चुँदी रम्घालाई भाषा र साहित्यको अनुसन्धान केन्द्र बनाइने-मुख्यमन्त्री पोखरेल

युवराज पौडेल   POSTED ON : असार २९, २०७८ (४:१२ PM)

चुँदी रम्घालाई भाषा र साहित्यको अनुसन्धान केन्द्र बनाइने-मुख्यमन्त्री  पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली भाषामाथि विदेशी भाषाको अतिक्रमण बढिरहको बेला भानुभक्तको योगदान स्मरण गरेर नेपाली भाषालाई सशक्त बनाउनु पर्ने बेला आएको बताउनु भएको छ । 

भानुभक्तको २ सय आठौं जन्मजयन्तीका अवसरमा मंगलबार शुभकामना वक्तव्य जारी गर्दै मुख्यमन्त्री पोखरेलले भन्नुभयो, ‘भाषा निरन्तर रुपमा परिमार्जन र परिष्कृत हुँदै जाने विषय हो । भानुभक्तले लगाएको बलियो जगमा टेकेर नेपाली भाषाको श्रीवृद्धिमा लाग्न यस पावन अवसरमा म सम्पूर्ण विद्धानहरुलाई अनुरोध गर्दछु ।’ उहाँले भानुले थालेका थालेको भाषिक विकासको आन्दोलनलाई थप उचाइमा पु¥याउन उहाँले आग्रह गर्नुभयो ।

उहाँले युगपुरुष भानुभक्त जन्मेको स्थल पुण्य भूमि हो भन्दै भन्नुभयो, ‘साहित्यकारहरुका लागि यो तीर्थस्थल हो । भानुभक्तको जन्मस्थललाई नेपाली भाषा, साहित्य र संस्कृति विकासको केन्द्रको रुपमा स्थापित गर्नु आवश्यक छ ।’ पुण्य भूमिको समृद्धिको लागि र चुँदी रम्घालाई नेपाली भाषाको विकासको अध्ययन अनुसन्धान गर्ने केन्द्रको रुपमा विकास गर्न उहाँले प्रदेश सरकार सरोकारवाला सबैसँग मिलेर काम गर्न प्रतिवद्ध रहेको जनाउनु भयो । 

पृथ्वीनारायण शाहले भौगोलिक रुपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेको गौरवपूर्ण सन्दर्भलाई उनले स्मरण गरेका छन् । रामायण जस्तो चर्चित र लोकप्रिय ग्रन्थलाई नेपालीमा अनुवाद गरी जनजनमा पु¥याएर नेपाली भाषाको श्रीवृद्धि मात्र होइन राष्ट्रिय एकता प्रवर्धनमा भानुले गरेको योगदान नेपाल र नेपालीको मानसपटलमा युग युगसम्म रहने मुख्यमन्त्रीको शुभकामना सन्देशमा उल्लेख छ ।

वि.सं. १८७१ असार २९ गते तनहुँको भानु नगरपालिकास्थित चुँदी रम्घामा जन्मिएका भानुभक्तको नाम नेपालमा मात्र होइन विश्वभर प्रख्यात छ । भानु जयन्तीको दिन देशभित्र तथा देशबाहिर पनि विविध कार्यक्रम हुँदै आएका छन् ।

भानुले रामायणलाई नेपाली भाषामा रचना गर्नुका अतिरिक्त प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षा लगायतका प्रसिद्ध कृतिहरुमार्फत् नेपाली भाषा र साहित्यलाई अतुलनीय योगदान दिएका छन् । 

रामायणको छन्द र भावलाई कत्ति पनि तलमाथि नपारी नेपाली जनजिब्रोमा झुण्डिने सरल भाषामा अनुवाद गरेकै कारण भानुभक्त नेपाली भाषीमा प्रिय बनेका हुन् । विभिन्न कृतिको रचना गरेता पनि सबै भन्दा रुचाइएको कृति रामायण भएकाले उनको पहिचान रामायणसँगै जोडिएको छ । 

भानुभक्तलाई कवि भानुभक्तका रुपमा चिनाउने श्रेय भने मोतिराम भट्टलाई जान्छ । भानुभक्तका पाण्डुलिपीलाई सङ्ग्रह गरी पुस्तक प्रकाशन गर्ने उनै मोतिराम भट्टले भानुभक्तलाई नेपाली भाषाको आदिकविको उपाधि दिएर चिनाएका हुन् । त्यसैले नेपाली भाषा र साहित्यका पुराना कवि भानुभक्तलाई सम्मान गर्दै गर्दा मोतीरामलाई पनि बिर्सनु हुँदैन । 



Top