पहिरोले बेनी–जोमसोम र बेनी–दरबाङ सडक अबरुद्ध

ध्रुबसागर शर्मा   POSTED ON : असार २३, २०७८ (५:१४ PM)

पहिरोले बेनी–जोमसोम र बेनी–दरबाङ सडक अबरुद्ध

म्याग्दी । अविरल वर्षाका कारण विभिन्न ठाउँमा पहिरो खसेपछि  बेनी–जोमसोम–कोरला सडक र बेनी–दरबाङ सडक बुधबार (आज) बिहानैदेखि अवरुद्ध भएका छन् ।

गए रातीको विषण वर्षाका कारण म्याग्दी र मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम–कोरला सडक खण्डअन्तर्गत विभिन्न चार ठाउँमा पहिरो खसेर सडक बन्द भएको छ । त्यसैगरी पश्चिम म्याग्दीको मङ्गला, मालिका र धवलागिरी गाउँपालिका जोड्ने बेनी–दरबाङ सडक खण्ड पनि पहिरोले अबरुद्ध भएको छ ।

पहिरोले उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिका–३, चमेरे, रघुगङ्गा–१, बेगखोला र अन्नपूर्ण–३, दानामा बेनी–जोमसोम–कोरला सडक खण्डमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । 

सडक माथिबाट खसेको लेदो, ढुङ्गामाटो र गेगरसहितको पहिरोले सडक पुरिएपछि अवरुद्ध  भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले बताउनु भयो ।

उता पश्चिम म्याग्दीका तीन गाउँपालिका र बागलुङ जिल्लाका विभिन्न गाउँ जोड्ने बेनी–दरबाङ सडक अवरुद्ध हुँदा यातायात ठप्प भएको छ । सडकभन्दा माथिबाट खसेको पहिरोले बेनी नगरपालिका–४, घुमाउनेभीर तथा मालिका–६, दरबाङको बाङ्गे पहिरो भन्ने ठाउँमा सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । सडक खुलाउने प्रयास भैरहे पनि सडकमा लेदो बगिरहेकाले समस्या भएको प्रहरीले जनाएको छ ।

स्मरणीय छ गएराति म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनको छिस्बाङ खहरे खोलामा आएको बाढीले घर बगाउँदा दुई जनाको ज्यान गएको छ ।


Top