो गाह्रो भैरहेको छ ।’

उहाँले कृषिमा आधुनिकिकरण गर्ने भने पनि हालसम्म त्यही हाते ट्रयाक्टर बाहेक अन्य आधुनिक यन्त्रहरु केही नहुँदा किसानहरुले समयमा खेतीपाती लगाउन नपाएको बताउनुभयो । गाउँमा भएका युवाहरु पनि जिल्ला बाहिर र विदेशीएका कारण काम गर्ने खेताला पाउन छाडेको सापकोटा बताउँनुहुन्छ । बागलुङ नगरपालिका वडा नम्बर ४ कुँडुलेमा मात्र हैन यो समस्या जिल्लाको गलकोट, बडिगाड, जैमिनी, बागलुङ र ढोरपाटन क्षेत्रका किसानहरुलाई पनि रहेको छ ।

गलकोट क्षेत्रमा जेठको तेस्रो सातादेखि नै सुरु गरिएको रोपाइँ अन्य क्षेत्रमा भने खोला किनार तथा तटीय क्षेत्रमा सुरु भएको छ ।  कृषकहरु यतिबेला धान रोप्नमै व्यस्त छन् । यो साल समयमै पानी परेकोले धान रोप्न सहज भएको किसानहरु बताउँछन् । जिल्लाका १० वटै पालिकामा धान रोपाइँ हुन्छ ।

 तस्बिर : डम्मर बुढा मगर/हिमालय टाइम्स


Top