गण्डकीमा विपक्षीको अवरोध बीच बजेट पारित

हिमालय टाइम्स   POSTED ON : असार ३०, २०७८ (६:४२ PM)

गण्डकीमा विपक्षीको अवरोध बीच बजेट पारित

काठमाडौं । प्रमुख प्रतिपक्षी एमालेको विरोधका बाबजुत गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷७९ को बजेट बहुमतले पारित भएको छ । प्रमुख प्रतिपक्ष नेपाल कम्युनिस्ट पार्टी (एमाले)को अवरोधबिच बुधबारको बसेको प्रदेशसभा बैठकले बजेट पारित गरेको हो । त्यसक्रममा एमाले सांसदहरुले टेबल उठाएर फालेका थिए । बिहान ११ बजे बैठक सुरु भएपछि मुख्यमन्त्रीको जवाफ माग्दै एमालेले अवरोध ग¥यो । साँझ ४ बजे पुनः बसेको बैठकमा फेरि एमालेले संसद अवरुद्ध गरे पनि  सभामुख नेत्रनाथ अधिकारीले बैठक अगाडि बढाउनुभयो । एमाले सांसदहरुले नाराबाजी गर्दै रोष्टम घेराउ गर्न थालेपछि मर्यादा पालकहरुले रोकेका थिए । त्यसक्रममा एमालेका केही सांसदले बैठक हलको टेबल उचालेर फालेका थिए ।

 नाराबाजी हुँदा समेत सदनमा विनियोजन विधेयक पेश भएपछि एमाले सांसदहरू बाहिरिएका थिए र एमाले नेतृत्वको सरकारले ल्याएका योजना र कार्यक्रम काटिएको भन्दै एमाले संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारीले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई १० बुँदे ध्यानाकर्षण पत्र बुझाउनुभएको थियो । ध्यानाकर्षण पत्रमा उल्लेखित बुँदामा वैधानिक सम्बोधन नहुँदासम्म प्रदेश सभा सञ्चालन गर्न नदिने उल्लेख थियो ।

एमालेले सदन अवरोध गरेपछि विनियोजन विधेयक पेश गर्न मार्सल लगाएको थियो । यसरी प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूको उपस्थितिबिना नै प्रदेशसभाले आगामी वर्षको बजेट पारित गरेको छ । मुख्यमन्त्री तथा अर्थमन्त्री पोखरेलले विनियोजन विधेयक सदनमा पेश गरेपछि सभामुख नेत्रनाथ अधिकारीले सत्तारूढ सांसदहरू दोबाटे विश्वकर्मा, आशा कोइराला र चन्द्रबहादुर बुढालाई विनियोजन विधेयकमाथि छलफल गर्न बोलाउनुभएको थियो । प्रतिपक्षीविहीन सदनमा सत्तारूढ सांसदले छलफलमा भाग लिन नचाहेपछि सभामुख अधिकारीले छलफल समाप्त भएको घोषणा गर्नुभएको थियो ।

मुख्यमन्त्री तथा अर्थमन्त्री पोखरेलले असार १ गते सदनमा पेश गरेको बजेट छलफल नै नगरी पारित भएको हो ।  बजेट पारित भएपछि सभामुख अधिकारीले सदनको आगामी बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गर्नुभएको छ ।


Top