आँधीखोलामा माओवादी केन्द्रका उपाध्यक्ष र सचिवसहित नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

युवराज पौडेल   POSTED ON : असार २१, २०७८ (२:१९ PM)

आँधीखोलामा माओवादी केन्द्रका उपाध्यक्ष र सचिवसहित नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

स्याङ्जा । स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष र सचिवसहित ६ दर्जनभन्दा बढी नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । 

आज आँधीखोला गाउँपालिका वडा नं ५ जुग्लेमा भएको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा नेकपा माओवादी र नेकपा एमाले छाडेर थुप्रै क्रियाशील व्यक्तिहरु नेपाली काङ्ग्रेसमा प्रवेश गरेका हुन् । नेकपा माओवादी आँधीखोला गाउँपालिकाका उपाध्यक्ष कृष्ण पौडेल, सचिव गङ्गा गुरुङ, शिक्षक सङ्गठनका नेता बलबहादुर थापा, मेघराज तिमिल्सिना, नरेन्द्र खड्का लगायतका नेता कार्यकर्ताहरू काङ्ग्रेसमा प्रवेश गरेका छन् । 

सो कार्यक्रममा गण्डकी प्रदेश नेका संसदीय दलका उपनेता मेखलाल श्रेष्ठ, संविधानसभा सदस्य राजु थापा, नेका आमन्त्रित केन्द्रीय सदस्य भूमिबहादुर गुरुङ ‘विश्व’, काङ्ग्रेस जिल्ला कार्यवाहक सभापति कुमार राना, पूर्व सांसद शङ्रप्रसाद पाण्डे, नेपाली काङ्ग्रेस कास्कीकी कोषाध्यक्ष महिला नेतृ लक्ष्मी पाण्डे लगायतका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।  

नवप्रवेशीहरूलाई टीका र खादा लगाएर प्रमुख अतिथि नेपाली काङ्ग्रेसका नेता तथा मुख्य मन्त्री कृष्णचन्द्र नेपालीले स्वागत गरेका थिए । उक्त कार्यक्रममा बोल्दै मुख्यमन्त्री नेपालीले काङ्ग्रेसले इतिहासका प्रत्येक मोडहरूमा राजनीतिको नेतृत्व लिएको बताउँदै लोकतन्त्र, शान्ति र विकासको पक्षमा काङ्ग्रेस अविचलित रहेको बताए । उनले भने, ‘राजनीतिमा धैर्य, साहस र नेतृत्व गुण भएन भने राजनीति अस्थिरताको बाटोमा जान्छ ।’  उनले नेपालको इतिहासमा पहिलोपटक गण्डकी प्रदेशले सरकार बनाउने सौभाग्य पाएको बताउँदै विस्तारै सबै समस्याको समाधान हुने बताए । 

कार्यक्रममा नवप्रवेशीहरूको तर्फबाट नेकपा माओवादी केन्द्र आँधीखोला गाउँपालिका उपाध्यक्ष कृष्ण पौडेलले आफू ४१ वर्षपछि काङ्ग्रेसमा फर्किएको बताए । उनले भने, ‘नेपालमा कम्युनिष्ट नै रहेनछन् । इतिहासका जटिल मोडहरूमा काङ्ग्रेसले नै विचार र राजनीतिको नेतृत्व गरेको रहेछ ।’ त्यस्तै अर्का नवप्रवेशी आँधीखोला गाउँपालिका माओवादी केन्द्रका सचिव गङ्गा गुरुङले आफूहरु समाज परिवर्तनका लागि माओवादीमा लागे पनि कम्युनिष्टहरुमा परिवर्तनको कुनै छाँट नदेखेपछि तुलनात्मक रूपमा काङ्ग्रेस नै ठिक लागेर प्रवेश गरेको बताए । 

सो कार्यक्रमको सभापतित्व नेपाली काङ्ग्रेस आँधीखोलाका सभापति नारायणप्रसाद पौडेलले गरेका थिए भने कार्यक्रमको सञ्चालन काङग्रेस महाधिवेशन प्रतिनिधि प्रेम पौडेलले गरेका थिए ।


Top