झोलुङ्गे पुल बनेपछि दुई गाउँमा खुसियाली : डेढ घण्टाको बाटो दश मिनेटमा छोटियो

ध्रुबसागर शर्मा   POSTED ON : असार २७, २०७८ (१२:१० PM)

झोलुङ्गे पुल बनेपछि दुई गाउँमा खुसियाली : डेढ घण्टाको बाटो दश मिनेटमा छोटियो

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाको वडा न ६ पाखापानीका दुई गाउँलाई जोड्ने पुल बनेपछि गाउँका वासिन्दा खुशी भएका छन् । 

दुई गाउँ पाखापानी र कोटगाउँ जोड्नका लागि जिल्लाकै दोस्रो लामो झोलुङ्गे पुल निर्माण गरिएको हो । पुल नुहुँदा कोटगाउँका सर्वसाधारणहरु पाखापानी आउन एकघण्टा भन्दा धेरै पैदल हिड्नुपर्ने बाध्यता थियो । अहिले पुल भनेपछि एक घण्टा भन्दा बढी बाटो १५ मिनेटमा छोटिएको छ ।

पूर्वाधार विकास कार्यालय म्याग्दीले पाखापानी स्थित घोप्टेखोलामा कोटगाउँलाई जोड्ने गरी २ सय ६५ मिटर लामो पुल निर्माण गरेको हो । पुल निर्माणका लागि हिमशिखर ्जयलक्ष्मी जेभि बागलुङसँग भ्याट रकम बाहेक दुई करोड दुईलाख रुपियाँमा २०७६ चैतमा ठेक्का सम्झौता भएको थियो । 

झोलुङ्गे पुल निर्माण भएसँगै दुई गाउँका स्थानीयलाई सहज भएको वडाअध्यक्ष मनकुमार शेरपुञ्जाले बताउनु भयो । पुल नहुँदा खोलानाला, भिरपहराबाट यात्रा गरेका सर्वसाधरणहरु पुल बनेसँगै आवतजावतमा सहज भएको उहाँको भनाइ छ ।

पाखापानी गाउँमा रहेका विद्यालय,वडा कार्यालय र स्वास्थ्य चौकीमा सेवा लिन कोटगाउँ र रायखोरवासीहरुलाई पुल बनेपछि सहज भएको कोटगाउँका गमबहादुर घर्तीको भनाइ छ । ‘हामीलाई पहिला निकै असहज र बर्खाको समयमा निकै गाह्रो हुने गरेको थियो, अहिले यो पुलले निकै सजिलो भएको छ ।’ घिमिरेले भन्नुभयो । हामीलाई सबै काम गर्न पाखापानी आउनुर्पछ, बालबालिकालाई विद्यालय आउन पनि सहज भएको उहाँको भनाइ छ ।

कोरोना महामारीका समयमा पनि निर्माण व्यवसायीले स्वास्थ्य मापदण्ड पालाना गरेर निर्माण कार्यलाई निरन्तरता दिएका कारण एकमहिना अगावै पुल निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख नवराज पौडेलले बताउनु भयो । निर्माण व्यवसायी र स्थानीयवासीको सक्रियताका कारण पुल सम्झौता अवधि अगावै सम्पन्न गर्न सहज वातावरण बनेको उहाँको भनाइ छ । यसैगरी म्याग्दीमा यसवर्ष अन्य तीन स्थानमा पनि झोलुङ्गे पुल निर्माण भएको कार्यालयले जनाएको छ । कार्यालयका इन्जिनियर केशब श्रेष्ठका अनुसार मंगला गाउँपालिकाको सिमलचौरदेखि लुलियाघाट जोड्ने गरी म्याग्दी नदीमाथि,अर्मनको खोलाखर्क र रघुगंगाको चिमखोलामा झोलुङ्गे पुल निर्माण भएका छन् ।

आगामी आर्थिक वर्षका लागि ८ वटा झोलुङ्गे पुल निर्माणको चरणमा रहेको इन्जिनियर श्रेष्ठले जानकारी दिए । पुल निर्माण भएपछि करिब २० हजार भन्दा बढी जनसंख्या लाभान्वित हुने कार्यालयले जनाएको छ । यो पाखापानी कोटगाउँ जोड्ने पुल पर्यटनका हिसाबले पनि महत्वपूर्ण बन्ने देखिएको छ । लामो दुरिको पुल अवलोकन गर्न पर्यटक आउने सम्भावना छ । यसअघि रघुगंगा गाउँपालिकाको वडा न. १ बेग र बादुक जोड्ने ३६५ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको थियो ।


Top