अभिभावक विहिन बालबालिकालाई स्मार्ट फोन

ध्रुबसागर शर्मा   POSTED ON : असार २७, २०७८ (९:४९ AM)

अभिभावक विहिन बालबालिकालाई  स्मार्ट फोन

म्याग्दी । अभिभावकविहिन बालबालिकाको अनलाइन कक्षा प्रभावकारी बनाउन स्मार्ट फोन सहयोग गरिएको छ । नेपाल बाल संगठन म्याग्दीद्धारा सञ्चालित बालगृहमा रहेका बालबालिकालाई अनलाइन कक्षाका लागि स्मार्ट फोन हस्तान्तरण गरिएको हो ।

कोरानाको दोस्रो लहरसँगै भौतिक रुपमा विद्यालयमै उपस्थित भएर पढ्न नपाएका बालबालिकाको अनलाइन कक्षा प्रभावकारी बनाउन स्वदेश तथा विदेशमा रहेका म्याग्देलीले स्मार्ट फोन उपलब्ध गराएपछि कक्षा सञ्चालनमा सहज भएको छ ।

शनिबार आयोजित कार्यक्रममा बेनी नगरपालिका–७ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बालबालिकालाई सहयोग हस्तान्तरण गर्नुभएको थियो । विभिन्न क्रियाकलापमार्फत कक्षा अनुसारको सिकाइ गरी व्यस्त रहेका बालबालिकाको अनलाइन कक्षालाई थप ब्यवस्थित बनाउन सहयोगले सहज हुने वडा अध्यक्ष श्रेष्ठको भनाइ छ ।

सबै विद्यार्थीलाई तत्काल ल्यापटप र कम्प्युटरको ब्यवस्थापन गर्न कठिनाइ भएपछि स्मार्ट फोनबाटै कक्षा सञ्चालनको वातावरण बनाइएको नेपाल बाल संगठन म्याग्दीका अध्यक्ष राजेश शाक्यले बताउनु भयो । ‘अनलाइन कक्षाको अवधिसम्म मात्रै विद्यार्थीको हातमा मोबाइल हुन्छ, अन्य समयमा मोबाईल प्रयोग गर्न दिदैंनौ, यो सहयोगले बालबालिकालाई पठनपाठनमा सहज हुन्छ’ अध्यक्ष शाक्यले भन्नुभयो । प्रतिसेट १५ हजार ५ सय मुल्य बराबरको स्मार्ट फोन खरिद गरिएको छ ।

बालगृहमा रहेका सबै १२ जना बालबालिकालाई स्मार्ट फोन सहयोग स्वरुप प्राप्त भइसकेको छ । बालगृहमा गुणस्तरीय इन्टरनेटको सुविधा रहेको छ । स्मार्ट फोनको सुविधाले विद्यार्थीहरू समेत उत्साहित भएका छन् । बालगृहमा रहेका बालबालिकालाई शैक्षिक क्षमता बढाउने अभ्यासका लागि थप योजना समेत बनाइएको छ ।

बालगृहमा अध्ययनरत बालबालिकालाई अनलाइन कक्षाबाहेक अतिरिक्त क्रियाकलापका लागि कार्ययोजना बनाइएको सचिव सन्दिप खत्रीले बताउनु भयो । अनलाइन कक्षामार्फत पठनपाठनका लागि बिहान, दिउँसो र बेलुकी कार्यतालिका लागु गरिएको छ ।


Top