पुतलीबजारमा स्वास्थ्य केन्द्रलाई पोखरेलद्वयद्वारा जग्गा हस्तान्तरण

युवराज पौडेल   POSTED ON : असार २४, २०७८ (२:३३ PM)

पुतलीबजारमा स्वास्थ्य केन्द्रलाई पोखरेलद्वयद्वारा जग्गा हस्तान्तरण

स्याङ्जा । पुतलीबजार नगरपालिकाको माताहतमा रहने गरी पुतलीबजार नगरपालिका–४, नागडाँडाँमा बन्न लागेको आधारभुत स्वास्थ्य केन्द्रका लागि निशुल्क जग्गा प्राप्त भएको छ । सोही स्थानका सेतीदेवी पोखरेल र चुडामणी पोखरेलले पुतलीबजार नगरपालिका प्रमुख सिमाकुमारी क्षेत्रीलाई जग्गाधनी प्रमाण पुर्जा हस्तान्तरण गरी जग्गा उपलब्ध गराउनु भएको हो ।

जग्गाधनी प्रमाण पुर्जा ग्रहण गर्दै नगरप्रमुख क्षेत्रीले जग्गा उपलब्ध गराएकोमा द्वय पोखरेललाई धन्यबाद व्यक्त गर्नुभयो नगर प्रमुख क्षेत्रीले प्राप्त जग्गामा भवन निर्माण गरी स्थानीयहरूलाई आवश्यक पर्ने स्वास्थ्य सेवा उपलब्ध गराइने बताउनु भयो । सोही अवसरमा जग्गा दाताद्वय पोखरेललाई क्षेत्रीले खादा लगाई सम्मान गर्नुभएको थियो ।

आधारभुत स्वास्थ्य केन्द्रका लागि निशुल्क रूपमा स्थानीय चुडामणी पोखरेलले १० आना ३ दाम र सेतीदेवी पोखरेलले २ आना ३ दाम जग्गा उपलब्ध गराउनु भएको हो । उहाँहरूले मालपोत कार्यालयबाट आधारभुत स्वास्थ्य केन्द्रका नाममा पास गरी उक्त जग्गा उपलब्ध गराएको पुतलीबजार नगरपालिका–४ का वडाध्यक्ष ओमबहादुर खड्काले जानकारी दिनुभयो । 

जग्गा हस्तान्तरण कार्यक्रममा उपप्रमुख महेश पुरी, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्मा, ओजना अधिकृत ताराचन्द्र ढकाल, वडाध्यक्ष ओमबहादुर खड्का र सुर्याेदय क्लबका अध्यक्ष तथा समाजसेवी अनन्त कुमार श्रेष्ठ लगायतले मन्तव्य राख्नुभएको थियो ।

 कार्यक्रममा जग्गा दाता पोखरेलहरूले जग्गाको सही सदुपयोग गर्न अनुरोध गरेको पालिकाका प्रेस संयोजक रोशन लामिछानेले जानकारी दिनुभयो ।



Top